लुम्बिनीमा अन्तर्राष्ट्रिय कराते हुने

भैरहवा, १५ साउन । ‘शान्तिका लागि कराते’ भन्ने मूल नाराका साथ यसै वर्षको अन्त्यतिर शान्तिका प्रतीक गौतमबुद्धको जन्मथलो लुम्बिनीमा विश्वस्तरीय कराते च्याम्पियनसिप हुने भएको छ ।
नेपाल कराते महासंघको आयोजना तथा विश्व कराते महासंघको सुपरीवेक्षणमा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
प्रतियोगिता आयोजना तयारीअन्तर्गत शनिबार पश्चिमाञ्चल कराते महासंघको आयोजनामा प्रतियोगितास्थल निरीक्षण तथा परामर्श कार्यक्रम सम्पन्न भयो । निरीक्षण तथा परामर्शका लागि शनिबार लुम्बिनी आइपुगेका नेपाल राष्ट्रिय कराते महासंघका केन्द्रीय अध्यक्ष दाबा गुरुङले लुम्बिनीमा विश्वस्तरीय कराते प्रतियोगिता गर्ने तय भएको बताए ।
अध्यक्ष गुरुङले विश्वका झन्डै ४० देखि ७० देश सहभागी रहने उक्त प्रतियोगितामा खेलाडी, अफिसियल र प्रशिक्षक गरी झन्डै ७ सयजना विदेशी लुम्बिनीमा आउने जानकारी दिए ।
‘कराते लड्नका लागि मात्र नभएर शान्तिका लागि पनि हो । एकातिर वल्र्ड कराते च्याम्पियनसिप नेपालमा गरिनु आपैँmमा गौरवको कुरा हो भने अर्कोतिर शान्तिभूमि लुम्बिनीमा खेल हुनु झनै अर्थपूर्ण,’ अध्यक्ष गुरुङले भने । लुम्बिनीमा विश्व कराते च्याम्पियनसिप आयोजना गर्न पाउनु सम्पूर्ण लुम्बिनीवासीको गौरव भएको बताउँदै पश्चिमाञ्चल कराते महासंघका अध्यक्ष भरतबहादुर केसीले यसलाई भव्यरूपमा सफल बनाउन दिनरात खटिएर लाग्ने बताए । लुम्बिनी भ्रमण वर्ष–२०१२ चलिरहेको समयमा लुम्बिनीमा नै विश्व कराते प्रतियोगिता आयोजना हुने निर्णय हुनु सुखद भएको लुम्बिनीवासीको प्रतिक्रिया छ ।
स्थल निरीक्षण तथा परामर्शका लागि आएको टोलीले लुम्बिनीस्थित विहार तथा खेलाडी राख्ने व्यवस्था सम्बन्धमा पनि छलफल गरेको थियो । प्रतियोगितामा झन्डै सात करोड खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया