मध्यमाञ्चलस्तरीय कराते प्रतियोगिता

काभ्रे : सितेरियो कराते धुलिखेल शाखाको आयोजनामा आइतबारदेखि दुईदिने मध्यमाञ्चलस्तरीय फ्रेन्डसिप कराते प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे । प्रतियोगितामा २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६५, ७० केजी समूहका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सिन्धुपाल्चोक, सिन्धुली, काठमाडौं, काभ्रे, कास्कीलगायत सात जिल्लाका एक सय ५० खेलाडीको सहभागिता छ ।
खेलाडीहरूबीचको सम्बन्ध अझ सुमधुर र थप परिष्कृत बनाउन मध्यमाञ्चलस्तरीय प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् । कुमुते प्रतिस्पर्धालगत्तै काँता प्रदर्शन गरिने आयोजकले बताए । प्रतियोगितामा काभ्रेका मात्रै १६ टिमको सहभागिता छ । धुलिखेलमा भएको उद्घाटन कार्यक्रममा डोजोका धुलिखेल शाखा प्रमुख रामबहादुर गौतम, नेपाली कांग्रेसका सभापति शिव हुमागाईं, नेकपा (एमाले)का उपाध्यक्ष रामहरि सुवेदी, खेलाडी सन्तोष गुरुङ, रेफ्री दीपक श्रेष्ठलगायतले खेलको माध्यमबाट राष्ट्रलाई परिवर्तन गराउन सकिने बताएका थिए । (सौस)

प्रतिक्रिया