शुभम्को बानी

‘नाइँ, म त यस्तो खाजा खान्नँ,’ स्कुलबाट आएपछि झोला फ्यात्त फाल्यो शुभम्ले अनि खाजातिर हेर्दै भन्यो ।
‘कस्तो खान्छौ त बाबु ?’ मम्मीले सोध्नुभयो ।
‘मलाई चाउचाउ, चिजबल अनि कुरकुरे चाहिन्छ,’ उसले आफ्नो खुट्टाका मोजा पनि खोल्न भ्याएको थिएन ।
‘बर्ता कुरा नगर, कचौराको चना छिटोछिटो खाएर होमवर्क गर्न थाल,’ मम्मीले गनगन गरिरहेको शुभम्लाई भन्नुभयो ।
‘नाइँ म यस्तो खान्न,’ शुभम् जिद्दी गर्न थाल्यो ।
‘ओहो † म त हैरान भैसके कसरी सम्झाऊँ तिमीलाई ? खाजा खाने बेला जहिल्यै जिद्दी नगरी खान सकिँदैन है ?’
‘भो पर्दैन मामु, खाए खान्छ नखाए खान्न त्यसैको इच्छा । तपाईं आफ्नो काम गर्न थाल्नुहोस् न । किन कराइरहनुपर्‍यो,’ खाजा खाँदै होमवर्क गर्न बसेकी शुभेच्छाले मम्मीलाई कर नगर्न आग्रह गरी ।
‘नकराएर के गर्नु । देख्दिनस् तेरो भाइको जिद्दी,’ मम्मीले आफू कराउनुको कारण खुलाउँदै भन्नुभयो ।
‘शुभम् तिमीले घरमा जे छ त्यो खाँदा हुँदैन ? तिमीलाई बजारका काम नलाग्ने चिज किन खानुुपर्‍यो ?बाटोमा पनि पानीपुरी किन्न करकर गरिरा’थ्यौ । तिमी त कक्षाको ज्ञानी विद्यार्थी पो हौ त । ल, अब छिटो खाजा खाएर होमवर्क गर्न बस,’ भाइलाई फकाउने हेतुले शुभेच्छाले भनी ।
‘तर मलाई त यो चना मनै पर्दैन । चाउचाउ कि बिस्कुट चाहिन्छ,’ शुभम्ले फेरि उही कुरा निकाल्यो ।
‘बाबु कुनै पनि खानेकुरा आफैँमा मीठो नमीठो भन्ने हुँदैन । मीठा मनले खाए जे पनि मीठो हुन्छ ,’ मम्मीले उसलाई सम्झाउने हिसाबमा भन्नुभयो ।
‘मलाई त घरको खानेकुरा केही पनि मन पर्दैन । म यो चना एक खान्नँ, दुई खान्न, तीन खान्न,’ शुभम्ले जति गर्दा पनि जिद्दी छाडेन् ।
‘शुभम् सुन त अहिले बजारका खाजेकुरामा खान नहुुने कुरा पनि मिसाइएको हुन्छ । बजारका जे पायो त्यही खानाले फाइदा गर्दैन । उल्टो गलाउँछ । साना केटाकेटीले त त्यस्ता खानै हुँदैन । फेरि हामीसँग त्यस्ता खानेकुरा खाने पैसा नि छैन नि । मामुको अफिसमा कामै छैन । बाबाको तलब पनि त्यत्ति धेरै छैन । हामी मुस्किलले बसेका छौँ यो सहरमा,’ आफ्नो भाइलाई बजारको खानेकुराले नकारात्मक असर गर्छ भन्दै सझाउँदै थिई शुभेच्छा । उसले भाइलाई पारिवारिक स्थितिबारे पनि सँगसँगै जानकारी गराई ।
‘दिदी त्यस्ता खानेकुराले बेफाइदा गर्नै भए किन बेच्न राखेका त, पसलमा,’ शुभम्ले आफूले नजानेको कुरा बुझ्न खोज्यो । दिदीले यति भन्दासम्म शुभम्ले अलिकति विचार गर्दै थियो ।
‘अरे, तिमी पनि, त्यो त उनीहरूको व्यापार काइदा हो नि † उनीहरूलाई पनि त सहरमा जिउन मुस्किल छ नि ।’
‘तर दिदी मुश्किल पर्‍यो भन्दैमा खानै नहुने चिज बेच्ने हो त ?’
