निर्वाचन सार्न सत्तारुढ गठबन्धन सकारात्मक


काठमाडौं, १० साउन । सत्तारुढ एकीकृत माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मंसिर–७ गतेको निर्वाचन सार्ने विषयमा समेत विपक्षी दलहरुसँग परामर्श गर्ने संकेत गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाओवादी र मधेसी मोर्चाको बैठकले आवश्यक परेमा निर्वाचन सार्न पहल गर्ने सहमति गरेको हो ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै सद्भावना पार्टीका अध्यक्ष एवं स्वास्थ्य मन्त्री राजेन्द्र महतोले प्याकेजमा सहमति खोज्दा मंसिर–७ गतेको निर्वाचन सार्नु परेमा कांग्रेस, एमालेलगायतका दलहरुसँग परामर्श गर्ने बताए ।
‘विपक्षी दलहरुले निर्वाचनमा भाग लिने भएमा निर्वाचन सार्न सकिन्छ,’ उनले भने, ‘निर्वाचन सार्ने र राष्ट्रिय सहमतिको सरकार बनाउने दुबै विषयमा प्याकेजमा सहमति गर्नु पर्छ ।’
विपक्षी कांग्रेस, एमाले लगायतका दलहरुले यथास्थितिमा निर्वाचन हुन नसक्ने भन्दै विरोधजनाई रहेका समयमा सत्तारुढ दलहरुले समेत निर्वाचन सार्ने विषयमा लचक रहेको धारणा सार्वजनिक गरेका हुन् ।
उता, निर्वाचन आयोगले पनि साउन–७ गते सम्म अन्तरिम संविधान, ऐन, कानून संशोधन गर्न गरेको प्रस्तावमा राजनीतिक सहमति हुन नसक्दा सो विषय अलपत्र परेको थियो ।
त्यसै गरेर, एमाओवादी र मधेसी मोर्चाले संविधानका विवादित बिषयमा पनि सहमति खोज्ने निर्णय गरेका छन् ।
कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले तत्काल पद त्याग गर्न नहुने निष्कर्षमा पुगेका एमाओवादी र मधेसी मोर्चाले प्याकेजमा नयाँ सहमति गरेर राष्ट्रिय सरकार बनाउने तर्फ अग्रसर हुनुपर्ने निष्कर्ष निकालेका छन् ।

प्रतिक्रिया