पन्ध्र वर्षीया लिथुआनियन पौडीबाजले रचिन् इतिहास

लन्डन, १७ साउन । एक सय मिटर महिला ब्रेस्टस्ट्रोकमा स्वर्ण पदक जितेर १५ वर्षीया किशोरी रुता मैलुटाइटले ओलम्पिक खेलकुदमा लिथुआनियाको स्वर्णविहीन यात्रा तोडेकी छन् । विश्वकै सबैभन्दा ठूलो खेल महोत्सवमा राष्ट्रका लागि इतिहास रच्ने क्रममा मैलुटाइटले स्वर्ण प्रत्यासी अमेरिकी रेबेका सोनीलाई पछि पारेकी हुन् ।
सुरुआतदेखि नै अग्रता कायम गरेकी मैलुटाइटले सोनीलाई ०.०८ सेकेन्डले पछि पारेकी थिइन् । यसमा जापानकी सातोमी सुजुकीले कास्य पदक जितिन् । साविक विजेता अस्ट्रेलियन लैसेल जोनेस भने पाँचौँ स्थानमा रहिन् । ‘मैले विश्वास नै गर्न सकिरहेकी छैन ।’ स्वर्ण जितेपछि खुसी हँुदै मैलुटाइटले भनिन्, ‘मेरा लागि यो धेरै हो ।’
मैलुटाइटले हिट तथा सेमिफाइनलमा पनि विश्वच्याम्पियन तथा बेइजिङ ओलम्पिककी रजत पदक विजेता सोनीलाई पछि पारेकी थिइन् । यस क्रममा उनले समयको सन्दर्भमा युरोपियन कीर्तिमान पनि कायम गरिन् ।
१ मिनेट ०५.४५ सेकेन्ड समयका साथ मेलुटाइटले स्वर्ण पदक जितेकी हुन् । जारी लन्डन ओलम्पिक खेलकुदमा लिथुआनियाको यो पहिलो पदक हो । तीन वर्षअघि बेलायत प्रवेश गरेकी उनलाई इंग्लिस प्रशिक्षक जोन रुडले प्रशिक्षण गरेका थिए । उनी अहिले बेलायतकै प्लेमाउथ कलेजमा पढ्दै छिन् ।
‘मलाई लागेको थिएन उनी यति चाँडो पौडिन सक्छिन् भनेर,’ रुडले भने । मेलुटाइट फ्रिस्टाइलरका रूपमा परिचित थिइन् । मेलुटाइट ५० र १ सय मिटर फ्रिस्टाइलमा पनि प्रतिस्पर्धा गर्दै छिन्, जारी ओलम्पिक खेलकुदमा ।
यसले जारी ओलम्पिक खेलकुदमा पौडीतर्फ अप्रत्याशित नतिजा निस्कने क्रम जारी रह्यो । खासगरी अमेरिकाले लगातार चोट बेहोरिरहेको छ भने चीनले सोच्दै नसोचेको सफलता हात पारिरहेको छ । दुई दिनअघि मात्र १६ वर्षीय चिनियाँ किशोरी यी सिवेनले चार सय मिटर इन्डिभिजुअल मेड्लेमा विश्व कीर्तिमानी समयका साथ स्वर्ण पदक जितेकी थिइन् । पौडीमा पुरुषतर्फ कोरियाले पनि स्वर्ण पदक जितिसकेको छ ।
