लन्डन ओलम्पिकपछि अर्बौं लगानी भित्र्याइने

लन्डन, ४ साउन । आसन्न लन्डन ओलम्पिक खेलकुद प्रतियोगिता बेलायतलाई कम्तीमा एक सय ५० वर्षका लागि बेच्ने अवसर भएको यहाँका सरकारी अधिकारीले घोषणा गरेका छन् ।
विश्वकै सबैभन्दा ठूलो खेलकुद महोत्सवका रूपमा रहने ओलम्पिकको आगामी संस्करण सुरु हुन नौ दिनमात्र बाँकी छँदा बुधबार आयोजित एक कार्यक्रममा बेलायतमा ओलम्पिकलाई व्यापार तथा लगानीमा प्रयोग गर्ने अधिकार पाएको संस्थाका प्रबन्ध निर्देशक एलान कोलिन्सले लन्डन ओलम्पिकले सन् २०१६ सम्म बेलायतमा ६ अर्ब पाउन्ड लगानी आकर्षित गर्ने विश्वास व्यक्त गरे ।
‘सन् १८५१ मा बेलायतलाई राम्रोसँग चिनाएको ठूलो प्रदर्शनीयताको सबैभन्दा राम्रो अवसर हो, यो ओलम्पिक प्रतियोगिता बेलायतका लागि,’ उनले भने । सन् १८५१ लन्डनको क्रिस्टल प्यालेसमा आयोजना भएको सांस्कृतिक तथा औद्योगिक प्रदर्शनीले बेलायतलाई निकै चर्चामा ल्याएको थियो, यतिसम्म कि त्यसपछि यस प्रकारका प्रदर्शनीको विश्वभर लहर नै चलेको थियो । १९औँ शताब्दी र २०औँ शताब्दीको सुरुआतसम्म यस्तो प्रदर्शनीले निकै चर्चा पाएको थियो, खासगरी पहिचान प्रवद्र्धनका क्षेत्रमा ।
बेलायतको पर्यटकीय विकासका लागि यो ओलम्पिक उपयोगी हुने विश्वास आयोजकले लिएको छ । सन् २०११ देखि २०१५ को बीचमा ४६ लाख पयर्टक भित्र्याउने बेलायतको लक्ष्य छ । गत वर्ष महारानी एलिजाबेथ द्वितीयको हीरक महोत्सवताका उक्त लक्ष्य निर्धारण गरिएको थियो । तर, बेलायती पर्यटन प्रमुख मौसमका कारण विदेशी पर्यटक अपेक्षित संख्यामा आउनेमा शंका व्यक्त गर्छन् । बेलायत भ्रमणका कार्यकारी प्रमुख सेन्दिए डाबेले हप्तौँको वर्षाका कारण ओलम्पिक खेलकुदताका मानिसहरू आउने क्रम अपेक्षित मात्रामा नभएको बताइन् । ‘बेलायत मात्र एउटा यस्तो राष्ट्र हो, जसलाई मौसमले निकै पिरोल्ने गर्छ ।’ डाबेले प्रकृतिसँग गुनासो गरिन्, ‘साँच्ची भन्ने हो भने बीचमा आनन्द लिन मानिसहरू बेलायत आउँदैनन् ।’
बेलायतमा मानिसहरू सांस्कृतिक अवलोकन र रमणीय दृश्य हेर्नका लागि आउने गरेको उनले बताइन् । आर्थिक मन्दीको चपेटामा परेको बेलायतले ओलम्पिक खेलकुदबाट यसतर्फ राहत महसुस गर्ने अपेक्षा गरेको छ । बेलायतमा अहिले बेरोजगारी दर ८.१ प्रतिशत छ । गत मे र अप्रिल महिनाका बीचमा ०.१ प्रतिशतले बेरोजगारी दर घटेको थियो । लन्डन ओलम्पिकका लागि कामदारको आवश्यकता परेपछि बेरोजगारी दर केही मात्रामा घटेको हो । युरोपियन अर्थविद्हरूको समूहका प्रमुख होवार्ड आर्चरले खासगरी ओलम्पिक खेलकुदले बेलायतमा रोजगारीको अवसर सिर्जना गरेको बताए ।

प्रतिक्रिया