‘हो त्यस्तो गर्न नहुने हो । यस्ता कुरा तिमीले अलिक ठूलो भएपछि आफैँ बुझ्छौ,’ नाङ्लोमा चामल केलाउँदै गर्नुभएकी मम्मीले शुभम्लाई भन्नुभयो ।
‘अब त बुझ्यौ होला नि शुभम् बजारका खानेकुराले तिमी–हामीजस्ता साना बालबालिकाको मानसिक र शारीरिक विकासमा बाधा पुर्‍याउँछन् । मुखलाई मात्र मीठा हुने त्यस्ता खानेकुरा खानुभन्दा घरमै बनाएको खाए फाइदा हुन्छ । ताजा र सफा पनि हुन्छ । खानेकुरा मीठो स्वादले होइन मनले हुन्छ । खानेकुरा खाँदा सधैँ पौष्टिकतामा ध्यान दिनुपर्छ,’ शुभेच्छाले आफूले जानेका कुरा सरसर्ती सुनाई ।
छोरी तैँले यी सबै कुरा कसरी थाहा पाइस् । मम्मीले शुभेच्छाका कुरा सुनेर सोध्नुभयो ।
‘कसरी हुन्थ्यो नि शारीरिक स्वास्थ्य पढाउने इन्दिरा मिसले भनेर नि ।’
‘मेरी छोरी त बुज्जकी भइछ । तर यो छोरो भने खै के भन्ने ?’ सिलौटामा मसला पिनिरहनुभएकी मम्मीले भन्नुभयो ।
‘छोरी मात्र होइन, छोरो पनि भन्नुहोस् न मामु । अब आइन्दा म त्यस्ता खानेकुरा खान्न । बरु यो चना अझै छ भने दिनुहोस् है,’ अघिसम्म झगडा गर्दै रहेको शुभम्को बुद्घिको घैँटामा घाम लागेछ कि उसले कचौराको सबै चना सिध्यायो ।
‘अरू त के हुन्थ्यो, सबै दिदीले खाई । अरू भोलि बनाइदिउँला नि । अब केहीबेरमा खाना नै खाने हो क्यारे,’ मम्मीले चना सिद्घिएको कुरा गर्नुभयो ।
‘भयो, भयो आज यत्तिले नै अघाएँ । बरु भोलि स्कुलको खाजाचाहिँ गाँजरको हलुवा बनाइदिनु है । मलाई कत्ति मीठो लाग्छ,’ शुभम्ले जिद्दी छोड्न थालिसकेको थियो । उसले भन्यो, ‘मामु एउटा कुरा भन्छु है ।’
‘कस्तो कुरा ?’
‘मामु म अबदेखि कहिल्यै जिद्दी गर्दिनँ है ।’ उसका कुरा सुनेर मम्मी खुसी हुनुभयो । खाजा खाएर शुभम्ले होमवर्क गर्न थालिसकेको थियो ।
‘शुभम् आज मैले के ल्याएकी छु थाहा छ ?’ शुभेच्छाले शुभम्लाई सोधी ।
‘खै ?’
‘यी हेर त कथाको किताब ल्याएकी छु ।’
‘खै, खै ? हेरुम् त ।’
‘नाइँ, पहिला होमवर्क अनि त्यसपछि कथाको किताब ।’
खाना पकाउँदै उनीहरूलाई हेरिरहनुभएकी मम्मीको अनुहार खुसीले उज्यालिएको देखियो ।

प्रतिक्रिया