न्युबुद्ध प्रकाशलाई उसु उपाधि

काठमाडौ : न्युबुद्ध प्रकाशले प्रथम राष्ट्रिय जुनियर उसु प्रतियोगिताको उपाधि जितेको छ । टिम च्याम्पियन न्युबुद्ध प्रकाशले १४ स्वर्ण, ९ रजत र ४ कांस्य जित्यो । अन्तिम दिन भएको थाउलोतर्फ पुरुषमा न्युबुद्ध प्रकाशका विजय सिन्जाली तथा महिलामा रोजबडकी तिमिला श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए । सान्सौँको पुरुषमा सुपर्वका सन्देश तामाङ तथा महिलामा शिअ उसु क्वानकी दिव्या राउत उत्कृष्ट खेलाडी ठहरिए । सान्सौँतर्फ पुरुषको ४८ केजीमा सुपर्वका सन्देश तामाङ पहिलो भए । फाइनलमा उनले शिअका लीलाधर पार्कीलाई पराजित गरे । ५२ केजीमा शिअका पदम ठकुल्लाले कैलालीका राजेश चौधरीलाई हराउँदै स्वर्ण जिते । ५६ केजीमा शिअका नरेश चौधरीले शीर्षस्थान हात पारे । फाइनलमा नरेशले वाइएसएसडब्लु उसु क्वानका कान्ति लामालाई पाखा लगाए ।
६० केजीमा कञ्चनपुरका अमर सुनुवारले जिते । उपाधि भिडन्तमा उनले लखातीर्थ उसु क्वानका सोमवज्र तामाङलाई हराए । ६५ केजीको फाइनलमा बलम्बु उसु क्वानका राजेन्द्र लामाले केन्द्रका विज्ञान महराको चुनौती समाप्त पार्दै स्वर्ण चुमे । सान्सौँकै महिलाको ४८ केजीमा शिअकी हीरा चौधरी पहिलो भइन् । फाइनलमा हीराले महादेवकी सुजाता सुब्बालाई पाखा लगाइन् । ५२ केजीमा शिअकी दिव्या राउत तथा ५६ केजीमा हरिसिद्धि उसु क्वानकी सुस्मिता श्रेष्ठले स्वर्ण हात पारे । फाइनलमा दिव्याले न्युबुद्ध प्रकाशकी रेणु तामाङ तथा सुस्मिताले केन्द्रकी सिर्जना तामाङलाई पन्छाए । थाउलोअन्तर्गत समूह सी को कुन–सुतर्फ पुरुषमा न्युबुद्ध प्रकाशका विजय सिन्जाली तथा महिलामा न्युबुद्ध प्रकाशकै अनु राई पहिलो भए । समूह ए को पुरुष नान–कुनमा न्युबुद्ध प्रकाशका विशाल थापा सिन्जाली तथा कुन–सुमा न्युबुद्ध प्रकाशकै रिन्जी शेर्पाले स्वर्ण जिते । समूह बी को पुरुष कुन–सुमा हरिसिद्धिका कल्याण राईले शीर्षस्थान कब्जा गरे । (सौस)

प्रतिक्रिया