हिमाल बने पुष्पलाल चेस विजेता

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन काउन्सिल नेपालद्वारा आयोजित पुष्पलाल स्मृति अन्तरकलेज चेस च्याम्पियनसिपको उपाधि अन्नपूर्ण उमाविका हिमाल लामाले जितेका छन् । स्विस लिग नौ चरणको खेलमा उनले ७ जित र २ बराबरी खेली ८ अंक प्राप्त गरेका थिए । उनले आठौँ खेलमा टाइम्स कलेजका विवेक लामा र नवौँ खेलमा सिबिएम कलेजका सुशील चौधरीसित बराबरी खेलेका थिए । उपाधिसँगै हिमालले १८ हजार रुपियाँ पुरस्कार पाए । त्यसैगरी, महेन्द्ररत्न क्याम्पसका श्यामबाबु शाह ७ दशमलव पाँच अंकका साथ दोस्रा भए । श्यामले आठौँ खेलमा एडभान्स इन्जिनियरिङ कलेजका सुरज कर्माचार्य र नवौँमा क्याथफोर्ड कलेजका सूर्यसन प्रजापतिलाई हराएका थिए । उनले १२ हजार रुपियाँ पुरस्कार पाए ।
नेपाल कमर्स क्याम्पस, मीनभवनमा सञ्चालित खेलमा टाइम्स कलेजका विवेक लामा ७ अंक ३८ दशमलव पाँच प्रोग्रेसिभका साथ तेस्रो भए । उनले नवौँ खेलमा पाटन संयुक्त क्याम्पसका सजिन महर्जनसित बराबरी गरे । उनले ७ हजार रुपियाँ पाए । समान ७ अंक भए पनि टाइब्रेकरमा सजिन चौथौ, नेपाल ल क्याम्पसका कुन्दन मिश्र पाँचौँ, काठमाडौं इन्जिनियरिङ कलेजका सुसान मुनिकार छैटौँ र त्रिचन्द्र क्याम्पसका विक्रमध्वज श्रेष्ठ सातौँ स्थानमा रहे । चारदिने प्रतियोगितामा ६ दशमलव पाँच अंकका साथ जनमैत्री क्याम्पसका रूपेश शिवाकोटी आठौँ, सुशील नवौँ र गोल्डेनगेट कलेजका प्रशान भासिमा दसौँ हुन सफल भए । विजयी तथा सहभागी खेलाडीलाई विघटित संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले पुरस्कार वितरण गरेका थिए । (सौस)

प्रतिक्रिया