दाङमा बाढीपीडितलाई ३१ लाखको खाद्यान्न

दाङ, २८ साउन । दाङ देउखुरीका बाढी पीडितका लागि नेपाल रेडक्रस सोसाइटी लालमटिया उपशाखामा ३१ लाख रुपियाँ बराबर खाद्यान्न र लत्ताकपडा राहतस्वरूप संकलन गरिएको छ । रेडक्रस उपशाखाका सभापति गंगाराम भट्टराईले १८ सामाजिक संघ/संस्थाबाट ३१ लख बराबरको राहत वितरण गरिएको जानकारी दिए ।

सिहसनिया गाविसका पूर्ण रूपमा बाढी प्रभावित २९ घर परिवारलाई प्रतिपरिवार दश हजार रुपियाँ बराबरको राहत वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा सिसहनियाले बाढीबाट पूर्ण रूपमा प्रभावित भएकालाई राहत वितरण गरेको हो । पूर्ण रूपमा घरबारविहीन भएकालाई रेडक्रसले प्रतिपरिवार ४० किलो चामल, तीन किलो चिउरा, तीन जोर कपडा, एक किलो दाल, एक किलो सोयाबिन, चप्पल वितरण गरेको उपशाखा सभापति भट्टराईले जानकारी दिए । बाढी पीडितका लागि सिसहनियाका राजु चौधरीले बीस हजार बराबरको फेन्सी कपडा, मुन्नु आचार्यले कपडा र कास्मेटिक सामग्री उपलब्ध गराएका छन् । (सौस)

प्रतिक्रिया