मिथिलामा फूलको महत्त्व

मिथिलाञ्चलमा फूलबारीको सौन्दर्य र महत्त्व संसारप्रसिद्ध छ । सम्पूर्ण मिथिलाञ्चलको गाउँ–गाउँमा फूलबारीको अवस्थिति अवलोकनीय र अवर्णनीय मानिन्छ । फूलबारी हेर्नासाथ प्रकृतिको अनुपम एवं अलौकिक नैसर्गिक सौन्दर्यानुभूति हुन्छ । मिथिलाञ्चलका केही उल्लेखनीय फूलबारी सर्वविदित छन् । जस्तो, जनकपुरको मणिमण्डप र तिरहुतिया गाछी, सिरहा जिल्लामा अवस्थित सलहेस फूलबारी आदि । यस ऐतिहासिक, धार्मिक र पौराणिक फूलबारीबाहेक गाउँ–गाउँमा लगाइएका फूलबारी लोभलाग्दो व्यक्तिगत फूलबारी, इमली आदि फलहरूको फूलबारी अत्यन्त लोकप्रिय र उपयोगी मानिन्छ । आँपको फूलबारी धेरै उपयोगी भएकाले यस किसिमका फूलबारीको महत्त्व बढी मानिन्छ ।
जनकपुरको फूलबारीको वर्णन महाकवि तुलसीदास रचित मानसमा पनि छ । यसै फूलबारीमा मर्यादा पुरुषोत्तम रामचन्द्र र जगतजननी जानकीको प्रथम मिलन भएको उल्लेख पाइन्छ । फूल टिपेर जानकी आफ्ना सखी सहेलीसँग आफ्नी इष्टदेवी गिरिजाको पूजाआजा गर्थिन् । किनभने फूलबारीमा फूल र फलहरूको प्रधान्य पाइन्छ । विशेष गरेर फूलहरूको प्रयोग देवी–देवताको आराधनामा गर्ने गरिन्छ र अतिथिहरूको स्वागत सत्कारमा पनि । सलहेस एउटा धेरै ठूलो पुरातात्त्विक फूलबारी हो । यो पुरातात्त्विक मात्र होइन, ऐतिहासिक, धार्मिक र पौराणिक फूलबारी पनि हो । यसलाई नेपालको महत्त्वपूर्ण गौरव मानिन्छ तर दु:खद् कुरो के हुनगएको छ भने पुरातात्त्विक दृष्टिकोणले यसको अध्ययन एवं अनुसन्धान अहिलेसम्म भएको छैन । यस्तो किसिमको पुरातात्त्विक र पौराणिक फूलबारी एकमात्र लुम्बिनीमा अवस्थित थियो तर दुर्भाग्यको कुरो त्यो फूलबारी पनि अहिले अस्तित्वमा छैन । जबकि लुम्बिनीको विकासका लागि विदेशी मुद्राको वर्षा वर्षभरि नै भइरहन्छ । यस्तै, ऐतिहासिक फूलबारी कर्नाटवंशीय राजाहरूको प्राचीन राजधानी सिम्रौनगढमा पनि थियो तर आज त्यो पनि अस्तित्वविहीन भइसकेको छ ।
जे–जति पुरातात्त्विक फूलबारी थिए ती सबै विलीन भइसकेका छन् र नयाँ किसिमको कुनै यस्तो फूलबारी लगाइएको छैन । यस सन्दर्भमा सलहेस फूलबारीको अस्तित्व सुरक्षित रहेकोलाई सराहनीय कार्य मान्न सकिन्छ । यस फूलबारीतिर राजनीतिक नेताहरूको दृष्टि नगएकाले नै यो आजसम्म सुरक्षित रहेको पाइन्छ । यदि नेताहरूको गिद्देदृष्टिमा परेको भए यसको अस्तित्व पनि मटियामेट भइसकेको हुन्थ्यो । यस अर्थमा यो फूलबारीलाई भाग्यमानी मानिएको छ । यसलाई राजा फूलबारी पनि भनिन्छ । यसको परिसर लगभग २५ विघामा फैलिएको छ । यो गोलाकार छ । यस फूलबारीमा खिल्ने फुल र रुखको पहिचान अहिलेसम्म भएको छैन । रुखहरूको पहिचान गर्नका लागि ठूल–ठूला आयुर्वेद विज्ञानका ज्ञाताहरूले फूलबारी निरीक्षण गरे पनि कुनै ठोस निष्कर्षमा पुग्नसकेका छैनन् । जडीबुटीप्रधान पेडहरू अहिलेसम्म पहिचानविहीन छन् । यिनीहरूको अनुमान के छ भने यी रुखहरू छ सयदेखि नौ सय वर्ष पुरानो हुन सक्छन् । यस फूलबारीको प्राकृतिक