वीरगन्ज, ४ साउन । १४औ एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत बाराको सिमरामा बुधबार भएको खेलमा कास्कीले सर्लाहीलाई ४–२ ले पराजित गरेको छ । कास्कीलाई जित दिलाउने क्रममा विमला चौधरीले हयाट्रिक गरिन् । नवौँ मिनेटमा पहिलो गोल गरेपछि उनले ५५औँ मिनेटमा दोस्रो गोल गर्दै ६४औँ मिनेटमा हयाट्रिक पूरा गरिन् । यसअघि तेस्रो मिनेटमा कप्तान सुस्मिता गुरुङको गोलमा कास्कीले पहिलो अग्रता लिएको थियो । सर्लाहीका लागि दुवै गोल कप्तान मनीषा चौधरीले गरेकी हुन् ।
पहिलो अग्रता दिलाउने क्रममा सुस्मिताले मैदानको मध्यभागबाट सर्लाहीका खेलाडीलाई छक्याउँदै लगेर गोल गरेकी थिइन् । त्यसलगत्तै नवौँ मिनेटमा विमलाले अर्को एक गोल थपेर कास्कीलाई २–० को अग्रता दिलाएकी थिइन् । ३६औँ मिनेटमा सर्लाहीकी कप्तान मनीषाले एक गोल गरेपछि सर्लाही खेलमा फर्कने सम्भावना देखिएको थियो । ५०औँ मिनेटमा गोल फर्काउँदै सर्लाहीले उत्कृष्ट कमब्याक गरेको थियो । तर, सर्लाहीको त्यो खुसी पाँच मिनेटभन्दा बढी टिक्न सकेन । पाँच मिनेटपछि नै विमलाले कास्कीलाई अग्रता दिलाइन् । विमलाले ६४औँ मिनेटमा गोल थप्दै टोलीको स्कोर ३–२ गरेकी थिइन् । बुधबारको खेलमा सर्लाहीकी कप्तान मनीषा र चन्द्रा कुसुवारले पहेँलो कार्ड पाएका थिए । प्रतियोगिताअन्तर्गत सिमरामा बिहीबारदेखि दोस्रो चरणको खेल सुरु हुनेछ । बिहीबार बारा र कञ्चनपुर भिड्नेछन् । पहिलो चरणमा बाराले उदयपुर र कञ्चनपुरले काठमाडौंलाई पराजित गरेको थियो ।
पाँचथरविरुद्ध धनुषाको रोमाञ्चक जित
यसैगरी, रौतहटबाट प्राप्तसमाचार अनुसार रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न भएको खेलमा धनुषाले पाँचथरलाई ३ का विरुद्ध ४ गोलले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा पाँचथरका लागि जर्सी नम्बर १० की ज्योति सावदेनले १३औँ मिनेटमा पहिलो गोल गरी अग्रता दिलाएकी थिइन् । पाँचथरले गोल गरेपछि आक्रामक देखिएको धनुषाका लागि जर्सी नम्बर ९ की सविता राईले ४४औँ
र ४८औँ मिनेटमा गोल गरी गोल अन्तर
बढाएकी थिइन् ।
खेलको ६०औँ मिनेटमा धनुषाका लागि जर्सी नम्बर १० की प्रमिला सुनुवारले थप एक गोल गरेर अग्रता तेब्बर बनाएकी थिइन् तर खेलको ७४औँ मिनेटमा धनुषाका लागि ज्योति सावदेनले दोस्रो गोल गरी गोल अन्तरलाई नजिक ल्याएकी थिइन् । खेलको ८०औँ मिनेटमा धनुषाकी सिर्जना राईको हातमा बलले छोएपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै पाँचथरकी जर्सी नम्बर ५ की माया इस्पोले गोल गरी खेल बराबरीमा पुर्याएकी थिइन् ।
निर्धारित समय सकिँदा पनि दुवै टिमको गोल अंक बराबरी भएपछि थप बीस मिनेटको समय थपिएको थियो । थपिएको अतिरिक्त समयको ९ मिनेटमा प्रमिला सुनुवारले थप एक गोल गरी धनुषालाई विजयी बनाएकी हुन् ।
अन्य दिनभन्दा बढी दर्शकको उपस्थितिले खेल मैदान पूरै भरिएको थियो भने धनुषा र पाँचथरको समर्थनमा रौतहटवासीले खेलाडीहरूलाई उत्साहित बनाएका थिए । प्रतियोगितामा पहिलोपटक प्रतिस्पर्धात्मक खेल हेर्न पाउँदा दर्शक निकै खुसी देखिन्थे भने खेलाडीहरूमा जितका लागि संघर्ष देखिएको थियो । खेलको निर्धारित समय समाप्त हुँदा ३–३ गोलमा रोकिएको टिमका लागि त्यसपछिको थप २० मिनेटको खेल निकै संघर्षपूर्ण रह्यो । अतिरिक्त समयपछि केहीबेर निकै आक्रामक देखिएको पाँचथरलाई निरास बनाउँदै धनुषाकी प्रमिला सुनुवारले निर्णायक गोल गर्दै पाँचथरलाई खेलमा फर्किने कुनै मौका दिइनन् । बिहीबार चन्द्रनिगाहपुरमा रौतहट र ताप्लेजुङबीच प्रतिस्पर्धा हुँदै छ ।
प्रतिक्रिया