भ्रष्टहरूलाई गणतन्त्रको उपहार

मानिस स्वभावैले सामाजिक प्राणी हो । मानिसको सुरक्षा, जीवनस्तरलगायत भौतिक, सामाजिक, आर्थिक र राजनीतिक रूपमा समाजको विकास गर्न विभिन्न मूल्य–मान्यता स्थापना भएका हुन् । समाजलाई अग्रगमनतर्फ लैजान आफैँले पहिले स्थापना गरेका कतिपय मूल्य–मान्यता हटाउन समाज तयार हुनुपर्छ । यदि यसो गरिएन भने पुरानो विचार र मान्यता राख्ने समाजले नयाँ विचार पचाउन र पत्याउन सक्दैन । समाज विकासका लागि नयाँ विचारलाई सहज रूपमा धारण गर्नसक्ने हुनुपर्छ । जो पुरानो विचारबाट ग्रस्त हुन्छ त्यस्तो व्यक्तिबाट समाजले अग्रगमनको बाटो समाउन सक्दैन । त्यसैले नयाँ विचार पचाउन युग र समयअनुसारका मान्छे नै चाहिन्छ ।
परिवर्तनका लागि लागेको भनिएका सबै नेताको दोहोरो चरित्र छ । जनताको अगाडि जति क्रान्तिकारी बने पनि, परिवर्तनका लागि लडेको भने पनि यथार्थमा त्यो देखिएन । मौका र अवसरका लागि मात्र क्रान्तिकारी बनेको देखियो । प्रजातन्त्रकालमा बद्नाम भएका नेताहरूलाई गणतन्त्र फाप्यो । जनताले व्यवस्थासँगै नेताको व्यवहार पनि फेरियोस् भन्ने चाहेका थिए । तर, नेताले दल फेरे, राजनीति गर्ने क्षेत्र फेरे तर व्यवहार फेरेनन् । हुँदा हँुदा कामचलाउ सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने प्रतिपक्षी दलका नेताहरूले अध्यादेशमार्फत ल्याइएको पूर्व विशिष्ट व्यक्तिलाई दिइएको सुविधा भने विना संकोच लिए । काठमाडौंमा आलिशान महल छ, साथमा गाडी छ, आर्थिक, सामाजिक सबै हिसाबले अन्य नागरिकभन्दा विशिष्ट छन् । उनीहरूले अझै गरिब नागरिकले तिरेको करबाट सुविधा लिनु कुन नीति, धर्म र नैतिकताले दिन्छ ? नागरिक समाज अनसन बसेपछि, जिल्ला जिल्लाबाट चन्दा उठाएर सुविधा बाँड्न पठाएपछि केही नेताले गाडी फिर्ता गरे र विज्ञप्ति निकाले “पाए अन्त नपाए लाटीको जन्त” यो नेताले गर्न सुहाउने व्यवहार हो ? यस्ता मौकावादी नेताहरूलाई जनताले चिन्नैपर्छ । सम्मान गर्नेले तिरस्कार गर्न पनि जान्नुपर्छ । एकपटक सम्मान गरेको व्यक्ति सधैँ सम्मानित नहुन पनि सक्छ । त्यसैले समाजले खराब आचरण भएका जोकोहीलाई पनि उनीहरूले गरेका दुष्कर्मका आधारमा तिरस्कार गर्नुपर्छ ।
प्रधानमन्त्रीको कार्यकाल पाँच वर्षको हुन्छ । तर, ००७ देखि आजसम्म कुनै पनि प्रधानमन्त्रीले पूरा कार्यकाल काम गर्न पाएका छैनन्् । ६, ६ महिनामा सरकार फरिएको अवस्था छ । यो छोटो समयमा धेरै अवसरवादी नेता विशिष्ट हुने मौका पाए । सोच्दै नसोचेको पदमा पुगेपछि यही हो मौका भन्दै सात पुस्तालाई पुग्ने सम्पति जोडे । पदीय मर्यादा बिर्सेर भ्रष्टाचार गरी अकूत सम्पति जोड्नेहरू समाजमा आफूलाई ठूलो मान्छे सम्झन्छन् । अदालतले भ्रष्टाचारी ठहर गरिसकेपछि पनि त्यही भ्रष्टाचार गरेर कमाएको रकम धरौटी राखी छुट्दै आफू चोखो भएको ठान्नेहरूलाई सामाजिक वहिष्कार गर्नुपर्छ । बनावटी रूपमा समाजमा आफूलाई वरिष्ठ भन्नेहरू यथार्थमा सिंगो राष्ट्र र समाजका दुश्मन हुन् । समाजको नजरमा दोषी ठहरिएकालाई समाजले नै वहिष्कार गर्ने हो भने त्यस्ता व्यक्ति समाजको नजरमा नांगिने छन् । तब मात्र परिवर्तनको प्रभाव गाउँ–गाउँ र टोल–टोलसम्म पुग्न सक्नेछ । हिजो एक जोर चप्पल लगाउन नसक्ने हाम्रा नेता भनाउँदाहरू राज्य र जनतालाई धोका दिँदै रातारात अर्बपति भएका छन् । जीवनभर असाध्यै राम्रा–राम्रा किताब लेखेर इतिहास नै बनाउने लेखकहरू हातमुख जोर्न धौ–धौ अवस्थामा