कोरियाको दुई कीर्तिमान

लन्डन, १३ साउन । आर्चरीमा शक्ति राष्ट्रका रूपमा चिनिएको दक्षिण कोरियाले लन्डन ओलम्पिक खेलकुदको पहिलो दिन शुक्रबार उक्त खेलमा दुइटा विश्व कीर्तिमान बनाएको छ । जारी प्रतियोगितामा यो नै पहिलो कीर्तिमान बन्यो ।
पुरुषतर्फको रैंकिङ चरणमा पूर्व विश्व नम्बर एक इम डङ–ह्युनले ७२ तिर प्रहार गर्ने क्रममा ६ सय ९९ अंक प्राप्त गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोडेका हुन् । यस अघि इमको नाममा ६ सय ९६ अंक जोडेको कीर्तिमान थियो । कुल ७ सय २० अंकमा उनले त्यती अंक प्राप्त गरेका हुन । गत वर्ष मात्र उनी विश्व नम्बर एकबाट तल झरेका थिए ।
उनले टिम इभेन्टमा पनि नयाँ कीर्तिमान बनाए । टिम इभेन्टमा उनले ओह– जिन–येक र किम बब–मीनसँग मिलेर खेलेका थिए । दक्षिण कोरियाले टिमा इभेन्टमा कुल २ हजार ८७ अंक जोड्यो । दक्षिण कोरियाले किर्तिमानमा १८ प्वाइन्टले सुधार गरेको हो । यता किमले पनि ६ सय ९८ अंक जोडेका थिए । तिरलाई पहेँलो घेरभित्र ठोक्काउन सके एउटा तिरबाट अधिकतम १० अंक प्राप्त हुन्छ ।
टिम इभेन्टमा स्वर्ण पदकको दाबेदार मानिएको अमेरिका भने फ्रान्स र चीनपछि रहँदै चौथो स्थानमा रह्यो । टिम इभेन्टमा अमेरिकालाई शीर्ष वरीयता प्राप्त छ ।

हटाइएपछि पश्चात्ताप
रंगभेदपूर्ण व्यवहार झल्कने शब्द ट्वीटरमा लेखेपछि ग्रिसको लन्डन ओलम्पिक टोलीबाट हटाइएकी ट्रिपल जम्पर भौला पापाक्रिस्टौले शुक्रबार सार्वजनिकरूपमा माफी मागेकी छन् । ‘म रातभर सुत्न सकिनँ । इमानदारपूर्वक भन्नुपर्दा के भयो भन्नेबारे म बुझ्न प्रयास गरिरहेकी छु । म शान्त भएर बसिरहेको अन्यथा मैले नियन्त्रण गुमाएर जेसुकै गर्न सक्थेँ ।’ पापाक्रिस्टौले भनेकी छन्, ‘धेरै वर्षको चोटबाट मुक्त हुँदै मैले पहिलो ओलम्पिक सहभागिताका लागि प्रयास गरेकी थिएँ र सफल पनि भएँ तर यतिबेला एकदम निरास छु ।’

श्रीमती ओबामा प्रभावित
अमेरिकी राष्ट्रपति बाराक ओबामाकी श्रीमती मिचेल ओबामा लन्डन ओलम्पिकमा राष्ट्रको डेलिगेसन प्रमुख भएर आएकी छन् । उनले शुक्रबार अमेरिकाको बास्केटबल टिमसँग भेट गर्दै आफू उक्त टोलीबाट प्रभावित भएको बताइन् ।
अमेरिकाबाट लन्डन ओलम्पिकमा सहभागी खेलाडीले श्रीमती ओबामाको उपस्थितिबाट आफूहरू थप बलियो भएको बताएका छन् । सन् २००८ को बेइजिङ ओलम्पिककी स्वर्ण पदक विजेता नास्टिया लुइकिनले ओबामासँग अँगालो मारेको फोटो खिचेर सामाजिक सञ्जालमा राखेकी छन् । श्रीमती ओबामाले अमेरिकाकै खेलाडीसँग टेनिस पनि खेलिन् । हुन त ओबामा खेलकुद पारिवारिक पृष्ठभूमि भएको परिवारकी सदस्य हुन् । उनका दाजुले क्रेगले प्रिन्सटनका लागि बास्केटबल खेल्ने गर्थे । एजेन्सी

फेल्प्स उद्घाटनमा सहभागी भएनन्
लन्डन : अघिल्ला तीन संस्करणमा भैँm कीर्तिमानी अमेरिकी पौडीवाज माइकल फेल्प्स शुक्रबार औपचारिक रूपमा सुरु भएको लन्डन ओलम्पिकको उद्घाटन मार्चपासमा सहभागी भएनन् ।
१४ वटा ओलम्पिक स्वर्ण पदक विजेता फेल्प्सले भोलिपल्ट बिहानै आफ्नो प्रतिस्प्र्धा रहेको बताउँदै आरामका लागि मार्चपासमा सहभागी नहुने निर्णय लिएका हुन् । उद्घाटन सकिएको केही घन्टाभित्रै फेल्प्सले ४ सय मिटरमा प्रतिस्पर्धा गर्ने कार्यक्रम थियो । उद्घाटनका क्रममा खेलाडी करिब ४ घनटा उभिएर त्यसपछि मार्चपास गर्नुपर्ने हुँदा थकित हुने फेल्प्सको स्पस्टोक्ति छ ।
उद्घाटनलगत्तै प्रतिस्पर्धा गर्ने फेल्प्सजस्तै अन्य धेरै खेलाडी उद्घाटन कार्यक्रममा सहभागी भएनन् । चाँडै प्रतिस्पर्धा रहेका कारण बेलायतको लन टेनिस टिम पनि उद्घाटन समारोहमा सहभागी भएन । (एजेन्सी)

प्रतिक्रिया