परिषद्को विद्यालय–शिक्षक नीति अवैज्ञानिक

काठमाडौं,६ साउन । राष्ट्रिय खेलकुद परिषद्को ९३आंै बोर्ड बैठक अत्यन्त चर्चामा रह्यो । परिषद्का सरंक्षक डा. बाबुराम भट्टराईको अध्यक्षतमा बसेको बैठकले गरेको दुई ओलम्पिक कमिटी विघटन र नयाँ ओलम्पिक कमिटीको गठन तथा दुई हजार पाँच सयदेखि तीन हजार खेल शिक्षक तयार गरी रोजगारमा लगाउने निर्णय यस साताभरिका चर्चाका विषय बने । खासमा बोर्ड बैठकपछि नेपाली राजनीतिमा विपक्षीको भूमिका निर्वाह गरेका दुई दल एमाले र कांग्रेसनिकट संस्थाले यसलाई ‘सत्तारुढ एमाओवादीका कार्यकर्ता, अयोग्य लडाकु र वाइसिएल कार्यकर्ता भर्ती गर्ने गरी गरिएको निर्णय’ भनी आरोप लगाएपछि यसले परिषद्लाई समेत आक्रोशित तुल्यायो । परिषद्ले यो समाचारको खण्डन गर्ने, बोर्ड उपाध्यक्षले यो निर्णयको बचाउ गर्ने र शुक्रबार अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी त्यसै अभिव्यक्तिप्रति आक्रोशित रहने क्रम निरन्तर शृंखलाका रूपमा रह्यो ।
दुई विपक्षी दलले लगाएको आरोपझैँ कार्यकर्ता भर्ती केन्द्र नै बन्ने या नबन्ने भन्ने भविष्यको गर्भमा रहनेछ । तर, यो कार्यक्रम प्रचार गरिएभन्दा एकदमै अनुत्पादक र हचुवाका भरमा गरिएको निर्णय हो भन्नेमा चाहिँ विवाद हुन सक्दैन । कुनै अध्ययन नगरीकनै संख्या तोक्नु, विपक्षी शक्तिले आरोप लगाउनेबित्तिकै यसैमा केन्द्रित रहेर विपक्षीमाथि खनिनु र हचुवाको कार्यविधि बनाउनुले परिषद्को अपरिपक्वतालाई पुष्टि गरेको छ ।
सदस्यसचिव लामाले जनाएअनुसार विद्यालय शिक्षक उत्पादन गर्न तीन चरणको कोर्स तयार गरिनेछ । पहिलो चरणको योग्यता एसएलसी उत्तीर्ण, उसुमा भए रातो पेटी प्राप्त, अन्य मार्सल आर्टमा भए कालो पेटी प्राप्त या न्यूनतम एक वर्षदेखि विद्यालयमा खेलकुद शिक्षकका रूपमा कार्यरत भन्ने सर्त राखेको छ । साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको पहिलो आधार तयार गरिएको छ । तथापि राज्यको सर्वाेच्च निकाय भनिने खेलकुद परिषद् र यसका अधिकारी अन्तर्राष्ट्रिय प्रतियोगिताको सही व्याख्या गर्न नै असमर्थ भइरहेका छन् । हरेक खेलका अन्तर्राष्ट्रिय प्रतियोगिताको मापदण्ड पूरा गर्न आºनै खाले मापदण्ड भए पनि परिषद् यसबारे जानकार रहेको छैन । थुप्रै अफिसियल प्रतियोगितालाई समेत अवमूल्यन गर्ने गरेको छ ।
विद्यालय शिक्षक तयार गर्न पहिलो चरणमा छनोट खेलमा तेक्वान्दो, कराते, उसु, एथलेटिक्स, फुटबल, भलिबल, टेबलटेनिस र क्रिकेट रहेका छन् । परिषद्ले एउटै खेलका शिक्षकले ६ खेलको प्रशिक्षण दिन सक्ने बताएका छन् ।
लोभलाग्दो भनिए पनि यो निर्णय आफैँमा त्रुटिपूर्ण रहेको छ । ‘१० कक्षामा पढ्ले विद्यार्थी भनेको व्यावसायिक दुनियामा प्रवेश गर्ने उमेरको हुन्छ । यस अवस्थामा एउटै शिक्षकले ६ खेल सिकाउने गरी नियुक्त पाएको प्रशिक्षकले के सिकाउँछ र उसले उमेरअनुसार प्रदर्शन गर्न सक्छ ?’ एकजना वरिष्ठ प्रशिक्षक भन्छन् ।
त्यसो त नेपाली खेलकुदमा लामो समय बिताएका नामहरू प्राविधिक कमिटीमा रहे पनि खेलकुदका सामान्य मान्यतालाई बेवास्ता गरिएको छ । पदकको बहानामा लोकप्रिय खेललाई बेवास्ता गर्दै मार्सल आर्टकर्मीको अखडाका रूपमा मात्र खेलकुदलाई परिचित गराउने क्रममा परिषद्को यो नीति अघि रहेको छ । स्मरणीय छ, विगतमा अन्य देशमा कम लोकप्रिय रहेका कारण नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा धेरै पदक पाए पनि यो खेल विदेशी भूमिमा लोकप्रिय हुँदा नेपाली मार्सल आर्ट गिर्दो अवस्थामा छ । तथापि, राज्यको निकायबाट लगातार यो विधाको तुलनामा अन्य खेल विधालाई अपहेलित गर्ने क्रममा भने निरन्तर नै रहेको छ ।

