युवराज प्रारम्भिक टोलीमा छनोट

नयाँदिल्ली : आसन्न आइसिसी टि–२० विश्वकप प्रतियोगिताका लागि राष्ट्रिय टोली निर्माणमा रहेको पूर्वविजेता भारतले बुधबार ३० खेलाडी छनोट गर्दै त्यसमा युवराज सिंहलाई पनि समाहित गरेको छ । भारतका लागि राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्न नसकेका अम्बाटी रायुडु र मन्दिप सिंहलाई पनि अन्तिम ३० खेलाडीको सूचीमा राखिएको छ ।
क्यान्सर रोगका कारण पछिल्लो आठ महिना युवराजले क्रिकेट खेलेका छैनन् । अन्तिमपटक गत वर्षको नोभेम्बरमा वेस्ट इन्डिजविरुद्ध टेस्ट खेलेयता उनले क्रिकेट खेलेका छैनन् । गत अप्रिलमा अमेरिकामा क्यान्सर उपचार गराएर उनी स्वदेश फर्किएका थिए । उनको फोक्सोमा ‘ट्युमर’ देखिएको थियो ।
जनवरीमा उनी उपचारका लागि अमेरिका प्रस्थान गरेका थिए । हाल बैंग्लोरमा प्रशिक्षण गरिरहेका युवराज टि–२० मार्फत क्रिकेटमा पुनरागमन गर्ने सोच बनाइरहेका छन् । एकदिवसीय क्रिकेटमा उनी गत वर्षको अप्रिलमा सम्पन्न विश्वकपयता खेलेका छैनन् । श्वासप्रश्वासमा समस्या देखिएपछि उनले विश्वकप लगत्तै सञ्चालन भएको वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृंखलाबाट नाम फिर्ता लिनुपरेको थियो ।
भर्खरै सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल)मा किंग्स इलेभेन पन्जाबबाट खेलेका मन्दिप उक्त प्रतियोगितामा सर्वाधिक रन बनाउने तेस्रो खेलाडी भएका थिए । उनले त्यस प्रतियोगितामा ४ सय ३२ रन जोडेका थिए । मुम्बई इन्डियन्सका ब्याट्सम्यान रायुडुले १५ इनिङमा तीन सय ३३ रन जोड्दै उक्त टोलीका लागि गत संस्करणको आइपिएलमा सर्वाधिक रन जोड्ने दोस्रो खेलाडी भएका थिए । (एजेन्सी)

प्रतिक्रिया