चार परियोजना अघि बढाउँदै टेलिकम

काठमाडौं, १७ साउन । नेपाल टेलिकमले चालु आर्थिक वर्ष ०६९/७० मा चारवटा महत्त्वकांक्षी परियोजना अघिबढाउने बताएको छ । टेलिकमले मंगलबार पत्रकार सम्मेलन गरेर आफ्नो योजना सार्वजनिक गरेको हो ।
कार्यक्रममा टेलिकम प्रवक्ता सुरेन्द्र थिकेले चालु आवमा २० लाख क्षमताको आइपी सिडिएमए, एक करोड लाइन क्षमताको जिएसएम मोबाइल, नेक्स्ट जेनेरेसन नेटवर्क (एनजिएन) प्रविधिको टेलिफोन र ३५ जिल्लामा वाइम्याक्स प्रविधिको ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तारलाई प्राथमिकता दिने बताए । यो आवमा आइपी बेस्ड प्रविधिमा आधारित एनजिएन, वाइम्याक्स, आइपी सिडिएमए र भिडियोसहितको गुणस्तरीय दूरसञ्चार सेवामा जोड दिइने उनले जानकारी दिए ।
२० लाख लाइन क्षमताको आइपी सिडिएमए प्रविधिको सेवा वितरण सुरु गर्ने, एक करोड लाइन जिएसएम विस्तार गर्ने योजनाअनुसार ४८ लाख लाइन खरिदको सम्झौता भइसकेको र बाँकी ५२ लाख लाइन खरिदको सम्झौता गरी जिएसएम सेवा विस्तार गर्नेलगायतका योजना टेलिकमका छन् ।
मुलुकको विकट क्षेत्रमा रहेका गाविस तथा सहरी क्षेत्रमा पनि ब्रोडब्यान्ड नेटवर्क विस्तारका लागि वाइम्याक्स सेवा आगामी सेप्टेम्बरबाट सुरु गर्ने येजना रहेको प्रवक्त थिकेले बताए । चालु आवमा कुल १५ लाख ५१ हजार लाइन टेलिफोन विस्तार गर्ने योजना टेलिकमको छ । पिएसटिएन प्रणालीका ३४ हजार ४६९ लाइन टेलिफोन वितरण गर्ने लक्ष्य टेलिकमको छ । पछिल्ला केही वर्षमा ल्यान्डलाइन टेलिफोनको विस्तार निकै सुस्त गतिमा छ । जिएसएममा गुम्न थालेको आफ्नो बजार स्थापित गर्ने येजना टेलिकमको छ । चालु आवमा सात लाख ८८ हजार लाइन जिएसएम टेलिफोन वितरण गर्ने लक्ष्य लिइएको थिकेले बताए । मोबाइल सेवाप्रति ग्राहकको बढ्दो रुचिलाई ध्यानमा राखी मुलुकभरि थप सेवा उपलब्ध गराउन उपकरणको व्यवस्था गर्ने, बिटिएस थप्ने र गुणस्तर वृद्धि गर्दै सेवा सुविधा थप्ने टेलिकमको छ ।
सभा–सम्मेलन, प्रदर्शनी आदि आयोजनास्थलमा अनपेक्षित उपस्थिति भई सिर्जना हुने ट्राफिक व्यवस्थित गर्न गत आवमा तीनवटा भेइकल माउन्टेड बिटिएसको व्यवस्था गरिएको र चालु आवमा थप १० वटा खरिद गर्ने कार्यक्रम रहेको कम्पनीले बताएको छ ।
चालु आवमा सिडिएमए प्रविधिका सात लाख २९ हजार लाइन टेलिफोन विस्तार गर्ने लक्ष्य टेलिकमको छ । आइपी सिडिएमए टेलिफोन विस्तारबाट ग्रामीण क्षेत्रमा ब्रोडव्यान्ड सेवाको पहुँच स्थापित गर्न सहयोग पुग्ने विश्वास कम्पनीको छ । यो थ्रिजी सिडिएमए हो । डाटा सेवाको बढ्दो माग सम्बोधन गर्न सेट निर्माता कम्पनीसँग सहकार्य गरी ई–भिडियो चल्ने सेटको व्यवस्था गर्ने कार्य अगाडि बढाइने कम्पनीले जनाएको छ ।
सरकारको नीतिअनुरूप पहिलो चरणमा ३५ जिल्लाका करिब एक हजार आठ सय गाविसमा वायरलेस ब्रोडब्यान्ड सेवाको पहँुच स्थापित गर्न दुई लाख क्षमताको वाइम्याक्स आयोजना कार्यान्वयन चरणमा रहेको कम्पनीले बताएको छ ।
चालु आवका लागि ६२ अर्ब ३६ करोड १६ लाख १० हजार रुपियाँको बजेट तर्जुमा गरिएको टेलिकम प्रवक्ता थिकेले जनाकारी दिए । यो हालै जारी भएको मुलुकको एक तृतीयांश बजेटेको ३० प्रतिशत हो । कुल बजेटमध्ये विभिन्न आयोजना सञ्चालन गर्न १५ अर्ब ११ करोड चार लाख ८६ हजार रुपियाँ विनियोजन गरिएको उनले बताए । चालु आवमा कम्पनीले ३६ अर्ब ८१ लाख ५८ हजार रुपियाँ आम्दानी गर्ने लक्ष्य निर्धारण गरेको छ जुन गत आवका तुलनामा ६.८४ प्रतिशतले बढी हो ।
गत आवमा १३ लाख १० हजार ६ सय ५३ लाइन टेलिफोन वितरण गरेको कम्पनीले जनाएको छ । ०६९ जेठ मसान्तसम्म कम्पनीका इन्टरनेट ग्राहक अधार करिब २० लाख १३ हजार छन् । आव ०६६/६७ मा कम्पनीको जम्मा आय २७ अर्ब २२ करोड रुपियाँ रहेकामा आव ०६७/६८ मा २९ अर्ब ८४ करोड ९१ लाख ६१ हजार रुपियाँ पुगेको थियो । आव ०६८/६९ मा ३३ अर्ब ७० करोड २६ लाख ५४ हजार रुपियाँ आम्दानी हुने संशोधित अनुमान छ । त्यस्तै चालु आवमा ३६ अर्ब ८१ लाख ५८ हजार रुपियाँ आय हुने प्रक्षेपण कम्पनीले गरेको छ ।
आव ०६७/६८ मा कम्पनीको कर पछिको मुनाफा १२ अर्ब १२ करोड २ लाख ९८ हजार रुपियाँ रहेकामा आव ०६८/६९ मा यो मुनाफा १२ अर्ब ५४ करोड २५ लाख ८६ हजार रुपियाँ हुने संशोधित अनुमान कम्पनीको छ । साथै चालु आवमा कर पछिको मुनाफा १२ अर्ब ५४ करोड ७० लाख १० हजार रुपियाँ नाफा हुने प्रक्षेपण कम्पनीले गरेको छ ।
गत आवमा कम्पनीले ६ अर्ब १७ करोड ५७ लाख ९७ हजार सातसय ५० रुपियाँ लाभांश, पाँच अर्ब १७ करोड ७८ लाख ६१८ रुपियाँ भ्याट, स्वामित्व शुल्क तथा दूरसञ्चार सेवा शुल्क र पाँच अर्ब ६६ करोड ९३ लाख ९७ हजार पाँच सय सात रुपियाँ आयकर बुझाएको छ । त्यस्तै एक अर्ब पाँच करोड ६३ लाख ८० हजार एक सय २४ रुपियाँ रोयल्टी बुझाएको छ । टेलिकमले गत आवमा कुल १८ अर्ब सात करोड ९३ लाख ७५ हजार नौ सय ९९ रुपियाँ सरकारलाई राजस्व बुझाएको छ । चालु आवमा १९ अर्ब ६ करोड १५ लाख १४ हजार बुझाउने प्रक्षेपण उसले गरेको छ । गत आवमा ५२ करोड रुपियाँ ग्रामीण दूरसञ्चार कोषमा बुझाएको छ ।

