उपन्यासतिर मेरो झुकाव

जन्मिदै साह्रै सानो थिएँ रे! दिदीभन्दा चार वर्षपछि जन्मेको भए पनि एकदमै खिनौटे थिएँ रे । बचाउनै पो नसकिने हो कि भन्ने डर सधैँ हुन्थ्यो रे आमाबुबालाई । तर, हुरीले लतारेको बन्सो जस्तो विस्तारै हुर्किंदै गएछु । तैपनि मेरो शरीर उमेरअनुसारको जत्ति विकसित हुन सकेन । म विद्यालय जानथालेपछि मेरै उमेरका प्राय: सबै साथी मभन्दा धेरै दह्राबलिया थिएँ । दौडधुप गर्न, खेलकुद गर्न त्यति नसक्ने हुँदा म भने प्राय: बसेर खेल्ने खेलहरू खेल्न रुचाउँथे, त्यसैले म चेस, बाघचाल, चाइनिज चेकर, क्यारेमजस्ता खेल खेल्न खुब मन पराउँथे । बिस्तारै त्यस्ता खेलमा म निकै पारंगत हुँदै गएँ । तीमध्ये चेस खेलमा म निकै जान्ने भएँ । धेरैलाई सजिलै हराइदिन
सक्ने पनि भएँ । चेस प्रतियोगितामा भाग पनि लिएँ ।
यस्ता खेलपछि मेरो रुचि पुस्तक पढ्नेतिर बढ्दै गयो । कोर्सका पुस्तकबाहेकका तिर रुचि बढ्नमा चाहिँ सञ्जीव उप्रेतीको संगतको फल थियो । सञ्जीवका घरमा अत्यधिक किताब हुन्थे, धेरैजसो अंग्रेजी र हिन्दीका किताब हुन्थे । म अंग्रेजी राम्रो पढ्न नसके पनि हिन्दी सिनेमा हेर्ने बानीले गर्दा हिन्दी भाषा निकै बुझ्ने भएको थिएँ । हिन्दीका किताबहरू पढ्ने बानी बस्दै गयो । नेपाली भाषाका किताब बजारमा पनि त्यति धेरै देखिँदैनथे । कि त धार्मिक ग्रन्थहरू हुन्थे– रामायण श्रीमद्भागवत गीता, निर्णयसिन्धु, महाभारत आदि । केही नेपाली भाषाका कविताका किताब पनि देख्थेँ पुस्तक पसलहरूमा । मैले सबैभन्दा पहिला पढेको पुस्तक कुन हो त्यो त आज मलाई सम्झना छैन तर दोहोर्‍याई–दोहोर्‍याई पढेर रोएको किताबचाहिँ ‘मुनामदन’ हो । एकदिन कताबाट हो, आमाले त्यो किताब ल्याउनुभएको थियो । बुबाले यसो हेरेर ‘यो त लक्ष्मीप्रसादले लेखेको किताब हो’ भन्नुभयो । आमाले बुबाका हातबाट तान्दै मतिर लम्काएर दिँदै भन्नु भयो, ‘यो किताब अलिअलि गर्दै मलाई पढेर सुना है कान्छा †’ म एउटा मात्रै छोरो जन्मेको भए पनि आमाले चाहिँ सधैँ कान्छा भन्नुहुन्थ्यो । किताब पल्टाएर पढ्न खोजेँ तर लय मिलाउन जानिनँ । आमालाई त्यो किताबका वाक्यहरू कण्ठ रहेछन्, उहाँले लय हाल्दै, यसरी पढ्नुपर्छ भनेर सिकाउनुभयो । अक्षर छिचोल्न नसके पनि अरूले पढेको सुनेरै आमालाई मुनामदनका धेरै वाक्य कण्ठ थिए ।
आमाले सिकाएकै लयमा दिनदिनै अलिअलि गर्दै मैले मुनामदन पढेर आमालाई सुनाउँदै गएँ । एकपल्ट पढिसके पनि दोहोर्‍याउने क्रममा मैले, धेरैपल्ट मुनामदन पढेँ र हरेकपल्ट गला अबरुद्ध भएको पाएँ । मुनामदनपछि ‘सयपत्रीको फूल, गुणरत्न माला’जस्ता कविताका किताब पढेँ । त्यसबाट मलाई पनि लेख्न मन लाग्न थाल्यो । कहिलेकाहीँ म पनि झ्याउरे लयमा कविताहरू लेखेर आमालाई सुनाउन थालेँ । पहिलोपल्ट स्कुलमा तेस्रो भएको मेरो कविता झ्याउरेमै लेखेको थिएँ ।
कविताभन्दा कथा पढ्न बढी मन लाग्न थाल्यो । सञ्जीवले त्यस्ता पुस्तकहरू ल्याउँथे । उनीसँग पैसा हुने हुँदा किन्थे पनि । पुस्तक पढ्ने क्रममा सारै रुचि लिएर पढेको, डराएको र उत्साहित भएको किताब थिए ‘आतंक’, ‘राक्षसराज्य’ र ‘रत्नभवन’ भन्ने तीन पुस्तक । नेपाली भाषामा ठूलाठूला अक्षरमा छापिएको र बाहिर रातो कपडाले मोडेको गाता भएका यी किताब तिलस्मी कथाले भरिएका थिए । तीन खण्डमा लेखिएको एउटै कथा थियो यिनमा । कक्षा ६ को विद्यार्थी छँदा हामीले यी किताब पढेका थियौँ । त्यसपछि त्यस्तै तिलस्मी कथासंग्रह थियो ‘गुलकावलीको कथा’ र अर्काे थियो ‘तोतामैनाको कथा’ । अकबर र वीरबलको कथा पनि त्यसैबेला पढियो ।
