रोनाल्डो मेसी हुन सक्दैनन् : म्याराडोना

ब्युनसआयर्स, ८ साउन । विश्व फुटबलका महान् हस्ति डिएगो म्याराडोना अहिले विश्वको सर्वोत्कृष्ट फुटबलर बन्न पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डोले अर्जेन्टिनी लिओनल मेसीसँग गरिरहेको प्रतिस्पर्धा निरर्थक भएको बताएका छन् । सन १९८६ मा अर्जेन्टिनाले विश्वकप फुटबल उपाधि जित्दा उक्त टोलीका महत्त्वपूर्ण सदस्य भएका म्याराडोना मेसी निर्विवाद र एक्लो सर्वोत्कृष्ट भएको बताए ।
क्लब फुटबलमा पुन: अर्को सिजन उत्कृष्ट प्रर्दशन गरेपछि स्पेनिस लिगका यी दुई खेलाडी यस वर्षको फिफा वर्ष खेलाडी दौडमा अगाडि देखिएका छन् । मेसीले गत सिजन युरोपियन क्लब फुटबलमा सर्वाधिक गोल गरेका थिए भने सोको सूचीमा रोनाल्डो दोस्रो स्थानमा रहन सफल भए । तर, मेसीभन्दा पछि रोनाल्डो नै रहेकामा भने उनको दुई मत छैन ।
‘रोनाल्डो मेसीको स्तरमा कहिले पुग्न सक्तैनन्,’ तीनपटक लगातार फिफा वर्ष खेलाडी घोषित मेसीबारे म्याराडोनाको विश्वास छ, ‘मेसीलाई रोनाल्डोको जस्तो शक्तिशाली प्रहार आवश्यक पर्दैन । उनी बल ड्रिबलिङ गरेर आफ्नै खुट्टाले गोल गर्न सक्छन् ।’ रोनाल्डो फिफा वर्ष खेलाडी घोषित हँुदा दोस्रो स्थानमा उनले मेसीको विकल्प नदेखेको स्मरण गर्दै म्याराडोनाले भने, ‘अहिले दोस्रो स्थानको हकदार रोनाल्डो नै हुन् ।’
केही साताअघि मात्र दुबईस्थित फुटबल क्लब अल वासेलबाट प्रशिक्षकका रूपमा बर्खास्त भएपछि बेरोजगार बनेका म्याराडोनाले आफूलाई मेसीसँग मानिसले तुलना गर्दा खुसी लाग्ने बताए । ‘साँच्चै भन्ने हो भने मलाई तुलना गरेको मन पर्दैन । तर, जब मेसी र मबीचमा मानिसले तुलना गर्छन् मलाई आनन्द लाग्छ । हामी दुवै बायाँ खुट्टाबाट खेल्छाँै, दुवै अर्जेन्टिनी हौँ र दुवै निकै प्रतिभाशाली पनि ।’ गत सिजन बार्सिलोनाका फर्वाड मेसीले सबै प्रतियोगितामा गरी ७३ गोल गरी एउटै सिजनमा सर्वाधिक गोल गर्ने नयाँ कीर्तिमान बनाएका थिए । एजेन्सी

प्रतिक्रिया