दूरसञ्चार प्राधिकरण अध्यक्षको राजीनामा

काठमाडौं : दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भेषराज कँडेलले राजीनामा दिएका छन् । अध्यक्ष कँडेलले बुधबारदेखि लागू हुनेगरी तालुकदार सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवसमक्ष राजीनामा दिएका हुन् ।
सरकारले अनावश्यक हस्तक्षेप गरेको र समयअनुकूल ऐन, नीति नियम परिवर्तन नगरेको भन्दै कँडेलले राजीनामा दिएको बताइएको छ । दूरसञ्चार क्षेत्रमा आवश्यक पर्ने सुधारका लागि प्राधिकरणले तयार बनाएर मन्त्रालयमा स्वीकृतिका लागि पठाएका धेरै फाइल स्वीकृत नभएकामा उनी सन्तुष्ट थिएनन् ।
०६५ मंसिरमा अध्यक्षमा नियुक्त भएका कँडेलेको पदावधि सकिन करिब सोह्र महिना बाँकी छ । राजनीतिक नियुक्ति हुने अध्यक्षको पदावधि पाँच वर्षको हुन्छ । यसअघिका सञ्चार मन्त्रीहरू शंकर पोखरेल, जयप्रकाशप्रसाद गुप्ता र राज्यमन्त्री सुरिताकुमारी शाहलगायतले पनि अध्यक्ष कँडेललाई हटाउन गरेको प्रयास सफल हुन सकेको थिएन ।
माओवादीलाई मात्र खुसी पार्न लागिपर्ने आरोप लाग्दै आएका कँडेलले अन्तिम समयमा आएर माओवादीकै कोपभाजनमा परेर राजीनामा दिनुपरेको स्रोतले बताएको छ ।

‘रणनीतिक साझेदार चाहिन्छ’
अमरनाथ सिंह
प्रबन्ध निर्देशक, टेलिकम
कम्पनीको आर्थिक स्वास्थ्य सबल बन्ने क्रममा छ । हालै जारी भएको मुलुकको बजेटको ३० प्रतिशत त टेलिकमको वार्षिक बजेट छ । जिएसएममा गुम्दै गएको बजार स्थापित गर्ने लक्ष्य छ । पावर सेक्टरमा तीन अर्ब रुपियाँ लगानी गर्ने योजना छ । पावरका कारण पनि गुणस्तरमा समस्या भइरहेको छ । निजी अपरेटर सबल रूपमा आएपछि सरकारी कमजोर भएको उदाहरण छिमेकी मुलुकमा पनि छ तर हामी त्यसो हुन दिँदैनाँै । स्वायत्त भनिए पनि सरकारीकै जस्तो कार्यप्रणाली छ । यसले गर्दा अवरोध भइरहेको छ । खासगरी सामान खरिद गर्ने कुरामा सरकारी नियम बाधक बनेको छ ।
तीन वर्ष अगाडि रणनीतिक साझेदारका लागी अर्थ मन्त्रालयमा पठाएको प्रस्ताव अझै अगाडि बढेको छैन । प्रधानमन्त्रीले गत वर्ष सार्वजनिक गरेको सुशासन नीतिमा पनि टेलिकममा रणनीतिक साझेदार भित्र्याउने कुरा उल्लेख छ तर प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

प्रतिक्रिया