कक्षा आठमा आइपुग्दा उपन्यासहरू पढ्न लागिएको थियो । प्रकाश कोविद, सुभाष, जय धमला, युधीर थापाहरूका प्रेम कथाका उपन्यासहरूले लठ्ठ बनाउन थालेका थिए । नेपाली उपन्यास पढ्दापढ्दै हिन्दी उपन्यासतिर पसिएछ । वेदप्रकाश काम्बोज, डब्ने सफी बिए, वेदप्रकाश शर्मा, गुल्सन नन्दा, ओमप्रकाश आदिका हिन्दी प्रेम तथा जासुसी उपन्यासहरू पढ्न थालियो । यी उपन्यास त दुव्र्यसनझैँ हुन पुगेका थिए । एउटा पढिसक्दा अर्काे चाहिहाल्ने । कक्षाको पाठभन्दा उपन्यास पढ्न बढी समय खर्च हुन थाल्यो । सञ्जीव र मेरो सानो समूह यस्तै किताबहरूमा हराउन थाल्यो । त्यसो त सञ्जीव जेम्स हेड्ली चेजका जासुसी उपन्यासहरू पनि पढ्थे र अंग्रेजी बाल उपन्यास पनि ।
उमेर र कक्षा बढ्दै गएपछि हामीले पढ्ने पुस्तकहरू पनि छाँटिदै जान थालेछन् । एसएलसी दिने बेलासम्म हामी लियो टल्सटाय, चेखब, दोस्तोयवस्की, मिखाइल सोलोखोब, काफ्का, हर्मन हेस आदिका उपन्यास पढ्न थालिसकेका थियौँ । टल्सटायको ‘युद्ध र शान्ति’ जस्तो मोटो उपन्यास मैले चार दिनमै पढिसिध्याएको सम्झना छ । हिन्दीमा अनुदित ती पुस्तक धेरैजसो त मैले संकलन नै गरेको थिएँ । त्यसैबेला पढियो भगवती शरण वर्माको ‘चित्रलेखा’ । जुन किताबले मेरो कलिलो मस्तिष्कमा अनौठो प्रभाव पारेको थियो । शरदचन्द्र चट्टोपाध्यायको ‘शेष प्रश्न’ त मेरो दृष्टिकोणलाई नै बदल्ने सबभन्दा महान् किताब हो । जीवनको क्षणिकता र निमित्ततालाई बुझाउने त्यो किताब म अझै पनि सम्झिरहन्छु । मलाई सारै प्रभाव पारेको क्रान्तिकारी किताब हो अभिमन्यु अनतको ‘लाल पसिना’ । मरिससको विद्रोहको सारै सुन्दर वर्णन छ यसमा । रवीन्द्रनाथ ठाकुर, फणिन्द्रनाथ रेणु र प्रेमचन्द्रका किताब नपढी साहित्यको पाठक कसरी भइन्थ्यो होला र ? फणिन्द्रनाथ रेणुको ‘मैला आँचल’ हिन्दी साहित्यको उत्कृष्ठ आञ्चलिक उपन्यास मानिन्छ । प्रेमचन्द्रको गोदान मैले दोहोर्‍याएर पढेँ । ‘गीताञ्जली’ का कैयौँ कविता त मलाई कण्ठ थिएँ । कलेज पुगेपछि इलाम क्याम्पसको पुस्तकालयमा भएका हिन्दी र नेपालीका पुस्तकहरू कसले पहिले पढिसक्ने भन्ने होड थियो हामी केहीको । दुई वर्षमा मैले त्यस पुस्तकालयमा भएका अधिकांश उपन्यासहरू पढिसकेँ ।
त्यसैबेला पढेको हुँ मैले ‘पल्लो घरको झ्याल’, ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’, ‘आज रमिता छ,’ ‘बसाइँ’, ‘मुग्लान,’ ‘मुलुकबाहिर,’ ‘शिरीषको फूल,’ ‘घामका पाइलाहरू,’ ‘कारागार,’ आदि । रुसोको ‘कन्फेन्सस’ पढेरै मैले आत्मकथा लेख्दा सकेसम्म कुरा लुकाउनु हुन्न भन्ने बुझेको थिएँ । सिग्मन्ड फ्रायडको स्वप्न सम्बन्धी विश्लेषणको पुस्तक पढेर मैले आफ्नो दिमागमा रहेका कैयौँ भ्रमहरूबाट मुक्ति पाएको थिएँ । कार्ल माक्र्स र माओत्सेतुङका पुस्तक पनि त्यतिबेलै पढियो लुकीलुकी । तर, कार्ल माक्र्स र माओका पुस्तकभन्दा अघि नै म रजनीश, साइबाबा, महेश योगी, विवेकानन्द, श्रीमाली आदिका दर्शन तथा तान्त्रिकताको प्रभावमा परिसकेकाले माक्र्स र माओका साम्यवादी चिन्तनले प्रभावित हुन सकिनँ । आज त सबै कुरा बुझेको दिमागले विश्लेषण गर्न सकिन्छ तर मेरो त्यो कलिलो दिमागमा रजनीशले जति प्रभाव माओले पार्न सकेनछन् ।