पछिल्लो ओलम्पिकको स्वर्ण विजेता तथा दुई पटकको विश्व च्याम्पियन रेबिका सोनीको हारले अमेरिकी वित्तमा ठूलो धक्का लागेको छ । सोमबार नै भएको २ सय मिटर फ्रिस्टाइल स्पर्धामा र्‍यानलोक्टे पनि पदक विहीन भए ।
खासगरी पौडीमा अमेरिकाको वर्चस्व रहने गरेको थियो, पछिल्ला ओलम्पिक खेलकुद संस्करणमा । अमेरिकाका माइकल फेल्प्स र मिसी फ्रान्कलिन सातवटा इभेन्टमा प्रतिस्पर्धा गर्दै छन् । १७ वर्षीय मिसीले एक सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितिसकेकी छन् । एक सयगुणा चार मिटर रिलेमा पनि उनले कास्य पदक जितेकी छन् । अपेक्षित प्रदर्शन गर्न नसकिरहेका फेल्प्सले दुई इभेन्टमा प्रतिस्पर्धा गर्ने क्रममा एक रजत पदक जितिसकेका छन् ।
सिवेनलाई सफाइ
लन्डन ओलम्पिकमा सनसनीपूर्ण नतिजा निकालेपछि चिनियाँ स्विमर यी सिवेनमाथि गरिएको डोपिङ परीक्षणमा यी १६ वर्षीय किशोरी निर्दोष पाइएकी छन् । चार सय मिटर इन्डिभिजुअल मेड्लेमा विश्व कीर्तिमानी समयका साथ स्वर्ण पदक जितेलगत्तै सिवेनमाथि विभिन्न देशका प्रतिद्वन्द्वी तथा प्रशिक्षकले आशंका व्यक्त गरेपछि उनी डोपिङ परीक्षणको घेरामा परेकी थिइन् ।
अस्ट्रेलियन स्विमर स्टेफानी राइसको नाममा रहेको कीर्तिमान तोड्ने क्रममा सिवेनले अन्तिम ५० मिटर पुरुष स्पर्धामा पहिलो भएका अमेरिकन लोच्टेभन्दा चाँडो पौडिएकी थिइन् ।
बेलायती ओलम्पिक कमिटी प्रमुख लर्ड मोनिहानले सिवेन डोपिङ परीक्षणमा ‘सफा’ भेटिएको र आफ्नो क्षमता प्रदर्शनबापत उनले प्राप्त गरेको पदक राख्न सक्ने बताए । विश्व पौडी प्रशिक्षक संघका कार्यकारी निर्देशक जोन लिओनार्डले सिवेनको प्रदर्शन ‘अविश्वसनीय’ रहेको बताए । यता सिवेनले आफूहरूमा डोपिङबारे कुनै समस्या नरहेको बताइन् । ‘चिनियाँ टोलीले नीति नै बनाएको छ । त्यसैले हामीमा डोपिङ समस्या हुँदैन र हुन सक्तैन,’ सिवेनले भनिन् । यता मोनिहानले वल्र्ड एन्टी डोपिङ एजेन्सी (वाडा) हरेक खेलको सबैभन्दा माथि रहेको बताए, ‘सिवेन पनि वाडाको कार्यक्रममार्फत आएकी हुन्, यसमा उनले सफाइ पाएकी छिन् ।’

