पेरिस, ४ साउन । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मैन (पिएसजी)ले स्विडेनका चर्चित स्ट्राइकर जिलाटन इब्राहिमोभिचलाई इटालियन क्लब एसी मिलानबाट भित्र्याएको छ । ३० वर्षीय इब्राहिमोभिचलाई तीन वर्षका लागि पिएसजीले आबद्ध गरेको हो ।
पेरिस क्लब पिएसजीले २३ मिलियन युरो खर्चिएको जनाइएको छ । ‘म पिएसजीलाई धन्यवाद दिन चाहन्छु, विशेषगरी निर्देशक लिओनार्दोलाई जसले असम्भवलाई सम्भव तुल्याए ।’ पिएसजीमा आबद्ध भएपछि इब्राहिमोभिचको प्रतिक्रिया थियो । खेल जीवनमा अर्को फड्को मारेको भन्दै इब्राहिमोभिचले आफूले पैसाका लागि मात्र नसोचेको बताए ।
‘मेरो खेल जीवनको अर्को सफलता हो यो, अर्को सपना पूरा भएजस्तो लागिरहेको छ । यतिबेला मलाई मिडियाहरू मेरो घरसम्म पनि पछ्याइरहेका छन् ।’ इब्राहिमोभिचले भने, ‘वास्तवमा मैले धेरै समयअघिदेखि इच्छाएको ठाउँ हो यो । वास्तवमै म यस क्लबबाट इतिहास कोर्न चाहन्छु । म यहाँ मात्र जित्नका लागि आएको हुँ ।’
इब्राहिमोभिच पिएसजी आउने हल्ला चलिरहँदा उनले उक्त क्बलमा प्रतिवर्ष १३ मिलियन युरो पाउने चर्चा चलेको थियो । उनले पिएसजी नै आफ्नो अन्तिम क्लब हुनसक्ने बताए । ‘आजका दिनमा हेर्दा यो नै मेरो अन्तिम क्लब सम्झौता भएजस्तो देखिन्छ । आज म यहाँ छु, वास्तवमै म खेल जीवनको बाँकी समय यसै क्लबमा बितोस् भन्ने चाहन्छु ।’ पिएसजीसँगको सम्झौता सकिँदा ३४ वर्ष पुग्ने इब्राहिमोभिचले भने । उनले पिएसजीलाई फ्रान्सेली लिगको नम्बर वान भन्दा पनि विश्वकै नम्बर वान क्लब बनाउन आफ्नो ध्यान रहने बताए । दुई वर्ष एसी मिलानमा रहने क्रममा इब्राहिमोभिचले ५६ गोल गरेका थिए । स्पेनिस क्लब बार्सिलोनामा खराब प्रर्दशन भएपछि उनी एसी मिलानतर्फ लागेका थिए । ‘एसी मिलान यस्तो क्लब हो जहाँ म सधैँ खुसी रहेँ, मेरो अनुहार उज्यालो रह्यो । त्यो सबै मिलानकै कारण थियो, जहाँ म र मेरो परिवारले सधैँ सहयोग पाइरह्यो ।’ साविक क्लबलाई धन्यवाद दिँदै इब्राहिमोभिचले भने ।
यसअघि इब्राहिमोभिचले फ्रान्सकै अयाक्स, इटालीको इन्टर मिलान र युभेन्ट्समा पनि खेलेका थिए । यस वर्षको समर ट्रान्सफरमा पिएसजीले भित्र्याएका इब्राहिमोभिच चौथो खेलाडी हुन् । इजेक्विएल लाभेजी, थिआगो सिल्भा र मार्को भेराट्टी पनि हालसालै मात्र पिएसजीमा आबद्ध भएका थिए । ‘हामीले खेलाडी स्थानान्तरण सिध्यायौँ ।’ लिओनार्दोले भने, ‘आबद्ध गरिएका खेलाडीमध्ये इब्राहिमोभिच सबैभन्दा पूर्ण छन् ।’
यसअघि एसी मिलानकै ब्राजिलियन डिफेन्डर थिआगो सिल्भालाई पिएसजीले गत साताको अन्त्यमा क्लबमा भित्र्याएको थियो । ४२ मिलियन युरोमा २७ वर्षीय सिल्भा पाँच वर्षका लागि पिएसजीमा आबद्ध भएका थिए । यस सम्झौतापछि थिआगो म्यानचेस्टर युनाइटेडका रियो फर्डिनान्डपछि विश्वकै दोस्रो सबौभन्दा महँगा डिफेन्डर भएका थिए ।
पर्सीको अन्योल कायमै
नयाँ सम्झौताविना नै डच स्ट्राइकर रविन भान पर्सी यस साता इंग्लिस क्लब आर्सनलको प्रशिक्षणका लागि आइपुगे । यसले पर्सीले अन्य क्लबसँग कुराकानी गरिराखेका छन् कि भन्ने आशंका उत्पन्न भएको छ । यसै साता प्रिसिजन टुरका रूपमा मलेसिया भ्रमणमा निस्कनुअघि पर्सीसँगको भविष्यबारे केही निर्णय लिने मनस्थितिमा आर्सनल देखिएको छ । युभेन्ट्स, बार्सिलोना, रियल म्याड्रिड, म्यानचेस्टर सिटीलगायत विश्वकै ठूला क्लब पर्सीलाई भित्र्याउन आतुर छन् र आर्सनलबाट उनको बिदाइ प्रतीक्षा गरिराखेका छन् । २८ वर्षीय पर्सीले सम्झौता नवीकरण गर्ने आशामा छ आर्सनल । यतिबेला आर्सनलसँग उनको सम्बन्ध पनि राम्रो रहेको बताइन्छ ।
खेल जीवनकै उच्च लयमा रहेका पर्सीले गत सिजन इंग्लिस प्रिमियर लिगमा ३० गोल गर्दै उक्त लिगको सर्वाधिक गोलकर्ता भएका थिए । गत वर्ष सेस फेब्रिगास र सामिर नास्रीले छाडेपछि आर्सनललाई पर्सीले सम्हाल्दै आएका छन् । उनी कप्तान पनि हुन् उक्त क्लबका । यता पर्सीले भने आर्सनलसँगको सम्झौता नवीकरण नगर्ने बताइसकेका छन् । दुई साताअघि क्लब प्रशिक्षक आर्सेन बेंगरसँगको भेटपछि उनले विज्ञप्ति जारी गरी सम्झौता नवीकरण नगर्ने बताएका थिए । आर्सनलसँग उनको सम्झौता अझै एक वर्ष बाँकी छ ।
प्रतिक्रिया