सेरेना फाइनलमा

स्टानफोर्ड : साविक विजेता तथा भर्खरै विम्बल्डन जितेकी सेरेना विलियम्स स्टानफोर्ड क्लासिकको फाइनल प्रवेश गरेकी छन् । सेमिफाइनलमा यी अमेरिकी खेलाडीले कम परिचित सोराना किस्र्टियालाई सोझो सेटमा पराजित गरिन् । उपाधिका लागि उनले पहिलोपटक डब्लुटिए प्रतियोगिताको फाइनल प्रवेश गरेकी आफ्नै देशकी कोको भान्टवेघको सामना गर्नेछिन् ।
पछिल्लो समय निकै राम्रो लयमा रहेकी सेरेना किस्र्टियाविरुद्ध ६–१ र ६–२ ले सजिलै विजयी भइन् । बल नियन्त्रणमा कमजोर देखिएकी रोमानियन किस्र्टियाले खेलभर ३२ वटा ‘अनफोर्स इरर’ गरेकी थिइन् । ‘म आजको खेलमा खुसी छैन तर जित्नका लागि जे गर्नुपथ्र्यो, त्यो मैले गरेँ,’ जितपछि सेरेनाको भनाइ थियो ।
यता २० वर्षीय भान्टवेघले यानिना विकमेयरलाई ६–२, ३–६ र ६–२ ले पराजित गरिन् । यस क्रममा अमेरिकी टेनिसमा नयाँ प्रतिभाका रूपमा देखिएकी भान्टवेघले आकर्षक ‘स्ट्रोक’ खेलिन् । ‘डब्लुटिए प्रतियोगितामा पहिलोपटक फाइनल पुग्दा निकै उत्साहित भएकी छु,’ जितपछि भान्टवेघले भनिन्, ‘युएस ओपनका लागि यो सफलता उपयोगी हुनेमा आशा लिएकी छु ।’ भान्टवेघ पूर्वओलम्पिक स्विमरकी छोरी हुन् । ‘भान्टवेघ निकै राम्रो खेलिरहेकी छन् । वास्तवमा हाम्रो भिडन्त गौरवका लागि हुनेछ,’ सेरेनाको प्रतिक्रिया थियो । गत वर्ष यसै प्रतियोगिताको उपाधि जितेर सेरेनाले टेनिस कोर्टमा पुनरागमन गर्ने क्रममा उपाधि विजययात्रा सुरु गरेकी थिइन् । उनले भर्खरै मात्र वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डन जितेर दुई वर्षयताको ग्रान्डस्लाम उपाधिविहीन यात्रा टुंग्याएकी थिइन् । (एजेन्सी)

प्रतिक्रिया