‘सहकारी विभाग कमजोर’

काठमाडौं, ३१ साउन । सहकारी संघ/संस्थाको नियामक निकाय सहकारी विभाग कमजोर भएको विभागका रजिस्ट्रार केदार न्यौपानेले बताएका छन् । सहकारीको वृद्धिअनुसार विभागको संस्थागत संरचना कमजोर भएको उनले बताए । मंगलबार आयोजित अन्तर्राष्ट्रिय सहकारी वर्ष र सहकारी आन्दोलनको उपलब्धी विषयक कार्यक्रममा न्यौपानेले सो कुरा बताएका हुन् ।

‘हालसम्म सहकारी विकास संख्यात्मक मात्रै भएका छन्,’ न्यौपानेले भने, ‘गुणात्मक विकास गर्न विभागको संरचनमै कमी छ ।’ २५ हजारभन्दा बढी सहकारी संस्था भएपछि विभागसँग सीमित कर्मचारी र बजेट रहेको उनको गुनासो थियो । ‘लक्षित वर्गमा सहकारी आवश्यक छ,’ उनले भने, ‘दूरदराजका जनतासमक्ष सहकारी पुर्‍याउनु विभागको चुनौती हो ।’ गरीब जनता भएको कर्णाली अञ्चलजस्ता ठाउँमा सहकारी विकास गरिनुपर्ने उनको तर्क छ । सहकारी सिद्धान्त, आर्दश, मूल्यमान्यतालाई आत्मसात नगर्दा सहकारी समस्यामा पर्ने गरेको न्यौपानेको धारणा छ ।
सोही अवसरमा सहकारी नीति छिट्टै मन्त्रिपरिषद्मा पठाइने सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता सुदर्शनप्रसाद ढकालले बताए । यसै वर्ष गठन भएको मन्त्रालय भएर खासै कार्यक्रम गर्न नसकेको उनको भनाइ थियो । बजेट अभावका कारण नयाँ कार्यक्रम घोषणा गर्न नसकेको उनले बताए । ‘अन्तर्राष्ट्रिय सहकारी वर्षसमेत ओझेलमा परेजस्तै भएको छ ।’ ढकालले भने, ‘वर्ष मनाउन गठित राष्ट्रिय समिति ५१ बाट ५९ बनाएको छ ।’
कार्यक्रममा राष्ट्रिय सहकारी संघका पूर्वअध्यक्ष दीपकप्रकास बाँस्कोटाले बचत तथा ऋण सहकारी दर्ता रोक्नुपर्ने बताए । ‘आवश्यकभन्दा बढी बचत तथा ऋण सहकारी खुलेका छन्,’ बाँस्कोटोले भने, ‘अब दर्ता रोकी मर्जरतिर जानुपर्छ ।’ सहकारीमा जति पनि समस्या आएका बचत तथा ऋणको कारोबारले भएको उनको भनाइ थियो । अबको समयमा सहकारी खोल्ने नभई अन्य सहकारीमा सदस्य बन्नुपर्ने बताए । ‘नेपालमा अन्तर्राष्ट्रिय सहकारी वर्षले खासै प्रभाव पारेको छैन,’ उनले भने, ‘सरकारी बेवास्ताका कारण यस्तो भएको हो ।’ सरकारी तबरबाट घोषणा भएको कार्यक्रम ६ महिना बितिसक्दा पनि हुननसकेको उनको भनाइ थियो । सहकारी संघ/संस्थाले पनि आफ्नो वार्षिक कार्यक्रमलाई सहकारी वर्षका कार्यक्रम भन्ने गरेको उनले बताए ।

प्रतिक्रिया