पार्टी विवाद मिलाउन सुझाव

काठमाडौं, २ भदौ । कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवादलाई मिलाएर अगाडि बढ्न सभापति सुशील कोइरालालाई आग्रह गरेका छन् ।
नेपाल प्रजातन्त्रवादी इन्जिनियर्स एसोसियसनले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा नेता देउवाले भने, ‘पार्टीभित्रकै विवाद मिलाउन नसक्नेहरुले मुलुकलाई कसरी चलाउँछन् ।’
सभापति कोइरालाप्रति रुष्ठ देखिएका उनले आन्तरिक विवाद अन्त्य नगरे सम्म निकास आउन नसक्ने बताए ।
नेता देउवाले संविधानको संशोधन नगरी चुनाव असम्भव रहेको भन्दै संविधानसभा पुनःस्थापनाको माग गरेका छन् । उनले भने, ‘केही समयका लागि संविधानसभा व्यूताएर राजनीतिक सहमति कायम गरी चुनावको अर्को मिति तोक्नुपर्छ ।’
सहमतिका लागि एमाओवादी, मधेसी मोर्चा, कांग्रेस तथा एमालेले पनि आफ्ना हठ त्याग्नुपर्ने उनले बताए ।
‘राजनीतिक स्थिरता नभएसम्म मुलुकको विकास असम्भव भएकोले पहिला स्थिर राजनीति कायम गर्न सहमति आवश्यक छ,’ नेता देउवाले भने, ‘सुरक्षाको प्रत्याभूति र लगानीको ग्यारेन्टी गरेर वैदेशिक लगानीकर्तालाई आकर्षित गर्नुपर्छ ।’
केन्द्रीय सदस्य प्रकाशशरण महतले लोकतन्त्रवादीहरुको कमजोरीका कारण अहिले मुलुकमा एमाओवादी आफ्नो हैकम जमाउन सफल भएको बताए ।
उनले अधिनायकवादी चरित्रलाई कसैले पनि व्यवहारमा उतार्न नहुने बताए । उनले संस्थालाई नेतृत्व दिने व्यक्ति एक्लैले केही गर्न नसक्ने भन्दै संस्थालाई गति दिन टिमवर्कको आवश्यकता रहने बताए ।

प्रतिक्रिया