मनीषलाई रेपिड बुद्धिचाल उपाधि


काठमाडौं, ३१ असार । द हिमालयन चेस क्लबद्वारा आयोजित राजेशप्रसाद शाह स्मृति रेपिड चेसको उपाधि फिडेमास्टर तथा राष्ट्रिय विजेता मनीष हमालले जितेका छन् ।
नेपाल बुद्धिचाल संघका केन्द्रीय सदस्य रामसुरतप्रसाद शाहका छोराको सम्झनामा आयोजित स्विसलिग पाँच चरणको खेलमा मनीषले पाँचै खेल जितेका थिए । उपाधिका साथ उनले २ हजार ५ सय रुपियाँ पुरस्कार पाए । मनीषसित एक खेल गुमाएका पूर्वनेपाल च्याम्पियन बद्रीलाल नेपाली ४ अंकसहित दोस्रो भए ।
यसैगरी, हेराकाजी महर्जन तेस्रो भए । बद्रीले १ हजार ५ सय तथा हेराकाजीले १ हजार रुपियाँ पाए । त्यस्तै ३.५ अंकका साथ पूर्णराज खड्का चौथो भए भने समान ३ अंक प्राप्त गरे पनि टाइब्रेकका आधारमा मनोज चित्रकार पाँचौं, राजेन्द्रप्रसाद श्रेष्ठ छैटौं र नवीन तण्डुकार सातौं भए । पाँच चरणमा सञ्चालित एकदिने प्रतियोगितामा २४ खेलाडीको सहभागिता थियो ।
नेपालमा रेटिङ रेपिड बुद्धिचाल प्रतियोगिता भएको यो दोस्रो पटक हो । यसअघि दिवंगत चेसप्रेमी पुण्यलाल श्रेष्ठको स्मृतिमा हिमालयन चेस क्लबले नै रेटिङ रेपिड बुद्धिचालको आयोजना गरेको थियो ।

प्रतिक्रिया