काठमाडौंमा विशेष सुरक्षा

काठमाडौं, ६ भदौ । राजधानीको शान्तिसुरक्षालाई सुदृढ बनाउन भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले ‘विशेष सुरक्षा परिचालन’ सुरु गरेको छ । मंगलबार साँझ ५ बजेबाट सुरु गरिएको सुरक्षा योजना एक महिनासम्म चल्नेछ ।

मंगलबार महानगरीय प्रहरी परिसरमा आयोजित पत्रकार सम्मेलनमा परिसर प्रमुख एसएसपी जयबहादुर चन्दले काठमाडौं जिल्लालाई ५ वटा विशेष क्षेत्रमा विभाजन गरेर सुरक्षा योजना सुरु गरिएको बताए । उनले भने, ‘पूर्व, पश्चिम, उत्तर, दक्षिण र कोर क्षेत्र गरी ५ क्षेत्रमा विभाजन गरिएको छ ।’ उनका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौं र परिसरको संयुक्त प्रयास सुरु गरिएको सुरक्षा योजना ‘सर्ट टर्म’ र ‘लङ टर्म’ गरी दुई भागमा बाँडिएको छ । महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी वृत्त बानेश्वरअन्तर्गतका क्षेत्रलाई ‘इस्ट सेक्टर’ भनी तोकिएको छ । प्रहरी वृत्त महाराजगन्ज मातहतका सबै क्षेत्र ‘नर्थ सेक्टर’ अन्तर्गत पर्छन् । प्रहरी वृत्त बलाजुका सबै क्षेत्र ‘वेस्ट सेक्टर’ मा परेका छन् । ‘साउथ सेक्टर’ मा कालिमाटी वृत्तका सबै क्षेत्र परेका छन् । ‘कोर एरिया’ अन्तर्गत भने प्रहरी प्रभाग रहेका स्थानहरू पर्छन् ।
तोकिएका क्षेत्रमा प्रहरीले ‘कर्डन एन्ड सर्च’, ‘एम्बुसिङ’, ‘एरेस्टिङ’ लगायत कार्य गर्ने परिसर प्रमुख एसएसपी चन्दले जानकारी दिए । गुन्डागर्दी नियन्त्रण, हातहतियार नियन्त्रण, चोरी, डकैती, लुटपाट, लागुऔषध नियन्त्रण, तासजुवा नियन्त्रण, देहव्यापारलगायत विभिन्न सामाजिक अपराध नियन्त्रण गर्नु योजनाको प्रमुख उद्देश्य रहेको उनले बताए । उनले भने, ‘यस योजनाअन्तर्गत प्रहरीले अपराध र भ्रष्टाचारमा शून्य सहनशीलतामा रहेर काम गर्छ ।’
यस अवधिमा प्रहरीले बस्ती भेटभाट गर्ने, बस्तीमा सुरक्षा समूह बनाउने, अन्तक्र्रिया गर्ने, सचेतनामूलक कार्यक्रम गर्ने र सबैको अभिलेखीकरणसमेत गरिने योजनामा राखिएको छ । यसका लागि मात्रै डिएसपी छ, प्रहरी निरीक्षक ४६, जुनियर प्रहरी अधिकृत तीन सय ८५, प्रहरी जवान तथा हवल्दार दुई हजार २४ गरी २४ सय ६० प्रहरी परिचालन गरिनेछ । काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख चूडामणि शर्माले विशेष सुरक्षा योजना सफल बनाउन उपत्यकाका ललितपुर र भक्तपुरसँग समेत समन्वय गरिने बताए । ‘सरकारले हालै पारितको गरेको शान्तिसुरक्षा योजनाअन्तर्गत यो योजना लागू गरिएको हो,’ उनले भने ।

प्रतिक्रिया