महबुब आलम आइसिसी लिग डिभिजन फोर टोलीमा परेनन्

आसन्न आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन फोरका लागि नेपाली टोलीमा मेहबुब आलमले स्थान बनाउन नसकेको विषय यतिबेला नेपाली क्रिकेट वृत्तमा चर्चामा छ  । २८ वर्षीय अलराउन्डर आलम वैकल्पिक सदस्यमा समेत नपरेको नेपाल क्रिकेट संघ (क्यान) स्रोतले जनाइसकेको छ । यसपटक राष्ट्रिय प्रतियोगिता नगरीकन नेपालले डिभिजन फोरका लागि सोझै राष्ट्रिय टोली बनाउन लागेको हो । टोलीको घोषणा मंगलबार या बुधबार गरिने क्यानले जनाएको छ । आलमले टोलीमा नपरेको विषयलाई लिएर सोमबार सौर्यकर्मी लोकेन्द्र प्रसाईसँग गुनासो व्यक्त गरे । प्रस्तुत छ, आलमको भनाइ उनकै शब्दमा ।
“ममाथी अन्याय भयो”
पुवुदु सर नेपाली क्रिकेटको प्रशिक्षक भएयता नेपालमा कुनै पनि एकदिवशीय प्रतियोगिता भएको छैन । विदेशमा समेत हामीले एकदिवशीय प्रतियोगिता खेलेका छैनौं (स्मरण रहोस– सन २०१० को नोभेम्बरमा सम्पन्न एसियन गेम्सयता नेपालले सिनियरस्तरमा एकदिवशीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन) । यसबीचमा हामीले टि–ट्वान्टी प्रतियोगिता खेल्यौं सिनियरस्तरमा । यी प्रतियोगितामा हामीमध्ये कुनै खेलाडीले राम्रो खेल्यौँ होला कसैले नराम्रो । यसमा सबैले आफ्नो गल्ती स्विकार्नु पर्छ । त्यसमा मैले पनि गल्ती गरे होला जुन मैले स्वीकार गरिसकेको छु  ।
सिनियर एकदिवशीय राष्ट्रिय प्रतियोगिता नभएपछि अब हुन लागेको डिभिजन फोर क्रिकेटमा हामीले कम्तीमा सुरुमा नयाँ पुराना सबै खेलाडीलाई ‘सर्ट लिस्ट’मा राख्छ भन्ने आशा थियो । किनभने दशानायकेले हाम्रो एकदिवशिय प्रर्दशन हेरेका थिएनन् । घरेलु क्रिकेटमा अभ्याससमेत भएको थिएन उनी आएयता । यदी भएको थियो भने मलाई आफूले खेलेको सम्झना छैन । दुबईमा आइसिसी टि–ट्वान्टी विश्वकप छनोट प्रतियोगिता हुनुपूर्व मुम्बईमा हामीले एउटा क्लबविरुद्ध एक एकदिवशीय खेल खेलेको थियौँ जसमा चोटका कारण म सहभागी थिइन ।
तर अचानक एउटा कल्पना नै नगरेको खबर सुने । दशानायकेले सोझै टिमको छनोट गरेछन् । उनले कसरी खेलाडी छनोट गरे, अचम्म लागेको छ । यो टिममा मेरो नाम छैन रे । यसले म अर्को आश्चर्यमा परेको छु । हामीले गरेको प्रर्दशनका आधारमा भन्दा हामीले एकदिवशीय म्याच नै खेलेका छैनाँै । यदि टि–ट्वान्टीका आधारमा छनोट गरिएको हो भने एकदिवशीय र टि–ट्वान्टीमा छनोटको आधार कसरी एउटै हुन्छ ? यती लामो समय अन्तर्राष्ट्रिय क्रिकेटमा खेलेको मजस्तो खेलाडीलाई टिम बाहिर राख्नुअघि पं्रशिक्षकले विचार पुर्‍याउनु पथ्र्यो । वन्द प्रशिक्षणमा राखेर त्यसमा हुने प्रर्दशनका आधारमा टिम छनोट भएको भए चित्त बुझ्ने ठाउँ हुन्थ्यो ।
मेरो ठाउँमा कुनै अर्को खेलाडीले मौका पायो, त्यो राम्रो कुरा हो । तर, हामीमध्ये को राम्रो भन्ने छुट्याउने आधार त हाम्रो प्रर्दशन हो । प्रशिक्षकले छनोट गर्नुपूर्व यस्तो प्रक्रियाले हामीजस्तो सिनियर खेलाडीलाई कति असर पर्छ भनी विचार पुर्‍याउनु पथ्र्यो । हामीलाई लामो समयदेखी बुझेका क्यानका पदाधिकारीले प्रशिक्षकसँग कुराकानी गरी अलिक गम्भीर भएर निर्णय लिन सुझाव दिनुपथ्र्यो ।
मेरो मात्र कुरा होइन, यहाँ त लामो समयदेखि राष्ट्रिय टिममा नरहेका महेश क्षेत्री पनि टोलीमा नरहने चर्चा सुनेको छु । जबकि प्रशिक्षकले महेशको प्रर्दशन नै हेरेका छैनन् । एकदिवशीय क्रिकेटमा महेश कस्तो खेलाडी हुन भन्नेबारे सबैलाई जानकारी छ । उनका बारेमा क्यान र प्रशिक्षक दशानायकेले विचार पुर्‍याउनु पथ्र्यो । खेलाडी छनोटका आधार प्रदर्शन हो र त्यसका लागि उसको खेल हेर्नुपर्छ पहिला ।
ल ठिक छ, राष्ट्रिय प्रतियोगिता गर्न असम्भव भयो, अनि सोझै टिम छनोट गर्नु पर्‍यो रे । तर, कम्तीमा यस्तो निर्णय लिनुअघि हामीसँग एकपटक कुरा गर्नुपर्छ कि पर्दैन ? मैले १३ वर्षयता नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिनिधित्व गर्दै आएको छु, यसबीचमा मैले गरेको प्रर्दशन र योगदानलाई हेर्ने हो भने सामान्य मानिसले पनि यस्तो विचार गर्न सक्छ । त्यसैले चित्त बुझ्ने कहीँ ठाउँ छैन । हुन त यसअघि पनि एकपटक म सिनियर टोलीबाट बाहिर रहेको थिएँ । तर, यतिबेला भने आफूमाथि अन्याय भएको अनुभूति गरिरहेको छु  ।

प्रतिक्रिया