लन्डन, १० साउन । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल(आइओसी) अध्यक्ष ज्याक्स रोग्सले आइओसीको आर्थिक स्थिति बलियो रहेको बताउँदै ५ सय ५८ मिलियन डलर ‘रिजर्भ’ रहेको उल्लेख गरेका छन् । लन्डन ओलम्पिक खेलकुदको पूर्वसन्ध्यामा मंगलबारदेखि सुरु आइसिसीको तीनदिने साधारणसभाको उद्घाटनमा बोल्दै रोग्सले विश्व खेलकुदको सर्वोच्च संस्थाको आर्थिक स्थितिबारे जानकारी गराएका हुन् ।
एक वर्षअघि दक्षिण अफ्रिकाको डर्बानमा आयोजित साधारणसभामा राग्सले आइओसीसँग ५ सय ९२ मिलियन डलर रिजर्भमा भएको बताएका थिए । मुद्दा विनिमयदरमा देखिएको अस्थिरताका कारण उक्त रिजर्भ रकमा फरक भएको हुनसक्ने जनाइएको छ । २००१ मा आइओसीसँग एक सय ५ मिलियन डलर रिजर्भमा थियो ।
रोग्सले सन् २०१४ पछिको दुई वर्षभित्र ओलम्पिक खेलकुदको प्रसारण अधिकार बिक्री गरेर मात्र चार विलियन डलर आम्दानी गर्ने लक्ष्य आइओसीको जानकारी दिए ।
‘सन ०१४–१६ को बीचमा अहिले नै ३.६ विलियन डलर प्रसारण अधिकार बिक्रीबाट आउने पक्का भइसकेको छ । तर, हाम्रो लक्ष्य कम्तीमा चार विलियन डलर पुर्याउने हुने छ ।’ सोही कार्यक्रममा बोल्दै रोग्सले भने, ‘सन् २००४–००६ का लागि बिक्री भएको प्रसारण अधिकारबाट २.२ विलियन डलर प्राप्त भएको थियो । पछिल्लो दुई वर्षमा उक्त क्षेत्रबाट प्राप्त रकम ३.९ विलियन डलर थियो । रोग्सले सन् ०१८–०२० का लागि प्रसारण अधिकार बिक्री गरेर २.६ विलियन डलर प्राप्त भइसकेको बताए । गत वर्ष आइसिसीले एउटै संस्थासँग सबैभन्दा धेरै रकमको प्रसारण अधिकार सम्झौता गरेको थियो । अमेरिकाको प्रसारण अधिकार एनबिसीलाई सन् ०२० सम्मका लागि विक्री गर्नेक्रममा आइओसीले ४.३८ विलियन डलर लिएको थियो । ‘आइओसीको आर्थिक स्थिति अहिले सुरक्षित र बलियो छ ।’ ११ वर्षयता लगातार आइओसी अध्यक्ष रहँदै आएका रोग्सले भने । उनले आगामी वर्ष राजीनामा दिंदै छन् । मार्केटिङ र प्रसारण अधिकार बिक्रीका कारण आइओसी आर्थिक रूपमा बलियो भएको उनको भनाइ छ ।
उनले अहिलेको स्थितिमा बलियो भए पनि खर्च कम गर्ने नीतिलाई थप बलियो बनाउनु पर्ने बताए । आइओसी ओलम्पिक खेलकुदको आकार केही सानो बनाउने मनस्थितिमा छ । करिब १० हजार खेलाडी र २८ वटा खेल समावेश गर्ने आइओसीको तयारी हो । खासगरी आर्थिक सुरक्षाका लागि नै उक्त तयारी गरिएको जनाइएको छ । सन् ०१४ को विन्टर ओलम्पिक रुसको सोची सहरले आयोजना गर्दै छ । सन् ०१६ को समर ओलम्पिक आयोजना भने दक्षिण अमेरिकाकै पहिलो सहरका रूपमा ब्राजिलको रियो दि जेनेरियोले गर्दै छ । एजेन्सी
प्रतिक्रिया