कीतिमानसहित शिरीषले जिते दस स्वर्ण

काठमाडौं, २५ साउन । सत्रौँ राष्ट्रिय तथा उमेरसमूह पौडी प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन बिहीबार एउटै स्पर्धामा दुई खेलाडीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
प्रतियोगिताको खुलातर्फ पुरुषको
१ हजार ५ सय मिटर फ्रिस्टाइलमा काठमाडौंका शिरीष गुरुङ र नेपाल आर्मीका रुद्र कट्वालले जयप्रकाश गुरुङको नाममा रहेको २३ मिनेट १२.३८ सेकेन्डको कीर्तिमान भंग गरे । १९८४ मा काठमाडौंमा भएको दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) को पहिलो संस्करणमा जयले उक्त कीर्तिमान बनाएका थिए ।
१४ वर्षीय शिरीषले निर्धारित दूरी पूरा गर्न १९ मिनेट ४८.१६ सेकेन्ड समय लगाए । उनले कीर्तिमानी स्वर्णसहित प्रतियोगितामा कुल १० स्वर्ण, १ रजत र १ कांस्य जिते । रुद्रले २२ मिनेट ०८.१९ सेकेन्ड समय खर्चे । दुई कीर्तिमान बने पनि शिरीषको समय मात्र कीर्तिमानी समयको सूचीमा रहनेछ ।
कीर्तिमान बनाएका दुवैलाई राष्ट्रिय खेलकुद परिषद्को तर्फबाट समान १०–१० हजार रुपियाँ नगद पुरस्कार प्रदान गर्ने परिषद्का सदस्यसचिव युवराज लामाले घोषणा गरे । त्यस्तै नेपाल पौडी संघले दुवैलाई समान ५–५ हजार रुपियाँ प्रदान गर्‍यो ।
प्रतियोगिताअन्तर्गत उमेरसमूहतर्फ लिटिल एन्जल्स (एलए) स्कुलले टिम च्याम्पियनको उपाधि जित्यो । एलएले सर्वाधिक १ सय अंक ल्याउँदै उपाधि उचाल्यो । ६८ अंकसाथ लिंकन स्कुल दोस्रो भयो भने तेस्रो स्थानमा रहेको हिम्सले ४८ अंक जोडयो ।

प्रतिक्रिया