जाजरकोट वाणिज्य संघको चुनाव सर्‍यो

जाजरकोट, ६ भदौ । जाजरकोट उद्योग वाणिज्य संघको छैठौँ साधारणसभा विधानका विषयमा विवाद उत्पन्न भएपछि एक वर्षका लागि सरेको छ । संघको विधान विगत १० वर्षदेखि संशोधन नभएको र विधानमा श्री ५ को सरकार नै उल्लेख भएकाले विवाद उत्पन्न भएको हो ।

वर्तमान कार्यसमिति अध्यक्ष कमान खड्का राष्ट्रिय प्रजातन्त्र पार्टीसम्बद्ध भएकाले हालसम्म विधान संशोधन नगरेको व्यापारीहरूको आरोप छ । व्यापारीको यो भनाइमा केही दलको समर्थन थपिएपछि विवादले चर्काे रूप लिएको थियो । व्यापारीको यस अडानमा नेकपा एमाले, नेपाली कांग्रेस, नवगठित नेकपा–माओवादीलगाएतका दलले समर्थन गरेका छन् ।
संघको वर्तमान कार्य समितिले अवैधरूपमा मतदाता बनाएको, विधान संशोधन गर्न नमानेको भन्दै असन्तुष्ट व्यापारीको विरोधस्वरूप समितिको माइन्युट र निर्वाचन फायल खोसेर कब्जामा लिएका छन् । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेका अवस्थामा संघको विधानमा अझै पनि ‘श्री पाँच’ नै लेखिएकाले यसलाई सच्याउन पटकपटक आग्रह गरे पनि वर्तमान अध्यक्षले नमानेको एक व्यापरीले बताए ।
विधानमा श्री ५ लेखिएको र वर्तमान अध्यक्ष खड्काको व्यवहार पनि उस्तै देखिएपछि व्यापरीको चित्त नबुझेको सत्कार इलेक्ट्रोनिक तथा इलेक्ट्रिकलका सञ्चालक वसन्त शर्माले बताए । व्यापारीहरूको विवाद झन्डै हात–हालाहालको स्थितिमा पुगेपछि अप्रिय घटना हुन नदिन जिल्लास्थित व्यापारीक नेता र प्रमुख दलका नेताबीच पाँच घन्टा लामो छलफल चलेको थियो ।
छलफलले एक वर्षपछि नयाँ समिति चयनका लागि निर्वाचन गर्ने सहमति गरेको नेकपा एमाले जाजरकोटका अध्यक्ष डम्बरबहादुर सिंहले जानकारी दिए । सर्वदलीय बैठको निर्णयअनुसार संघको साधारणसभाले विधान संशोधन गरी एक वर्षपछि चुनाव गर्ने निर्णय गरेको संघका अध्यक्ष कमानबहादुर खड्काले बताए ।
यता निर्माण व्यवसायी संघ जाजरकोटका सचिव रणबहादुर कार्कीले यो विवाद व्यापारीको नभई पार्टीहरूको भएको बताए  । ‘व्यापारीको कुरामा दलीय नेतृत्व हत्याउन खोज्दा यस्तो भएको हो,’ कार्कीले भने । पार्टीहरूकै स्वार्थ र विवादका कारण साधारणसभाले नयाँ कार्य समिति गठन गर्न नसकेको कार्कीको दाबी छ ।
संघको बुधबार हुने भनिएको चुनावका लागि वर्तमान कार्यसमिति अध्यक्ष कमानबहादुर खड्काले निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेपछि करिब दुई सय मतदाता बनाएको भन्दै साधारणसभामा व्यापारीले विरोध गरेका थिए । तर, राप्रपा, एमाओवादी पक्षले भने कार्यसमितिको निर्णयबाट नै सबै काम भएकाले यसमा विवाद गर्नुको कुनै तुक नरहेको बताएको छ ।

प्रतिक्रिया