सौन्दर्य नमुनायोग्य छ किनभने यसको हरियाली अरु फूलबारीभन्दा बढी हरियो देखिन्छ । फूलबारी परिसरमा पानीको मुहान पाइन्छ । पानीको यस मुहानलाई नियन्त्रित गरियो भने यसबाट वरिपरिका १०, १२ वटा गाविसमा सिंचाइको सुविधा प्रदान गर्न सकिन्छ । यस फूलबारी अवस्थित सिमसार क्षेत्रभित्र पर्दछ । तर यो महत्त्वपूर्ण फूलबारी अझसम्म उपेक्षित र अपहेलित छ सबै दृष्टिकोणबाट । राजा कुलेश्वरसिंहले जमानामा यसको संरक्षण र सम्वद्र्धन गराएका थिए । यस फूलबारीको हेरचाह स्वयं राजा सलहेस गर्ने गर्दथे । यस फूलबारीलाई कुस्ती खेल्ने अखाडाका रूपमा पनि प्रयोग गर्ने गर्दथे र यसको नामकरण गरिएको थियो सिलहट अखडा जुन अहिले पनि विद्यमान छ । पूर्वसांसद एवं संस्कृतिविज्ञ नथुनीसिंह दनुवारको कथनअनुसार जुडशीतल पर्वको पावन अवसर अर्थात् वैशाख १ गते नयाँ वर्षको उपलक्ष्यमा यस फूलबारीमा ठूलो मेला लाग्दछ । पूजाआजाको विधिविधानअनुसार फूल, अक्षता, चन्दन, धूप, दीप, दूध, पान, सुपारी प्रसादस्वरूप प्रदान गरिन्छ । यहाँ वली दिने प्रथा पनि अहिलेसम्म विद्यमान छ ।
सलहेस फूलबारीको मध्यभागमा दुईवटा गहबर (देवताको मन्दिर)को निर्माण गरिएको छ । पहिलो गहबर सलहेस महाराजको हो भने दोस्रो मालनीको । यी गहबरमा महाराज सलहेस र मालनीको भव्य मूर्ती स्थापना गरिएको छ । यसबाट यसको पूरातात्त्विक, ऐतिहासिक र धार्मिक महत्त्व प्रमाणित हुन्छ । यो एउटा सांस्कृतिक सम्पदाको रूपमा आजसम्म सुरक्षित छ । एउटा पुजारी पनि नियुक्त गरिएको छ जसले नियमित पूजाआजा गर्ने गर्दछन् । वर्तमान समयमा यसको ऐतिहासिक महत्त्वभन्दा धार्मिक महत्त्व बढ्दै गएको छ । लोकनायक सलहेस दुसाध (पासवान) जातिको इष्टदेवता या लोकदेवताको रूपमा पुजित सम्मानित रहँदै आएका छन् । स्थानीय वासिन्दाका अनुसार लोकनायक सलहेस प्रतिदिन मानिक दहमा नुहाएर सलहेस फूलबारीमा फूल टिपेर र महिसौथास्थित राजमाता र कमलामाईको पूजाआजा गर्ने गर्दथे । राजा फूलबारीमा अवस्थित गहवर नजिकैको रुख जसलाई ‘हरम’ नाम दिइएको छ र यसको एउटा हाँगामा प्रत्येक वर्ष चैत मसान्तको दिनमा एक दिनका लागि मात्र एउटा फूल मालाको आकारमा फुल्दछ र भोलिपल्ट ओइलिएर जान्छ । यसको रहस्य अहिलेसम्म उद्घाटित भएको छैन तर जनजिब्रोमा के विश्वास जीवित छ भने ‘दोना’ मालिन आफ्नो चिरन्तन र चिरशाश्वत प्रेमी सलहेसको बाहुपाशमा आवद्ध भएर आफ्नो अमर प्रेमलाई प्रकट गर्ने गर्छिन् । यो रोमाञ्चक घटना विगत छैठौं शताब्दीदेखि नियमित र निश्चित तिथिमितिमा घटित हुँदै आएको छ । अत: सलहेस फूलबारीलाई प्रेमी प्रेमिकाको मिलनकेन्द्रका रूपमा प्रचारित गर्न सकिन्छ । यो आन्तरिक पर्यटनको केन्द्रका रूपमा विकसित हुनसक्छ । सलहेस फूलबारी, माणिकदह, कमलदह, महिसौथागढ आदि ऐतिहासिक, परातात्त्विक, धार्मिक र पौराणिकस्थललाई एउटा पर्यटकीयस्थलका रूपमा विकसित गरेर देशको आन्तरिक पर्यटनलाई प्रचारप्रसार र प्रवद्र्धन गर्ने धेरै सम्भावना छ ।

प्रतिक्रिया