छन् भने एउटा किताब लेखेर ३० लाख कमाएको विवरण देखाउने गोविन्दराज जोशी अझै पनि नेता नै छन् । चिरञ्जीवी वाग्ले, जयप्रकाश गुप्ता, गोविन्दराज जोशी अदालतले भ्रष्टाचारी भनेर डामेका व्यक्ति हुन् भने ०४६ देखि आजसम्म सार्वजनिक लाभको पदमा बस्ने केही अपवादबाहेक सबै भ्रष्ट छन् । नेतामात्र होइन, तिनका आसेपासेसमेत भ्रष्टाचारमा सक्रिय छन् । सुजाताका बंगलादेशी ज्वाइँ रुवेल चौधरी यसका ज्वलन्त उदाहरण हुन् । भीम रावलले गृहमन्त्रीबाट हट्दा गाडी फिर्ता गर्न मानेनन्, मधेसी नेताले सुविधाको गाडी फिर्ता गर्नुभन्दा खोलामा लगेर बगाउनेसम्मको धम्की दिए ।
वास्तवमा जनताको ठाउँसम्म परिवर्तनको प्रभाव नपुर्‍याउने तिनै सामन्ती सोच भएका भ्रष्ट नेता नै हुन् । जनआन्दोलन ०६२/६३ का दिन सम्झँदा लाग्छ, अब नागरिक साँच्चै सार्वभौम भए र राजा भनिएका ज्ञानेन्द्र नागरिक भए । गाउँ, समाज हुँदै टोलबाट शोषक सामन्तहरू समाप्त भए । पार्टीभित्रै भए पनि भ्रष्टाचार गर्नेहरूका दिन गए भन्ने उत्साह छाएको थियो । तर, परिवर्तनका लागि लडेका हौं भन्नेहरूले आयो र भयो भन्दै जनताबाट तिरस्कृतहरूको गुण जस्ताको तस्तै अनुशरण गरे । राजनीति गाउँ नै गाउँले भरिएको समाजलाई छाड्दै सहरमुखी भएको छ । गाउँलाई आधारभूमि बनाएर जनयुद्ध गरेको माओवादीका धरैजसो नेता अहिले सहरमा बंगला बनाउने, रक्तचन्दन, यार्सागुम्बा, जग्गा प्लटिङजस्ता व्यापारमा रमाएका छन् । भूमिगतकालमा लुटेको धन लुकाउनेहरू मालामाल भएको देख्दा आफूले सम्पत्ति नलुकाएकोमा गल्ती भएको ठान्दै पैसा कमाउने होडमा लागेका छन् । मासु र वियर नभई रात नजाने भयो । हिजो आफू भोकै बसी ढिँडो खुवाउने र नांगै बसी जे–जस्तो थियो त्यही ओढ्न दिनेहरू देख्दा घीन लाग्नथाल्यो । सहरमुखी राजनीति भनेको पैसा र उच्च वर्गको राजनीति हो र जसरी हुन्छ पैसा कमाउने वर्गीय हित छाडेर ऐश आरामसँग जीवन बिताउने । यसैमा त्यो वर्ग पनि रमाउन थाल्यो ।
पार्टीमा भ्रष्टाचारको विल्ला भिर्नेहरूलाई जबसम्म पार्टीभित्रका युवाशक्तिले कारबाही गर्दैनन् र नागरिक समाजले वहिष्कार गर्दैनन् तबसम्म तिनै भ्रष्टहरूले फेरि पार्टी फेर्छन्, क्षेत्र फेर्छन् र आफूहरू सुध्रिएको नाटक गर्छन् । जसरी जयप्रकाश गुप्ता, विजय गच्छदार, राजेन्द्र महतो आदिले गरे । जनतालाई कहिलेसम्म मूर्ख बनाउने अनि जनताको नाममा लुट्नेलाई यो वा त्यो दलको नेता मान्दै जाने हो भने किन आन्दोलन गर्नुपर्‍यो ? किन एउटालाई फालेर अर्कोलाई ल्याउनुपर्‍यो ? अहिले प्रतिपक्षी दलहरूले बाबुराम भट्टराईको सरकारलाई हटाउन आन्दोलनको आँधीवेहरी ल्याउने भन्दै छन् ।
बाबुराम इतिहासकै कलंकित प्रधानमन्त्री हुन् । यिनी जति दिन कुर्सीमा बस्छन् त्यति नै नेपालको अस्मिता लुटिँदैछ । त्यसैले यिनलाई जतिसक्दो छिटो सरकारबाट हटाउनुपर्छ तर उनीपछि आउनेलाई पनि जनताले विश्वास गर्ने ठाउँ कहाँ बाँकी छ र ? आफूलाई फाइदा हुने भए जे गरे पनि स्वीकार गर्ने होइन भने विरोध गर्ने नेताको दोहोरो चरित्रले गर्दा मुलुकले यो दुर्गती बेहोर्नुपर्‍यो । गणतन्त्र नेपालको पहिलो राष्ट्रपति रामवरण यादव आफैँ पदमा वहाल छन् । उनैले पूर्व भइनसक्दै आजीवन सुविधा पाउने व्यवस्था गर्नु जनताप्रतिको बेइमानी होइन र ? सरकारको विरोध गर्नेले पनि पूर्व विशिष्ट व्यक्तिले पाउने सुविधाका बारेमा आएको अध्यादेशको विरोध नगर्नु र सुविधा लिनुले यही पुष्टि गर्दैन र ?

प्रतिक्रिया