ऐतिहासिक क्षण
बेलायतले एक सय वर्षयता पहिलोपटक पुरुष जिम्न्यास्टिकको टिम इभेन्टमा पदक जितेको छ । जारी लन्डन ओलम्पिकमा बेलायती पुरुष टोलीले जिम्न्यास्टिक टिम इभेन्टमा कास्य पदक जित्यो । यसमा जापानले रजत पदक जित्यो । ‘आशा नै नगरिएको उपलब्धि प्राप्त भयो,’ बेलायती खेलकुदका कार्यकारी प्रमुख लिज निकोलले भनिन् । एजेन्सी

बेलायती राजकुमारीले जितिन् रजत पदक
एजेन्सी
लन्डन, १७ साउन । बेलायती राजकुमारी जारा फिलिप्सले जारी लन्डन ओलम्पिक खेलकुद प्रतियोगितामा रजत पदक जितेकी छन् । बेलायती महारानी एलिजावेथ द्वितीयकी छोरीतर्फकी नातिनी जाराले इक्वेस्ट्रियनतर्फ जम्पिङ टिम इभेन्टमा बेलायती सहकर्मीसँग मिलेर रजत पदक हासिल गरेकी हुन् ।
आफ्नो घोडा हाइकिङका साथ दौडिएकी जाराले राखिएको ‘हडल्र्स’मा ठोक्किएपछि सात प्वाइन्ट गुमाएकी थिइन् । तर, उनको टिमको अन्तिम साथी टिना कुकले स्थिति सम्हालेर टोलीलाई रजत पदक दिलाएकी हुन् । ३१ वर्षीय जाराका लागि यो पहिलो ओलम्पिक पदक हो । आफ्नो घोडा ‘टोएटाउन’ घाइते भएपछि पछिल्ला दुई ओलम्पिक खेलकुद एथेन्स र बेइजिङ संस्करण उनले गुमाएकी थिइन् । सन् २००६ को बिबिसी स्पोर्टस पर्सनालिटी अफ दि इयर जाराले टोएटाउन ‘रिटायर्ड’ भएपछि लन्डन ओलम्पिक खेलकुदमा सहभागी हुन सक्ने/नसक्नेमा आशंका उत्पन्न भएको थियो ।
जाराको यस सफलताले ओलम्पिकमा बेलायती राजपरिवारको गौरवशाली उपस्थितिलाई नवीकरण गरेको छ । सन् १९७६ को ओलम्पिक खेलकुदमा जाराकी आमा एनाले सो जम्पिङ इभेन्टमा नै सहभागिता जनाएकी थिइन् । जाराका बुबा मार्क फिलिप्स पनि पूर्वओलम्पियन र ओलम्पिक पदक विजेता हुन् । उनले सन् १९७२ को म्युनिक ओलम्पिक संस्करणमा इक्वेस्ट्रियनको राइडिङ इभेन्टमा स्वर्ण पदक जितेका थिए ।
रंगभेदी आरोपमा अर्का खेलाडी हटाइए
लन्डन : ट्वीटरमार्फत रंगभेदी व्यवहार गरेको भन्दै स्विजरल्यान्डको ओलम्पिक फुटबल टोलीबाट डिफेन्डर मिचेल मोर्गानेला हटाइएका छन् । दक्षिण कोरियाविरुद्ध आइतबार राति स्विजरल्यान्डले बेहोरेको २–१ को हारपछि मोर्गानेलाले ट्वीटरमा रंगभेद झल्कने शब्द पोस्ट गरेका थिए । ‘टोलीको खराब नतिजापछि मैले आवेगमा आएर ठूलो गल्ती गरेँ,’ ओलम्पिक फुटबल टिमले नै हटाएपछि २३ वर्षीय डिफेन्डर मोर्गानेलाले भने, ‘म दक्षिण कोरिया र उसको टिमसँग माफी माग्न चाहन्छु । त्यसैगरी, स्विस प्रतिनिधिमण्डलसँग पनि माफी माग्न चाहन्छु ।’ सामाजिक सञ्जाल
(फेसबुक, ट्वीटर) मा रंगभेदी व्यवहार झल्कने शब्द प्रयोग गरेको अभियोगमा ओलम्पिक खेलकुदबाट हटाइएको यो पहिलो घटना भने होइन । केही साताअघि यस्तै अभियोगमा ग्रिसले ट्रिपल जम्पर पारास्केभी पापाक्रिस्टौलाई ओलम्पिक टोलीबाट हटाएको थियो । ओलम्पिकमा पहिलोपटक छनोट हुने क्रममा लन्डन ओलम्पिकमा सहभागी हुने तय भएकी पापाक्रिस्टौले ओलम्पिक टोलीबाट हटाइएपछि सार्वजनिकरूपमा माफी मागेकी थिइन् ।
स्विजरल्यान्डका ओलम्पिक फुटबल प्रशिक्षक जिआन गिलीले मोर्गानेलालाई टोलीबाट निष्काशन गरिसकिएको जानकारी दिए । ‘उस (मोर्गानेला) ले भेदभाव गर्‍यो, हेप्यो र दक्षिण कोरिया फुटबल टिमको सम्मानमा आँच पुर्‍याउने काम गर्‍यो,’ गिलीले भने । मोर्गानेला इटालियन क्लब पालेर्मोका लागि खेल्दै आएका छन् ।

हान्ककलाई स्वर्ण
सुटिङको मेन स्टिकको १ सय २५ मिटर टार्गेटमा अमेरिकाका भिन्सेन्ट हान्ककले स्वर्ण पदक जितेका छन् । उनले १ सय ४८ स्कोर गरे । उक्त स्पर्धामा डेनमार्कका आन्द्रेस गोल्डिङले १ सय ४६ स्कोर गर्दै रजत पदक जिते । कतारका नासेर अल अतायले १ सय ४४ स्कोर गर्दै कास्य पदक जिते । अमेरिकाले यो ओलम्पिकमा हालसम्म पौडी र सुटिङमा मात्र स्वर्ण पदक जितेको छ । सुटिङमा यो अमेरिकाको दोस्रो स्वर्ण पदक हो । (एजेन्सी)

प्रतिक्रिया