काठमाडौं : मोर्गनका रेणुका खत्री र एलिना महर्जनको जोडीले तेस्रो कृष्णध्वज स्मृति आमन्त्रण उपत्यकाव्यापी अन्तरकलेज तथा विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको कलेजको गल्र्स डबल्स फाइनलमा उक्त जोडीले अक्सब्रिजका काजोल रौनियार र मनिता चित्रकारको जोडीलाई १८–१६, ८–११, ११–४ र ११–८ को सेटमा हराए ।
कलेजकै ब्वायज टिम स्पर्धामा प्राइम र विजेश्वरी कलेज फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा प्राइमले एलियन्स एकेडेमीलाई ३–० तथा विजेश्वरीले अक्सब्रिजलाई ३–१ ले पाखा लगाए । डार्क हर्स प्रोडक्सनद्वारा आयोजित प्रतियोगिताको स्कुलतर्फ गल्र्स टिम स्पर्धामा विजेश्वरीले स्वर्ण चुम्यो । फाइनलमा विजेश्वरीले माउन्ट भ्यालीको चुनौती ३–० ले पन्छायो ।। स्कुलको गल्र्स डबल्समा माउन्ट भ्यालीका सोनी भैला र जुबी छुस्याबाघको जोडीले पहिलो स्थान कब्जा गरे । फाइनलमा उक्त जोडीले पुष्पसदनका आस्का श्रेष्ठ र करिना महर्जनको जोडीलाई ११–९, ५–११, ११–५ र ११–७ ले निराश पारे । चारदिने प्रतियोगिताको कलेजतर्फ १ सय ७५ तथा स्कुलतर्फ २ सय गरी ३ सय ७५ खेलाडीको सहभागिता रहेको टेबलटेनिस प्रशिक्षक सुशील पौडेलले जनाएका छन् । कुल १९ स्वर्णमा स्कुलतर्फ १२ र कलेजमा ७ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ । (सौस)
प्रतिक्रिया