साता दिनमै उप्कियो कालोपत्र

बाग्लुङ, ४ भदौ । बाग्लुङ–म्याग्दी सडक खण्डको सडकमा कालोपत्रे गरिएको एक साता नबित्दै भत्किएको छ । साउनको मध्यदेखि गरिएको कालोपत्रेमा लापरबाही भएको भन्दै स्थानीयले छानबिनको माग गरेका छन् ।

सडक बजेट सक्नका लागि मात्र वर्षायाममा ठेकेदार र कर्मचारीको मिलेमतोमा न्यून गुणस्तरको सामग्री प्रयोग गरेका कारण कालोपत्रे बनाउनसाथ उप्किन थालेको स्थानीयको गुनासो छ ।
सडक डिभिजन कार्यालय पोखरामार्फत गौरीशंकर जेभी शिवओम निर्माण सेवा पोखराले ३८ लाख रुपियाँमा गरेको कालोपत्रे साता दिन नबित्दै उप्किएर सडकमा खाल्डा पर्न थालेका छन् । वर्षा भइरहेका बेला कालोपत्रे गरेका कारण गाडी गुड्नासाथ उप्किने गरेको स्थानीय दयाराम उपाध्यायले बताए । सडक खण्डअन्तर्गत यो वर्ष एक हजार एक सय १५ मिटर सडक कालोपत्रे गरे पनि ‘सरकारी लगानी बालुवामा पानी’जस्तै भएको विवेक आचार्यले बताए । सडक निर्माण सही ढंगले भए/नभएको अनुगमन नगरी ठेकेदार कम्पनीलाई पूरै रकम भुक्तानी गरिसकेका कारण पनि काम राम्रो नभएको स्थानीयको आरोप छ ।
सडक डिभिजन कार्यालयका सब इन्जिनियर सागर देशारले सडक कालोपत्रे गरेको एक वर्षभित्र भत्केमा ठेकेदारले पुन: कालोपत्रे गरिदिने सम्झौता भएको बताए । यस्तै कालोपत्रेको काम पाएको निर्माण कम्पनीका ठेकेदार भोजराज नेपालीले २० असारमा मात्र रकम निकासा भएकाले हतारमा काम गर्दा कमजोरी भएको स्विकारे । उनले उप्किएको कालोपत्रे बनाइने बताए ।

प्रतिक्रिया