महिला हिंसाबारे छानबिन समिति

काठमाडौ : एक पत्रकारले महिलामाथि यौनहिंसा गरेको विषयमा उजुरी आएपछि प्रधानमन्त्री कार्यालयले डा. रेनु राजभण्डारीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । हिमालयन टेलिभिजनका कार्यक्रम प्रस्तोता प्रकाशचन्द्र दाहालविरुद्ध प्रतिमा शर्माले दिएको उजुरीमा प्रधानमन्त्री कार्यालयको महिलाहिंसा विभागले छानबिन समिति गठन गरेको हो ।
समितिमा लैंगिक सशक्तीकरण विभाग इकाइका सल्लाहकार देवी खड्का, लैंगिक विभागकै उपसचिव, प्रेस काउन्सिल नेपाल, पत्रकार महासंघ, सञ्चार मन्त्रालयका अधिकृत रहने निर्णय गरिएको छ । आइतबार डा. रेणुराज भण्डारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसित कुरा गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिए । यो विषयमा आफू गम्भीर भएर लाग्नेसमेत उनले प्रतिबद्धता जनाए ।
दाहालले आफूलाई १ वैशाख २०६७ मा विवाह गरेको तर श्रीमती नस्विकारेको गुनासो शर्माले गरेकी छन् । दाहालले भने शर्मासित आफूले बिहे नगरेको दाबी गर्दै आएका छन् । (सौस)

प्रतिक्रिया