काठमाडौं, २६ साउन । सात दोबाटोस्थित पौडीपोखरीमा भएको नक्कली टिकट प्रकरण छानबिनका लागि गठित समितिले घटना भएको एक महिना बिते पनि भरखरै मात्र काम सुरु गरेको छ ।
तीन दिनअघि मात्र छानबिन समितिले सातदोबाटोमा गएर घटनाका सम्बन्धित सबैसँग सामान्य सोधपुछ तथा स्थलगत अनुगमन गरेको थियो । त्यसपछि ११ जनालाई पत्र काटी लिखित जवाफ माग गरिएको छ । गत २० असारमा टिकट जाँच गर्ने क्रममा एक सय दरका पाँचवटा नक्कली टिकट भेटिएको थियो । त्यसै विषयमा अन्तर्राष्ट्रिय परिसर प्रमुख केसरी चित्रकार र अधिकृत मधुसूदन बस्नेतलाई नेपाल खेलकुद प्रतिष्ठानमा सरुवा गरिएको छ । त्यस्तै टिकट बिक्री र जाँचमा काम गर्ने केही कर्मचारीलाई पनि अन्य ठाउँमा सरुवा गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव युवराज लामाले राखेप कोषाध्यक्ष इन्द्रबहादुर थिङको संयोजकत्वमा कानुन शाखा प्रमुख नारायण अर्याल र लेखा प्रमुख वासुदेव आचार्य सदस्य रहने गरी तीनसदस्यीय छानबिन समिति गठन गरी प्रतिवेदन बुझाउन सात दिनको समय दिएका थिए ।
छानबिनका सम्बन्धमा स्वयं संयोजक थिङ नै गम्भीर देखिएका छैनन् भने समिति गठन गरेका सदस्यसचिव लामाले पनि त्यसयता चासो दिएका छैनन् । थिङ आफ्नै काममा व्यस्त भएको स्रोत बताउँछ । ‘बिदा धेरै परेकाले काम ढिलो गरी सुरु भएको हो,’ सौर्यसँगको कुराकानीमा संयोजक थिङले भने ।
यता सात दिनको समय दिएका सदस्यसचिव लामा पनि ‘प्रारम्भिक कारबाही भएकै छ, छानबिन त विस्तारै हँुदै जाने कुरा हो नि †’ भन्न थालेका छन् । ‘छानबिन भन्ने कुरा विस्तारै हँुदै जाने कुरा हो, काम गर्दै जाँदा पाँच वर्षसम्म समय लाग्न सक्छ,’ सौर्यसँगको कुराकानीमा लामाले भने,
‘जो–जो घटनामा संलग्न भएको आशंका गरिएको छ, उहाँहरूलाई प्रारम्भिक कारबाही गरिएकै छ । अब प्रतिवेदन त विस्तारै ल्याए भइगयो नि †’ भष्टाचार र अनियमितताजस्तो गम्भीर विषयमा अत्यन्तै हलुंगो रूपमा प्रस्तुत हँुदै लामाले आफ्ना लागि छानबिनभन्दा पनि खेलकुदको विकास प्रमुख प्राथमिकताको विषय भएको बताए । उनले छानबिन समितिले काम गरिरहेको सम्भावना व्यक्त गर्दै प्रतिवेदन आइसकेपछि मात्र बोल्ने बताए ।
यता छानबिन समितिले शुक्रबार लिखित जवाफ अध्ययन गरी त्यसपछिको प्रक्रियाबारे अगाडि बढ्ने जनाएको छ । घटनामा मुछिएका सबै कर्मचारीले आफ्नो गल्ती नभएको बताएपछि छानबिनसमितिले परिषद्मै बोलाएर मौखिक बयान लिने मनस्थिति बनाएको छ । स्रोतका अनुसार सामान्य सोधपुछका क्रममा अधिकांशले ‘नक्कली टिकट कर्मचारीले नभई बाहिरैबाट ल्याएको र प्रहरीबाट उक्त काम भएको भन्ने जवाफ दिएका छन् ।’ तर बाहिरबाट आएको भए उक्त टिकट कसरी पौडीपोखरी प्रवेश गर्ने गेटसम्म पुग्यो भन्दै कर्मचारीभित्रैबाट सो काम भएको हुन सक्ने आशंका गरिएको छ ।
विगतमा ठेक्कामा दिने गरिएको पौडीपोखरी यसपटकदेखि राखेप आफैले सञ्चालन गरेको थियो । त्रिपुरेश्वरस्थित पौडीपोखरी पनि राखेप आफैले सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया