लन्डन, २२ साउन । लन्डन ओलम्पिकको सुरुआती चरणमा प्रभावकारी शक्ति अमेरिका कमजोर अवस्थामा रहेको छ । सात स्पर्धा सकिँदा अमेरिकाले कुनै पनि स्वर्णपदक जित्न सकेको छैन । महिलाको १०० मिटर दौडको स्वर्णपदक जित्दै जमैकाकी सामी एन फ्रेजिएर संसारकी तेज महिला बनेकी छन् । उनले १०.७५ सेकेन्डमा रेस पूरा गरिन् । अमेरिकाकी जेलेन केटरले १०.७८ सेकेन्डमा रेस पूरा गर्दै रजतपदकमा सीमित भइन् । जमैकाकी भेरोनिका क्याम्बेलले कांस्यपदक पाइन् ।
पुरुषको १० हजार मिटर फाइनलमा आयोजक बेलायतका मोहम्मद फराहले २७ मिनेट ३०.४२ सेकेन्ड समयमा कुदेर रजतपदक पाए । इथोपियाका तारुरी बेकेलले २७ मिनेट ३१.४३ सेकन्डमा कुदेर कांस्यपदक पाए । पुरुषहरूको लंगजम्पमा बेलायतका ग्रेग रुदरफोल्डले स्वर्ण, अस्ट्रेलियाका मिचेल वाटले रजत तथा अमेरिकाका विल कायलले कांस्यपदक जिते । महिलाको डिस्कस थ्रोमा चीनकी वांग फेईले स्वर्णपदक जितिन् ।
महिला हेप्टाथलनमको स्वर्ण अपेक्षा गरिएअनुसार नै आयोजक टोलीकी जेसेका इनिसले जितिन् । जर्मनीकी लिली स्वराजकापले रजत तथा रुसकी टाटियान चेरनोभाले कांस्यपदक जितिन् ।
फेन्सिङको महिला टिम इपेमा चीनले स्वर्ण तथा दक्षिण कोरियाले रजतपदक जिते । टेनिसको पुरुष युगलको फाइनलमा माइक ब्राइन र टम ब्राइनले फ्रान्सका माइकल लोड्रा र जो वेलफ्रेड सोगालाई पराजित गरे । ब्याडमिन्टनको महिला युगलमा चीनले स्वर्ण, जापानले रजत तथा रुसले कांस्यपदक जिते ।
आइतबार भएको सुटिङको ५० मिटर फ्रिस्टाइलमा पेस्तोलमा दक्षिण कोरियाका जंग जो जिंगले स्वर्ण जिते । दक्षिण कोरियाकै योग्रौय चोईले रजत तथा चीनका वेइजेइ वांगले कांस्यपदक जिते । साइक्लिङको महिला पस्र्युटमा बेलायतले स्वर्ण, अमरिकाले रजत तथा क्यानाडाले कांस्यपदक जिते ।
जिम्न्यास्टिकको महिला ट्रायपलनमा क्यानाडाकी रोसंगा म्याकलेननले स्वर्णपदक जितिन् । उक्त स्पर्धामा रजत र कांस्यपदक चीनले जित्यो ।
जेलेनालाई म्याराथन स्वर्ण
इथोपियाकी २४ वर्षीय धाविका टिकी जेलेनाले महिला म्याराथनतर्फ स्वर्णपदक जितेकी छन् । २ घन्टा २३.०७ मिनेट समयको ओलम्पिक कीर्तिमानी समयका साथ जेलेना पहिलो भएकी हुन् । केन्याकी प्रिस्का जेप्टुले रजत तथा रुसकी तात्याना आर्खिपोभा पेट्रोभाले कांस्यपदक जितिन् । स्वर्णपदक जित्ने अनुमान गरिएकी मेरी कैटानी भने चौथो स्थानमा सीमित हुन पुगिन् ।
लिनलाई ब्याडमिन्टन स्वर्ण
चिनियाँ ब्याडमिन्टन स्टार लिन डान मलेसियाका ली चोङ वेईलाई हराउँदै यस स्पर्धामा ओलम्पिक स्वर्णपदक रक्षा गर्ने पहिलो खेलाडी भएका छन् । गत संस्करणमा पनि डानले मलेसियन वेईलाई नै हराएर स्वर्णपदक जितेका थिए ।
ब्राजिलको कठिन जित
लन्डन : लन्डन ओलम्पिक फुटबलको क्वाटर फाइनलमा कठिन जित हात पार्दै ब्राजिल सेमिफाइनल प्रवेश गरेको छ । अनपेक्षित प्रदर्शन गरिरहेको होन्डुरस शनिबार ब्राजिलसँगको खेलमा ३–२ ले पराजित भयो । खेलमा सुरुदेखि होन्डुरसले बलियो प्रभाव जमाएको थियो । समूहचरणमा स्पेनलाई हराउनुका साथै जापानसँग बराबरी खेलेको होन्डुरस बलियो आत्मविश्वास र लयमा देखिने क्रममा १२आँै मिनेटमै गोल गरेर सुरुआती अग्रता पनि लिएको थियो र थप दोस्रोपटक पनि अग्रता लिन सफल भयो ।
तर उदीयमान स्टार फुटबलर नेयमारले फेरि एकपटक लयमा पुनरागमन गरे । एक गोल गर्नुका साथै थप अर्को गोलमा साथ दिएर नेयमारले आफूलाई र आफ्नो टोलीलाई उत्कृष्टताको यात्रामा कायम राखे । डा.सिल्भा डोस सान्तोष लेईले दुई गोल गरेर नेयमारलाई राम्रो साथ दिए । ३८आँै मिनेटमा सान्तोषले खेललाई १–१ को स्थितिमा ल्याएका थिए भने होन्डुरसले दोस्रोपटक अग्रता लिएको तीन मिनेट पनि नबित्दै ५१आँै मिनेटमा नेयमारको पेनाल्टी गोलमा ब्राजिल दोस्रोपटक बराबरीमा आइपुग्यो । ५९आँै मिनेटमा नेयमारको पासलाई सदुपयोग गरी सान्तोषले निर्णायक गोल गरेका थिए । सन् १९८४ र १९८८ को ओलम्पिकमा रजतपदक तथा सन् १९९६ र २००८ को ओलम्पिकमा कांस्यपदक जित्नुबाहेक ब्राजिल बाँकी ओलम्पिक संस्करणमा पदकविहीन रहँदै आएको छ ।
शनिबार नै भएको अन्तिम क्वार्टरफाइनलमा दक्षिण कोरियाले बेलायतलाई टाइब्रेकरमा ६–५ ले हरायो । बेलायतको तर्फबाट अन्तिम पेनाल्टी प्रहार गरेका डयानिएल स्टुरिज गोल गर्न चुकेपछि महत्त्वपूर्ण अवसर पाएको दक्षिण कोरियाका लागि सुङ येङ कीले निर्णायक गोल गरेका थिए । यसअघि सुरुआती अग्रता लिन असफल भए पनि प्राप्त पेनाल्टी अवसर सदुपयोग गर्न नसक्नु नै बेलायतका लागि ठूलो कमजोरी रहयो । ३६आँै मिनेटमा पेनाल्टी प्रहार सदुपयोग गरी खेललाई १–१ को स्थितिमा ल्याइपुर्याएका एरोन रामसे दोस्रोपटक ४१आँै मिनेटमा प्राप्त पेनाल्टी अवसर सदुपयोग गर्न तम्सिए पनि सफल भएनन् । (एजेन्सी)
प्रतिक्रिया