पुष्पलाल स्मृति बुद्धिचाल सुरु

काठमाडौं, १५ साउन । स्वतन्त्र विद्यार्थी युनियन काउन्सिल नेपालको आयोजनामा आइतबारदेखि पुष्पलाल स्मृति अन्तरक्याम्पस बुद्धिचाल सुरु भयो ।
पहिलो चरणको खेलमा पाटन संयुक्त क्याम्पसका सजिन महर्जन, टाइम्स कलेजका विवेक लामा, केइसी कलेजका क्षितिज भण्डारी, त्रिचन्द्र कलेजका कुबेर अधिकारी, त्रिभुवन विश्वविद्यालय क्याम्पसका बाबुराम पन्थी, गोल्डेनगेटका संगीता जैसवाल, पुल्चोक इन्जिनियरिङ क्याम्पसका आशिष आचार्य र ललितपुर नर्सिङ कलेजका सरु बस्नेत विजयी भए ।
यसैगरी, महेन्द्र रत्न क्याम्पसका श्यामबाबु शाह, काठमाडौं स्कुल अफ लका पारसमणि पोखरेल, मकवानपुर बहुमुखी क्याम्पसका देवेन्द्र सञ्जेल, सुर्खेत क्याम्पसका चन्द्रबहादुर खड्का, नाम्स कलेजका राजन दाहाल र ल क्याम्पसका कुन्दन मिश्रले सफलता प्राप्त गरेका छन् ।
स्ववियु काउन्सिल, नेपालका अध्यक्ष महेश बर्तौलाको सभापतित्वमा प्रमुख अतिथि नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनाल र अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलले संयुक्त रूपमा गोटी चाली प्रतियोगिता उद्घाटन गरे । ४८ वटा क्याम्पसबाट ९४ जना खेलाडीको सहभागिता रहेको सो प्रतियोगिताको कुल नगद पुरस्कार ५१ हजार रुपियाँ रहेको छ ।

प्रतिक्रिया