विलासी वस्तुमा भन्सार छुटले करोडौँ गुम्यो

वीरगन्ज, २६ साउन । विलासी वस्तुमा भन्सार छुटको नीतिका कारण सरकारले बर्सेनि करोडौँ रुपियाँ गुमाइरहेको छ । आमनागरिकले उपभोग गर्ने अत्यावश्यक कृषिजन्य वस्तुको आयातमा भन्सार महसुल लगाउने सरकारले केही सीमित उच्चवर्गले प्रयोग गर्ने स्काभेटर, सेफ, डोजर, रोलर र लिफ्टजस्ता अति महँगा र विलासी वस्तु आयात गर्दा भने भन्सार महसुल छुट दिने व्यवस्था गरेका कारण करोडौँ रुपियाँ गुमेको हो ।
वीरगन्ज भन्सार नाकाबाट भन्सार छुट सुविधामा यस्ता वस्तु आयात हुँदा गत आर्थिक वर्ष मात्रै मुलुकले १२ अर्ब ४४ करोड ७० लाख रुपियाँ राजस्व गुमाउनुपरेको थियो । आव ०६७/६८ मा यसमा पाँच अर्ब गुमाउनुपरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । धान, चामल, दाल र चिनीजस्ता अत्यावश्यक कृषिजन्य वस्तुको आयात गर्दा भन्सार महसुल तिर्नुपर्छ तर केही उच्च र सम्पन्न वर्गले प्रयोग गर्ने वस्तुको आयातमा भन्सार छुटको सुविधा दिनुलाई न्यायसंगत नभएको टिप्पणी विज्ञहरूको छ । आर्थिक ऐनले दिएको कतिपय छुट आधारभूत तहमा उपयुक्त देखिएको भए पनि स्काभेटर, डोजर, रोलरजस्ता अति महँगा वस्तुको आयातमा भन्सार महसुल छुट दिनुलाई उपयुक्त मान्न नसकिने दाबी उनीहरूको छ ।
अधिकांश वस्तु विभिन्न प्रयोजनका लागि प्रयोग हुने भएकाले धेरैले भन्सार छुटको सुविधालाई दुरुपयोग गरेको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत गुणराज सुवेदी बताउँछन् । उनका अनुसार विकासका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणको लागत कम गर्न, स्वदेशी उद्योग प्रवद्र्धनका लागि विभिन्न उद्योगमा प्रयोग हुने कच्चापदार्थ र कूटनीतिक वस्तुको आयातमा भन्सार महसुल छुटको सुविधा दिने व्यवस्था रहेको छ ।
भन्सार महसुल छुट सुविधामा आयात हुने स्काभेटर, डोजर र रोलरको प्रयोगले विकास आयोजनाको निर्माण लागत कम हुनुपर्नेमा त्यस्तो संकेतसम्म नपाएको इन्जिनियर राजेन्द्र मण्डल बताउँछन् । उनले भने, ‘विशेषगरी उच्च र आर्थिकरूपले सम्पन्न ‘क’ वर्गका ठेकेदारले मात्र यस्ता वस्तुको आयात गर्ने गरेका छन् ।’ गत आर्थिक वर्षमा यस नाकाबाट भन्सार छुट सुविधामा एस कय ६९ थान स्काभेटर, डोजर र रोलर आयात भएको थियो । यसबाट मुलुकले दुई करोड ३१ लाख ३२ हजार राजस्व गुमाएको थियो ।
त्यसैगरी, भन्सार महसुल छुटको सुविधामा आयात भएका लिफ्ट विशेषगरी पाँचतारे होटल र हाउजिङमा प्रयोग हुन्छन् । सरकारले यी वस्तुको आयातमा भन्सार छुटको सुविधा दिए पनि उपभोक्ताले सस्तोमा अपार्टमेन्ट खरिद गर्न सकेका छैनन् । पाँचतारे होटेलमा पनि सीमित उच्च र सम्पन्न वर्गको मात्र पहुँच हुने गरेको छ । गत आर्थिक वर्षमा यस नाकाबाट चार सय २६ वटा लिफ्ट आयात गरिएको थियो । भन्सार छुटका कारण यसबाट गत वर्ष एक करोड ५६ लाख ३२ हजार रुपियाँ राजस्व घाटा भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । त्यस्तै, गत आर्थिक वर्षमा तीन सय ६२ वटा सेफ आयात गरिएको थियो । विशेषगरी बैंक र उद्योगपतिले यसको प्रयोग गर्छन् ।
मुलुकको दिगो आर्थिक विकासका लागि आमनागरिकले अपनाउँदै आएको कृषि पेसालाई व्यावसायीकरण र व्यापारीकरण गर्ने कार्यका लागि प्रयोग हुने कृषि औजार, आधुनिक स्रोतसंरक्षण कृषि प्रविधि, बालीनालीमा प्रयोग हुने कीटनाशक औषधि र उन्नत बिउवीजनको आयातमा भन्सार राजस्व तिर्नुपर्छ । त्यस्तै, आमनागरिकले प्रयोग गर्ने धान, चामल, गहुँ र मकै तथा हरियो ताजा सागसब्जीको आयातमा समेत पाँच प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था छ । तर, उच्च र सम्पन्न वर्गका सीमित व्यक्ति वा संस्थाले प्रयोग गर्ने विलासिताका वस्तुको आयातमा भन्सार छुटको सुविधा प्रदान गर्नुले विभेदको अवस्था सिर्जना भएको छ ।
किसानले निम्न आय भएका गरिब तथा मध्यमवर्गले अपनाउने कृषि पेसालाई मर्यादित, उननतशील र प्रतिस्पर्धी बनाउनका लागि कृषि औजार, आधुनिक स्रोतसंरक्षण कृषि प्रविधि, बालीनालीमा प्रयोग हुने कीटनाशक औषधि र उन्नत बिउवीजन आयातमा भन्सार छुटको सुविधा प्रदान गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया