ओलम्पिक सपनामा सीमित

काठमाडौं, १३ साउन । ओलम्पिक खेलकुदमा प्रतिस्पर्धा गर्ने हरेक खेलाडीको इच्छा हुन्छ । भनिन्छ, कुनै पनि खेलाडीको अन्तिम इच्छा भनेको कम्तीमा एकपटक ओलम्पिकमा भाग लिनु हो । हुन पनि विश्वभरिका खेलाडीको उपस्थिति रहने यस प्रतियोगितामा भाग लिनु मात्र पनि खुसीको विषय हो ।
तर, सबै खेलाडीको सपना पूरा हँुदैन । नेपालको कुरा गर्ने हो भने, ओलम्पिक खेलकुदमा ४८ वर्षयता बक्सिङ, जुडो, सुटिङ, भारत्तोलन, पौडी, एथलेटिक्स र तेक्वान्दो गरी सात खेलमा मात्र नेपाल सहभागी भएको छ । यसमा तेक्वान्दोका दीपक विष्ट र संगिना वैद्यबाहेक सबै खेलाडी वाइल्ड कार्डमार्फत ओलम्पिक खेलकुदमा सहभागी भएका हुन् । यी खेलमा पनि थोरै मात्र नेपाली खेलाडीले ओलम्पिक खेल्ने इच्छा पूरा गरे ।
सम्बन्धित खेलमा लामो समय राष्ट्रकै नम्बर एक खेलाडी भए पनि नेपाली खेलाडीको ओलम्पिक खेल्ने सपना ‘सपनामै’ सीमित हुने गरेको छ । ओलम्पिक खेलकुदमा धेरै राष्ट्रका शीर्ष खेलाडी सहभागी हुन्छन् । यता उनीहरूको खेल टेलिभिजनमा हेरेर बस्नुको विकल्प हुन्न नेपाली शीर्ष खेलाडीलाई ।
नेपाली ब्याडमिन्टनका नम्बर एक पुरुष खेलाडी विकास श्रेष्ठ आफू राष्ट्रको शीर्ष खेलाडी भएकोमा कुनै गौरव नभएको बताउँछन् । ‘नेपाली खेलाडीको हैसियत सीमा पार गर्नेबित्तिकै थाहा हुन्छ,’ चार वर्षयता नेपाली ब्याडमिन्टनमा पुरुषतर्फ नम्बर एक यी खेलाडीले भने । उनको कथन छ, ‘आºनै देशका खेलाडीसँग भिडेर कहिल्यै विकास हुन्न ।’
अन्तर्राष्ट्रियस्तरमा नेपालको सहभागिता कम भएकोबारे लक्ष्य गर्दै उनले भने, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएपछि मात्र उपस्थिति बलियो हुन्छ, ओलम्पिकमा सहभागी हुने बाटो खुल्छ ।’ उनीसँगै सहमत छन् लन टेनिसका नेपाल नम्बर एक कुमार अधिकारी पनि । ‘हाम्रो त देशभित्रै थोरै मात्र प्रतियोगिता हुन्छ,’ २८ वर्षीय कुमार भन्छन्, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको ‘स्टान्डर्ड’ कमजोर छ । आफँैलाई लाज लाग्छ ।’
करिब डेढ दशकयता लन टेनिस खेलिरहेका कुमारले आफू अहिलेसम्म २ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र सहभागी भएको जानकारी दिए । ‘यस्तो स्थितिमा कसरी सम्भव हुन्छ हाम्रो ओलम्पिक सहभागिता ?’ कुमार प्रश्न गर्छन् ।
टेबल टेनिसका पूर्व नेपाल नम्बर एक तथा अहिले तेस्रो बरियता क्रममा रहेका शिवसुन्दर गोथेले ओलम्पिक खेल्ने तत्कालका लागि सपनासमेत देखेका छैनन् । ‘हामी दक्षिण एसियामै कमजोर छौँ,’ ०५२ सालदेखि टेबलटेनिस खेलिरहेका ३१ वर्षीय गोथे भन्छन्, ‘अन्तर्राष्ट्रिय सहभागिता शून्य र स्वदेशमै वर्षमा एक/दुईवटा प्रतियोगिता खेलेर को माथि उठ्न सक्छ ?’
अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण उपलब्ध नहुँदा वैदेशिक सहभागिता मात्रले केही नहुने यी तीनैजनाको बुझाइ छ । ‘पहिले प्रशिक्षण राम्रो हुनुपर्‍यो । यसका लागि प्रशिक्षण गर्न विदेश पठाउनुपर्‍यो । यहाँ त विदेशको मुख नै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाने क्रममा मात्र खेलाडीले देख्न पाउँछन्,’ तीनैजनाको एकमत छ, ‘राम्रो प्रशिक्षणका साथ धेरै अन्तर्राष्ट्रिय प्रति–योगितामा पठाइएन भने ओलम्पिक छनोट खेलाउनुको अर्थ रहन्न ।’
सरकारले खेल र खेलाडीलाई वास्ता नगरेको गोथेको आरोप छ । ‘कसरी अन्तर्राष्ट्रिय सफलता हात पार्न सकिन्छ भन्नेमा सरकारको ध्यानै गएको पाइँदैन,’ भक्तपुर निवासी गोथे भन्छन्, ‘यसमा सम्बन्धित संघ पनि सरकारको मुख ताकेर बस्छन् । आºनोतर्फबाट उनीहरूको सक्रियता नै देखिँदैन ।’
कुमार सरकार र सम्बन्धित निकाय वाइल्ड कार्डको मानसिकताबाट बाहिर निस्कन नसकेका कारण आफूहरूको यस्तो स्थिति भएको बताउँछन् । ‘खासमा भन्ने हो भने ओलम्पिक खेलकुदमा राज्य नै औपचारिकताका लागि मात्र सहभागी भइरहेको छ,’ कुमारको अनुभव छ । वास्तवमै ओलम्पिक खेलकुदमा नेपालले बढी खेलका लागि प्रयास गरेको पाइँदैन । खेलाडीकै शब्दमा सम्बन्धित संस्था वा निकाय सबै कुरा जानेर पनि लाचार बनेको छ । खेलाडीलाई देशको सीमाभित्र मात्र सीमित गरिदिएको छ ।

प्रतिक्रिया