परिषद्ले प्राथमिकता दिएको खेलको विकासक्रम
सन् २००० मा काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली उसु प्रतियोगितामा २७ मध्येका २३ स्वर्ण पदक प्राप्त गरेको नेपाली उसुको स्तर दिनदिनै खस्किँदै गएको छ । दक्षिण एसियाली उसुका डाइरेक्टर नेपालकै प्रणिलध्वज कार्की रहँदासमेत नेपाल, ढाका सागसम्म आइपुग्दा दुई स्वर्ण पदकमा सीमित भएको थियो । यो गिर्दो क्रम अझै जारी छ । प्राथमिकतामा परेको अन्य खेल कराते र तेक्वान्दोले काठमाडौंमा भएको दक्षिण एसियाली खेलकुदमा पहिलोपटक यी दुई खेल समावेश हुँदा १४–१४ स्वर्ण पदक जितेका थिए । वर्तमान अवस्थामा यो खेलको अवस्था पनि त्योभन्दा धेरै तल गिरेको छ ।
यसैगरी टेबलटेनिसमा १९९२ मा दक्षिण एसियाली खेलकुदमा महिला टिम इभेन्टमा स्वर्ण जितेयता कुनै पनि प्रतियोगी फाइनलमा पुगेका छैनन् । क्रिकेटमा २००२ मा भएको एसिसी ट्रफीमा उपविजयी नेपाल त्यसपछि त्यो स्तरमा पुग्न असफल रह्यो । अन्य देशमा अलोकप्रिय रहेको समयमा प्राप्त सफलताकै आधारमा अन्य सम्पूर्ण खेललाई अवमूल्यन गर्नु दु:खद् भएको खेल समीक्षकहरू बताउँछन् ।

राजनीति प्रभावी खेललाई प्राथमिकता
लामा नेतृत्वको परिषद् सितेरियो कराते संघ, नेपाल कराते महासंघ र एथलेटिक्स संघ विघटन गरेर विवादमा आएको थियो । त्यसलगत्तै खेलकुद परिषद्ले उसुको निर्धारित मितिको साधारणसभा रोक्दै आफूअनुकूल नेतृत्व तयार गरेर साधारणसभा गरिएको थियो । क्रिकेट संघमा विनयराज पाण्डेको संघलाई विघटन गर्दै एमाओवादी केन्द्रीय सदस्य टंक आङबुहाङलाई अध्यक्ष बनाइएको थियो । भाषणमा आदर्शका कुरा र आफू प्रतिकूलकालाई गाली गलौजमा उत्रे पनि पछिल्लो एक वर्षमा भएको संघमाथिको हस्तक्षेप र तीनै खेललाई प्राथमिकतामा राख्नुले नेपाली खेलकुद एउटा गिरोहबाट सञ्चालन भएको र त्यसै गिरोहलाई पार्टी राजनीति र खेलकुद क्षेत्रमा जबर्जस्ती स्थापित गराउने प्रपञ्च नै हो भन्ने ठहर पनि धेरै जानिफकारले गरेका छन् ।
स्मरणीय छ पछिल्लो समय बाँस्केटबल नेपाली शैक्षिक क्षेत्रमा अत्यन्त लोकप्रिय खेलका रूपमा रहेको छ भने विद्यालयस्तरमै व्यवस्थित स्वरूप लिएको खेल बुद्धिचाल मात्र रहेको छ । यसबारे नेपाल आर्चरी संघका अध्यक्ष लक्ष्मण श्रेष्ठसँग सम्पर्क गर्दा मनपरी ढंगले खेलको मापदण्ड तयार गर्ने नीति गलत भएको बताउँछन् । स्मरणीय छ, परिषद्ले विभिन्न शीर्षकमा दिने अनुमान पनि अपारदर्शी भएको र आफूनिकट अधिकारी भएको संघलाई बढी प्राथमिकता दिएको आरोप बारम्बार लागेको छ ।

प्रतिक्रिया