अष्ट्रेलियाको विजयी सुरुआत

अष्ट्रेलिया, २८ साउन । अष्ट्रेलियामा शनिबारदेखि सुरु भएको आइसिसी यु–१९ विश्वकपमा साविक विजेता घरेलु टोली अष्ट्रेलियाले विजयी सुरुआत गरेको छ । समूहको आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले इंगल्यान्डलाई ६ विकेटले हराउँदा अन्य खेलमा साविक उपविजेता पाकिस्तानसँगै बंगलादेश र जिम्बावेले पनि जित हात पारे ।
समूह ए अन्तर्गत प्रभावशाली सुरुआत गर्ने क्रममा अष्ट्रेलियाले निकै राम्रो बलिङ प्रदर्शन गर्‍यो । फास्टबलरले कसिलो बलिङ गरेपछि इंगल्यान्ड ३८.३ ओभरमा १४३ रनमा सीमित भयो । अस्ट्ेरलियाका एस्टन टर्नर, गुरिंदर सन्धुले ३/३ विकेट लिए भने जोएल पेरिस र मार्क स्केटेकीले समान २ विकेट हात पारे ।
प्राप्त लक्ष्य अष्ट्रेलियाले ३५.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । खराब सुरुआत गरे पनि अस्ट्ेरलियालाई मध्यपंक्तिले सम्हालेका थिए । ५४–४ को स्थितिमा अष्ट्रेलियाका ट्राभिस हेडले अर्धशतकीय इनिङ खेल्दै ५७ रन जोडे भने कप्तान विलियम वोसिस्टोको नाममा ३५ रन रहयो । बोसिस्टोसँग पाँचौँ विकेटका लागि ८७ रनको साझेदारी गर्दै व्यक्तिगत पनि राम्रो प्रदर्शन गरेका हेड म्यान अफ द म्याच भए ।
अस्ट्ेरलियाले आफ्नो दोस्रो खेल सोमबार नेपालविरुद्ध खेल्नेछ । इंगल्यान्ड भने आइतबार नै आयरल्यान्डविरुद्ध उत्रनेछ । समूह बी अन्तर्गत पाकिस्तानले अफगानिस्तानलाई १०९ रनले पराजित गर्‍यो । २५८ रनको विजयलक्ष्य पछयाएको अफगानिस्तान ४५.१ ओभरमा १४४ रनमा सीमित भयो । अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा जिया उल हकले ४ विकेट लिए । त्यस्तै जाफर गोहारको नाममा पनि २ विकेट रहयो । पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरे पनि ४ खेलाडीले मात्र दोहोरो अंकमा रन जोडेपछि अफगानिस्तान हार व्यहोर्न बाध्य भएको हो । उसका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका हास्मातुल्लाह सैदीले ५० रन जोडेका थिए ।
यसअघि टस जिती पहिला ब्याटिङ गरेको पाकिस्तानका लागि बबर आजमले ७५ र मोहम्मद नवाजले ६६ रन जोडे । त्यस्तै उमर वाहिदले ४३, इमाम उल–हकले २५ र सामी असलमले २१ रन जोडे । निर्धारित ५० ओभर खेल्दै मात्र ६ विकेट गुमाएको पाकिस्तान कुनै पनि समय दबाबमा देखिएन । पाकिस्तानका लागि सर्वाधिक रन जोडेका आजम म्यान अफ द म्याच भए ।
यता गत संस्करणको प्लेट च्याम्पियन बंग्लादेशले समूह डी अन्तर्गत आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गर्‍यो । प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा बंगलादेशले २५ रनले विजय प्राप्त गरी अघिल्लो चरण प्रवेशको सम्भावना सहज बनायो । २५० रनको लक्ष्य पछयाएको श्रीलंका ४८.१ ओभरमा २२४ रनमा सीमित भयो । बंगलादेशका सौम्य सरकारले ३ तथा तास्किन अहमदले २ विकेट लिए । पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरी गतिलो सुरुआत गरेको श्रीलंकाका लागि एन्जेलो जयासिंगेले ८३ र लाहिरु मधुसांकाले ४८ रन जोड्नुबाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन ।
यसअघि पहिले ब्याटिङ गर्ने क्रममा बंगलादेशका लागि कप्तान अनमुल हकले शतकीय इनिङ खेले भने आसिफ अहमदले पनि ८४ रन जोडेका थिए । १२७ बल खेल्ने क्रममा हकले ९ चौका प्रहार गरेका थिए । खराब सुरुआत गरेको बंगलादेशका लागि अहमद र आसिफले तेस्रो विकेटका लागि १४१ रनको साझेदारी गरी टोलीलाई बलियो स्थितिमा पुर्‍याएका थिए । सानदार प्रदर्शन गरेका हक म्यान अफ द म्याच भए ।
समूह सी अन्तर्गत पपुआ न्युगिनीविरुद्ध जिम्बावे १०४ रनले विजयी भएको हो । २५० रनको लक्ष्य पछयाएको पपुआ न्युगिनी ३८.१ ओभरमा १४५ रनमा सीमित भयो । पपुआ न्युगिनीलाई सस्तैमा समेट्ने क्रममा जिम्बावेका लुक जोङ्वे, पिसमोर जिम्वा र म्याथ्यु बेन्ट्लीले समान २ विकेट लिएका थिए । यसअघि जिम्बावेको चुनौतीपूर्ण योगफलमा प्रारम्भिक ब्याट्सम्यानद्वय केभिन कसुजाले ९७ र लुक मसाजायरले ४७ रनको योगदान गरेका थिए । जिम्बावेले पहिलो विकेटका लागि १०९ रनको साझेदारी गरी गतिलो सुरुआत गरेको थियो । शतक बनाउनबाट ३ रनले मात्र चुकेका कसुजा म्यान अफ द म्याच भए । एजेन्सी

प्रतिक्रिया