युएफा उत्कृष्टको दौड

मोनाको, ३१ साउन । रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो, बार्सिलोनाका लियोनेल मेसी र आन्द्रेइ इनेस्टा युएफा वर्षको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् । युरोपको सर्वोच्च फुटबल संस्था युइएफएमा आबद्ध ५३ सदस्यराष्ट्रका पत्ररकारहरूको मतदानबाट तीन जना चयन भएका छन् । युभेन्ट्सका आन्द्रेइ पिर्लो चौथो स्थानमा रहे भने गत वर्ष दोस्रो स्थानमा रहेका बार्सिलोनाका जाभी पाँचाँै स्थानमा रहे ।
अन्तिम तीन जनामा रहेकाबाट ३० अगस्टमा च्याम्पियन्स लिगको पहिलो चरणको ड्र हुनुअगाडि उत्कृष्टको चयन हुने छ । युरोपियन स्पोर्ट्स मिडिया र युइएफएमा आबद्ध सञ्चारकर्मी मिलेर यो अवार्ड कार्यक्रम गर्न लागेका हुन् ।
मनोनयनमा पर्ने मेसी गत वर्ष बार्सिलोनालाई लिग उपविजेता बनाउनुका साथै च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल प्रवेश गराउन सबैभन्दा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने खेलाडीको रूपमा रहेका छन् । पछिल्ला तीन वर्ष फिफा प्लेयर अफ द इयरको अवार्ड पाइसकेका मेसीलाई यो तीन वर्षमा रहेको फर्मकै कारण डिएगो म्यारोडोना र पेलेसँग तुलना गर्न थालिएको छ ।
युरोपियन च्याम्पियनसिपभन्दा अघिको समयलाई आधार मान्ने हो भने मेसी नै प्रबल दाबेदार मानिन्छन् । पोर्चुगललाई आफ्नो नेतृत्वमा युरोकपको सेमिफाइनलमा पुर्‍याउने क्रममा रोनाल्डोको भूमिका अब्बल थियो । सुरुमा नछाएका रोनाल्डो प्रतियोगिताको तेस्रो खेलबाट छाएका थिए ।
स्पेनले लगातार तीन ठूला प्रतियोगिताको उपाधि जित्दा इनेस्टाको भूमिका सबैभन्दा महत्त्वपूर्ण रहयो । युरोकपको उत्कृष्ट खेलाडी घोषित इनेस्टा आफ्नो देशलाई उपाधि दिलाउने क्रममा आक्रमणको मुख्य सूत्राधार बनेका थिए । महत्त्वपूर्ण समयमा गोलसमेत गर्ने बानी भएका इनेस्टाले युरोकपमा कुनै गोल त गर्न सकेनन् तापनि स्पेनले गरेका अधिक गोलमा उनको भूमिका रहेको थियो । बलमाथिको नियन्त्रणका साथै फरवार्डका लागि चलाखीपूर्ण पास उपलब्ध गराउनु उनको विशेषता हो ।
से गिभनको सन्न्यास
यसैबीच आयरल्यान्डका गोलरक्षक से गिभनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । ३६ वर्षीय गिभनले आयरल्यान्डको राष्ट्रिय टोलीका लागि १२५ खेल खेलिसकेका छन् । ‘मेरो यो निर्णय अत्यन्त कठिन हो,’ आफ्नो सन्न्यासबारे उनले भने । १९ वर्षको उमेरमा आयरल्यान्डको राष्ट्रिय टोलीमा प्रवेश गरेका गिभनले पहिलो खेल रुससँग खेलेका थिए । पेडी बोनरलाई प्रतिस्थापन गर्दै गिभनले अन्तर्राष्ट्रिय खेलजीवनको सुरुआत गरेको उक्त खेलमा रुस २–० ले विजयी भएको थियो । सन् २००२ को विश्वकपमा स्पेनसँग टाइब्रेकरमा पराजित हुनुपूर्व उनले लगातार चार खेलमा पूरै समय मैदानमा उपस्थिति जनाएका थिए ।
पछिल्लो युरोकपमा भने उनको टोली सुरुआतका तीनै खेलमा पराजयको सामना गर्दै पहिलो चरणबाटै बाहिरिएको थियो । उनको टोलीले ९ गोल खाएको थियो । आयरल्यान्ड फुटबल संघले गिभनको योगदान अतुलनीय रहेको जनाएको छ । आयरल्यान्डका प्रशिक्षक जियोभानी ट्रापाटोनीले गिभनको
१६ वर्षे अन्तर्राष्ट्रिय खेलजीवन उत्साहजनक रहेको प्रतिक्रिया दिएका छन् । ‘उनी महान खेलाडी हुन्, उनीसँग काम गर्दा म पनि रोमाञ्चित थिएँ, खासमा उनको मिहिनेत र फुटबलप्रतिको समपर्णका कारणले,’ ट्रापाटोनीले भने । एजेन्सी

प्रतिक्रिया