सेक्रेटहरूको पर्दाफास

एक दशकदेखि पत्रकारितामा सक्रिय केपी ढुंगाना ६ वर्षदेखि ‘संगठित अपराध र सुरक्षा’ विषयमा कलम चलाउँदै आएका छन् । २०५५ सालदेखि २०६८ सालसम्म भएका सातवटा हाइप्रोफाइल अपराधको गहन अनुसन्धान गरेर उनले तयार पारेको खोजमूलक पुस्तक ‘ओपन सेक्रेट’मा केन्द्रित भएर उनीसँग गरिएको कुराकानी :
पत्रपत्रिकामा ‘क्राइम’ समाचार मज्जासँग बिकिरहेको देखिन्छ । तर, नेपाली साहित्यको बजार भने बढीजसो फिक्सन शैलीका सामग्रीले पिटिरहेका छन् । ‘क्राइम’चाहिँ नेपाली साहित्यको बिकाउ पक्ष बन्न सक्ला कि नसक्ला ?
बिक्री र प्रकाशनको संख्यालाई आधार बनाउने हो भने विश्वबजारमा सेक्सपछिको बिकाउ विषय अपराध र सुरक्षा नै हो । तर, नेपालमा यस्ता पुस्तकको संख्या न्यून छ । अपराध र सुरक्षाका विषयमा कलम चलाउँदा कल्पनामा नभई तथ्यमा आधारित हुनु आवश्यक छ । विषयगत आधारमा यस्ता विषयमा कलम चलाउन जोखिम पनि छ । त्यसैले यस्ता विषयमा लेख्ने कम छन् । संख्यात्मक र गुणात्मक रूपमा अपराध र सुरक्षाबारे फिक्सन वा ननफिक्सन जुन विधाका पुस्तक लेखिए पनि अन्य विषयको तुलनामा टिकाउ र बिकाउ दुवैमा अगाडि हुने पक्का छ ।
फिक्सनको स्वाद लिइरहेका पाठकहरूले यस्ता नन–फिक्सन रुचाउलान् त ?
फिक्सन भन्दैमा पूर्ण कल्पना प्रधान हुनुपर्छ भन्ने छैन । अनि ननफिक्सन भन्दैमा कार्यपत्र शैलीको लेखन हुनुपर्छ भन्ने पनि होइन । अहिले ननफिक्सन पनि फिक्सन शैलीमा लेख्नेक्रम बढेको छ । फरक यत्ति हो यसमा कल्पना होइन, यर्थाथता हुन्छ । र, ओपन सेक्रेट पनि फिक्सन शैलीमा लेखिएको ननफिक्सन पुस्तक हो ।
‘लेखकले जे लेखे पनि वास्तवमा आफ्ना मनका कुण्ठा, भावना नै लेखेको हुन्छ’ भनिन्छ । कतै ‘ओपन सेक्रेट’ पनि तपाईंको निजी भावना र भोगाइको पेटारो मात्रै बनेको त छैन ?
यो पुस्तकमार्फत गम्भीर प्रकृतिका घटनाक्रमको उठान, चिरफार, लुकेका र लुकाइएका तथ्य तथ्यांक सार्वजनिक गरिएको छ । यसमा न कुनै कुण्ठा छ, न कुनै मित्थ्या । यसमा उल्लेख गरिएका पात्र, स्थान, परिवेश सबै पूर्ण सत्य छन् । त्यसैले मैले चाहेर पनि यसमा कुण्ठा र भोगाइको पेटारो बिसाउन सकिनँ ।
‘ओपन सेक्रेट’ किताब तयार पार्न सामाजिक र राजनीतिक पाटोमाथि कत्तिको अध्ययन–अनुसन्धान गर्नुभयो ?
