सेयर बजारमा गिरावट जारी

काठमाडौं, ३२ साउन । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीले गत आर्थिक वर्षको चौँथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्ने क्रमसँगै सेयर बजार परिसूचक नेप्सेमा पनि गिरावट देखिन थालेको छ । करिब डेढ दर्जन वाणिज्य बैंकले गत आवको समाप्तिसँगै वित्तीय विवरण प्रकाशन गर्न थालेपछि मंगलबार २ दशमलव ७ अंकले र बुधबार ५ दशमलव १७ बिन्दुले बजार घटेको छ ।

बुधबार अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । हालसम्म प्रकाशित वित्तीय विवरणमध्ये नबिल बैंक, स्टयान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र एभरेस्ट बैंकले एक अर्ब रुपियाँभन्दा बढी मुनाफा गरेका छन् । सेयर बजारको विगतको ट्रेन्डलाई पछ्याउने हो भने बोनस सेयर घोषणा गर्ने कम्पनीको सेयर मूल्य एकाएक बढ्ने तर नगद लाभांश घोषणा गर्ने कम्पनीको सेयर मूल्य भने उच्च मुनाफाका बाबजुद पनि घट्ने स्वभाव बजारले देखाउने गरेको छ । एक अर्ब रुपियाँभन्दा बढी मुनाफा गर्ने कम्पनीमध्ये स्टयान्डर्ड चार्टर्डले राष्ट्र बैंकले तोकेबमोजिम सञ्चित कोषसमेत जोडेर चुक्तापुँजी पुर्‍याइसकेको हुँदा यस वर्ष पनि बोनस सेयर दिने सम्भावना छैन । करिब ७५ प्रतिशत विदेशी लगानीमा सञ्चालित उक्त बैंकले नगद लाभांशका रूपमा नगद बाहिर लैजाने गरेको छ । त्यसैगरी करिब पौने दुई अर्ब मुनाफा कमाएको नबिल बैंकले पनि गत वर्ष सेयरधनीको उच्च दबाबका बाबजुद नगद लाभांश बाँडेको हुँदा यस वर्ष पनि त्यसै गर्ने आँकलन एक सेयर बजार विश्लेषकले गरेका छन् । अर्बौं नाफा गरे पनि बोनस सेयर नदिने आँकलनका आधारमा बजार घटेको आशंका ती विश्लेकले गरे ।
अरबभन्दा बढी नाफा गर्ने दुई/चार बैंकलाई छोडेर अरू वाणिज्य बैंकको अवस्था भने सकारात्मक देखिएको छैन । बैंक अफ काठमाडौं, नेपाल एसबिआई बैंक, बैंक अफ एसिया, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंकलगायत नाफामा केही वृद्धि गरे पनि बैंक ब्याजभन्दा बढी लाभांश दिने अवस्था देखिँदैन । वाणिज्य बैंकहरूले मुद्दतीमा ७ देखि ९ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् ।
वाणिज्य बैंकपछि अत्यधिक मुनाफा आर्जन गर्ने जलविद्युत् समूहको सेयर पनि बुधबार ओरालो लाग्यो । आकर्षक मानिएको चिलिमे हाइड्रो पावरको वित्तीय विवरणअनुसार उक्त कम्पनीले प्रतिसेयर ६९ रुपियाँ आम्दानी गरेको छ । कम्पनीले गत वर्ष ९३ करोड खुद मुनाफा गरेको विवरण प्रकाशित गरेको छ । उक्त कम्पनीले गत वर्ष ४० प्रतिशत बोनस सेयर र ३० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कमाएको जम्मै रकम लाभांशका रूपमा वितरण गरे पनि विगत वर्षको जति लाभांश दिनसक्ने स्थिति कम्पनीको छैन । यद्यपि कम्पनी ऐनअनुसार विगतमा प्रिमियममा सेयर जारी गरेको यस कम्पनीले सो रकम भने बोनस सेयरका रूपमा वितरण गर्नसक्ने सेयर विश्लेषक रवीन्द्र भट्टराईले बताए । जलविद्युत् समूहमै रहेको अरुणभ्याली हाइड्रो पावरको प्रतिसेयर आम्दानी १६ रुपियाँ रहेको छ । प्रिमियममा सेयर निष्काशन गरेको कम्पनीले यस वर्ष १५ प्रतिशतभन्दा बढी लाभांश दिनसक्ने स्थिति देखिएको छ ।
कम्पनीको सेयर बुधबार १० रुपियाँले घटेको छ । त्यसैगरी बुटवल पावर कम्पनीको सेयर १५ रुपियाँले घटेर पाँच सय ८९ रुपियाँ पुगेको छ । कम्पनीले प्रकाशित गरेको विवरणअनुसार संस्थाको खुद आम्दानी ५६ करोड ११ लाख रुपियाँ रहेको छ । गतवर्ष कम्पनीले ३० करोड ४८ लाख रुपियाँ खुद मुनाफा गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५५ रुपियाँ रहेको छ । गतवर्ष कम्पनीले प्रतिसेयर ३२ रुपियाँ आम्दानी गरेको थियो । खुद मुनाफा राम्रो भए पनि कम्पनीको सेयर १५ रुपियाँले घटेको छ । समग्र जलविद्युत् समूहको परिसूचक १७ दशमलव ९ प्रतिशतले घटेको छ ।
बुधबार बैंक समूह एक दशमलव ९२ अंक, विकास बैंक समूह शून्य दशमलव ५१ अंक, फाइनान्स शून्य दशमलव १५ अंक, बिमा शून्य दशमलव ५९ अंक र अन्य समूह शून्य दशमलव ५६ अंकले तल झरे पनि होटल समूह भने शून्य दशमलव ३८ बिन्दुले बढेको छ ।
बुधबार वेस्टर्न डेभलपमेन्ट बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स र सूर्य लाइफ इन्स्योरेन्स अत्यधिक नाफा गर्ने कम्पनीमा रहेका छन् भने सिटी डेभलपमेन्ट बैंक, लुम्बिनी फाइनान्स, प्राइम लाइफ इन्स्योरेन्स, एनएमबी बैंक, कर्णाली डेभलपमेन्ट बैंक सबैभन्दा गुमाउने कम्पनीको सूचीमा छन् । कारोबार रकमका आधारमा भने किस्ट बैंक, चिलिमे हाइड्रो पावर, एभरेस्ट बैंक, बैंक अफ काठमाडौं र नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा छन् । बुधबार ८० कम्पनीको एक हजार दुई सय १० कारोबारमा तीन लाख ६७ हजार ३७ कित्ता सेयर किनबेच भएर आठ करोड ७७ लाख रुपियाँको कारोबार भयो ।

प्रतिक्रिया