मैले पढेका अधिकांश पुस्तक ‘उपन्यास’ विधाअन्तर्गतका परेछन् । त्यसो त अरू विधाका पनि पढियो तर ‘आख्यान’ नै मेरो सबैभन्दा प्रमुख रुचिमा परेछ । आज सोच्छु– मेरो रुचि उपन्यास पढ्नतिर नगएको भए सायद म उपन्यासकार बन्न पनि सक्दिनथेँ होला ।
आज पनि मेरो पढाइको पहिलो छनोटमा ‘उपन्यास’ नै पर्छन् । मैले पढेकामध्ये सबैभन्दा मन परेको विदेशी भाषाको उपन्यासमा पर्लएस बकको ‘द गुड अर्थ’ हो । यो पुस्तकले असी वर्षजति उमेर बिताइसक्यो होला तर आज पनि यसको सान्दर्भिकता उत्तिकै छ जस्तो लाग्छ । त्यस्तै नेपाली भाषाका उपन्यासमध्ये मलाई लागेको उत्कृष्ट कृति हो मदनमणि दीक्षितको ‘माधवी’ । यसलाई मैले साढे चारपल्ट पढेँ । अन्तिमपल्ट पढ्दापढ्दै एकजना साथीले लगे र फर्काएनन् अनि मैले त्यसलाई पाँचौँपल्ट पढेँ भन्न पाइनँ ।
आज पनि बजारमा जब म कुनै पुस्तक पसलअघि पुग्छु, सबभन्दा पहिले मेरा आँखा उपन्यासमै पुग्छन् । बिपी कोइरालाका सबै उपन्यासहरू मन पर्छन् । तीनका बारेमा ‘बिपी कोइरालाका उपन्यासहरू’ भन्ने समालोचनाको पुस्तक नै लेखेँ । त्यसो त प्रदीप नेपालको ‘आकाश गंगाको तीरैतीर’ र जगदीश घिमिरेको ‘लिलाम’जस्ता उपन्यासहरूको महत्त्व कति छ कति । डा. ध्रुवचन्द्र गौतमका ‘कट्टेल सरको चोटपटक’ को मार्मिकता, दौलतविक्रम विष्टको ‘चपाइएका अनुहार’ को मानवीय पीडा कहाँ भुल्न सकिन्छ र ?
आज पनि बजारमा छानिइरहेका उपन्यासहरू– ‘कर्णाली ब्लुज,’ ‘प्रेतकल्प,’ ‘घनचक्कर,’ ‘लू’, ‘सेतो धरती,’ ‘बल्लीको डायरी’, ‘पानीको घाम,’ ‘उलार,’ ‘सुकरातका पाइला,’ ‘समय हराएको बेला,’ ‘लाल चुडी,’ ‘धनबहादुर र म,’ जस्ता उपन्यास पढेर नरमाउनेको होला र ?
मेरो चालीसवर्षे पुस्तक यात्रामा विभिन्न विधाका हजारौँ पुस्तक पढियो होला, सबैको चर्चा गरेर के साध्य हुनु र ? तैपनि ‘राधा’ उपन्यास लेख्नुअघि पछिल्लो कालमा लगातार तीन वर्षसम्म संस्कृत साहित्यका हिन्दी टीका गरिएका ‘अठार पुराण’, ‘महाभारत,’ तथा अन्य ग्रन्थहरू पढेँ । यी ग्रन्थहरू पढिसकेपछि माथि मैले वर्णन गरेका सबै कृतिहरू यिनै ग्रन्थहरूको सार रहेछन् भन्ने लागेको छ ।
अचेल म विभिन्न व्यक्तित्वहरूका आत्मवृत्तान्तहरूतिर तानिएको छु । हेरौँ, मेरो पठनयात्रा भविष्यमा कतातिर केन्द्रित हुने हो ।

 

 

प्रतिक्रिया