पुस्तकको विषयवस्तु नै अन्तरदेशीय अपराध हो । यसमा २०५५ देखि २०६८ सम्म भएका ६ वटा हाइप्रोफाइल हत्या र एउटा हत्या प्रयासका घटना समेटिएका छन् । मारिएका र मारिनेहरुको पृष्ठभूमि, भारत र नेपालका आपराधिक समूहको सम्बन्ध र जालो, दुवै देशको सुरक्षा समस्या, नेपाल र भारतबीचको सुरक्षा प्रणाली र सम्बन्धलगायतका गम्भीर विषयमा आधारित पुस्तक भएकाले यसको मेरुदण्ड नै अध्ययन, अनुसन्धान हो । त्यो बिना त पुस्तक तयार नै हुन सक्दैनथ्यो ।
किताबबाट कस्ता–कस्ता ‘सेक्रेट’ ओपन भएका छन् ?
नेपालमा मौलाउँदै गएको अन्तर्राष्ट्रिय अपराधको जालो, राजनीतिको आवरणमा भइरहेका अपराधको खेल, एक देशको हितका लागि अपनाइएको आपराधिक बाटो, मुम्बई अन्डरवल्र्डको नेपालमा सम्पर्क र सम्बन्ध, प्रहरी अनुसन्धान असफताभित्रका कथालगायतका धेरै सेक्रेट विषयलाई पुस्तकले ओपन गरेको छ ।
तपाईंले खोल्नुभएका ‘सेक्रेट’ पाठकका लागि कत्तिको विश्वसनीय छन् ?
सतप्रतिशत । पुस्तकमा कल्पनाको स्थान शून्य छ । जे–जस्ता विषयवस्तु र पात्रहरू छन् ती सतप्रतिशत तथ्यसंगत छन् । तथ्यकै आधारमा सेक्रेट खुलेका छन् । मित्थ्याको कुनै स्थान छैन ।
‘अपराध’बारे किताब लेख्नुभन्दा अगाडि नै कुनै शैली वा प्रयोगको खाका बन्छ या यो पछि बन्ने कुरा हो ?
विषयको पहिचानपछि अध्ययन, अनुसन्धान, स्रोत व्यक्तिसँगको अन्तक्र्रियाबाट आएका सामग्रीको आधारमा अपराधसम्बन्धी पुस्तकको खाका कोर्न सम्भव हुन्छ । शैली र प्रयोग लेख्न बस्नु अगाडि नै टुंगो लगाउँदा सजिलो हुन्छ ।
‘क्राइम’लाई किताबमा उतार्दा ‘रिस्क’ कत्तिको हुन्छ ? त्यसलाई कसरी सामना गर्नुहुन्छ ?
स्वाभाविक रूपमा अपराधको खोजी आफैँमा जोखिमपूर्ण विषय हो । सामान्य समाचार लेख्दा त अनेकौँ जोखिम मोल्नुपर्ने अवस्थामा पूरै पुस्तक नै तयार पार्नु व्यक्तिगत सुरक्षाको दृष्टिकोणमा पनि जोखिमपूर्ण काम हो । तर, तथ्यको धरातलमा टेकेर सत्य पस्कँदा यस्ता रिस्क ºयाक्टर घट्छन् । व्यक्तिगत आवेग र कुण्ठालाई पुस्तकमा स्थान नदिनु सुरक्षित हुने उत्तम उपाय हो । मैले यही सूत्र प्रयोग गरेको छु ।
‘अपराध’ विधा नै छान्नुको कारण के ?
एक दशक पत्रकारिताको यात्रामा ६ वर्षदेखि मैले संगठित अपराध, सुरक्षा विषयमा काम गरिरहेको छु । यो मेरो रुचिको विषय पनि हो । पाठकका हिसाबमा कल्पनाभन्दा यर्थाथपरक पुस्तकहरू नै सधैँ मेरो रोजाइमा पर्थे । अनि विषयगत आधारमा अपराधका विषयको पाठक संख्या उच्च भए पनि पुस्तक भने नगन्य देखेँ । आफूले दैनिक देखेको, अध्ययन गरेको र स्रोत व्यक्तिसँग पनि सहज सम्पर्कका कारण यसैमा लेख्न सहज हुन्छ भन्ने निष्कर्ष निकालेर यो विषय छनोटमा परेको हो ।

प्रतिक्रिया