मनमाया र मिसनलाई उपाधि

ताप्लेजुङ, १९ साउन । पूर्वाञ्चलस्तरीय कञ्चनजंघा च्यालेन्ज रनिङकप फुटबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको उपाधि मनमाया स्पोर्टिङ क्लब थुकिमाले जितेको छ । बिहीबार भानुजन उच्च माविको खेलमैदानमा भएको फाइनलमा बेलबारी फुटबल क्लब मोरङलाई २—१ गोलले पछि पार्दै मनमायाले उपाधि चुमेको हो । विजयी टिमका लागि प्रवेश कटुवाल तथा विशाल राईले गोल गरेका थिए ।
मनमायाका विशाल राईले प्रहार गरेको कर्नरकिक फर्काउने प्रयास गर्दा बेलबारीका विजय धिमालले गोलरक्षा गर्ने क्रममा आत्मघाती गोल गरे । १—१ गोलको बराबरी खेलेका दुवै टिमका लागि आत्मघाती गोल नै निर्णायक बन्यो । बेलबारीका राजु लिम्बुले दोस्रो हाफको १७औँ मिनेटमा गोल गरे पनि जितका लागि पर्याप्त हुन सकेन । पहिलो हाफअघिसम्म आकर्षक र रक्षात्मक खेल खेलेको बेलबारी दोस्रो हाफपछि भने लयमा फर्कन सकेन र पराजित भयो ।
विजेता मनमायाले नगद ५० हजार रुपियाँसहित रनिङकप, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता मोरङको बेलबारी फुटबल क्लबले नगद ३० हजार रुपियाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पुरुषतर्फका सर्वोत्कृष्ट खेलाडी बेलबारी फुटबल क्लबका राजु लिम्बु घोषित भए । मिडफिल्डरतर्फ मनमायाका प्रवेश कटुवाल, फरवार्ड र सर्वाधिक गोलकर्तामा मनमायाकै बाबु धिमाल, डिफेन्डरमा मनमायाका विजय धिमाल, उत्कृष्ट गोलरक्षकमा बेलबारीका किशोर गिरी घोषित भए ।
यसैगरी प्रतियोगिताको महिलातर्फको उपाधि गृहटिम मिसन युनाइटेड युवा क्लब फुरुम्बुले हात पारेको छ । विजयी टिमका लागि खेलको ५१आँै मिनेटमा अनु बस्नेतले गरेको गोल नै निर्णायक बन्यो । स्वीकृति स्पोर्टिङ क्लब
झापा–११ लाई गृहमैदानमा उपविजेतामा सीमित गरेको मिसन युनाईेडले नगद २५ हजार रुपियाँ, कप, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता झापा–११ ले नगद १५ हजार रुपियाँ, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ । महिलातर्फ सर्वाधिक गोलकर्ता मिसन युनाइटेडकी पवित्रा राई र अनु बस्नेत घोषित भए । महिलातर्फका उत्कृष्ट खेलाडी भने स्वीकृति स्पोर्टिङ क्लब झापाकी मनमाया लिम्बु घोषित भइन् ।
यसअघि बिहीबार नै भएको प्रदर्शन खेलमा टयाक्सी व्यवसायी संघ ताप्लेजुङले उद्योग वाणिज्य संघ ताप्लेजुङको टिमलाई १–० ले पाखा लगायो र खसी उपहार हात पार्न सफल भयो । यस वर्ष प्रतियोगिताको मुख्य प्रायोजन सानमिगेल बियर तथा सह–प्रायोजन रुचि तयारी चाउचाउले गरेका थिए ।

प्रतिक्रिया