काठमाडौं, ३१ असार । नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघको अध्यक्षमा मनबहादुर न्यौपाने चार वर्षका लागि निर्विरोध निर्वाचित भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार सम्पन्न संघको दोस्रो साधारणसभाले न्यौपानेको अध्यक्षतामा १८ सदस्यीय केन्द्रीय कार्यसमितिसमेत निर्विरोध चयन गर्यो । संघको पहिलो साधारणसभा ०५९ सालमा भएको थियो ।
कार्यसमितिको उपाध्यक्षमा सूर्यप्रसाद जोशी (वरिष्ठ), कृष्णप्रसाद घले तथा विनोदप्रसाद पन्त रहेका छन् । कुमार रानाभाटले महासचिव, सुदीपराज गौतमले सचिव तथा उत्तम बानियाँ क्षत्रीले कोषाध्यक्षको जिम्मेवारी पाए ।
नरेश कार्की, हीराबहादुर खाँण, आरके विष्ट, चन्द्रमान लामा, कान्छी बानियाँ, दीपक भुजेल, सरस्वती केसी, गोविन्दप्रसाद थपलिया, राधाकृष्ण भण्डारी, राजु कार्की तथा लालबहादुर थापा सदस्यमा चयन भए । महेन्द्रसिंह थापा, सन्तोष पन्त तथा सुनीलकुमार भण्डारीलाई उपाध्यक्षमा मनोनीत गरिएको अध्यक्ष न्यौपानेले जानकारी गराए । विधानत: १० सदस्यको मनोनयन हुन बाँकी छ ।
नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य रेशमलाल लामा र खेलकुद विकास विभागका प्रमुख प्रकाशचन्द्र घिमिरेले बधाईज्ञापन गरे । यसअघि राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाले साधारणसभाको उद्घाटन गरे । उक्त अवसरमा उपाध्यक्ष तिम्सिनाले खेलकुदलाई राजनीति गर्ने थलो नभई अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने माध्यमको रूपमा विकसित गर्नुपर्नेमा जोड दिए । तिम्सिनाले केही दिनअघि राखेपले गठन गरेको छानबिन समिति संघलाई व्यवस्थित र मर्यादित बनाउन गठन गरिएको बताए ।
अध्यक्षमा निर्वाचित न्यौपाने परिषद्बाट मान्यताप्राप्त एथलेटिक्स संघको पनि उपाध्यक्ष छन् । यसअघि जुडो खेलमा मात्र चासो राख्ने न्यौपाने परिषद्को बोर्ड सदस्य भएपछि थुप्रै संघमा चासो देखाउँदै आएका छन् । बोर्ड सदस्यहरू विभिन्न संघमा प्रवेश गर्ने क्रममा उनले केही समयअघि र्याफ्टिङ एण्ड क्यानोइ संघमा अध्यक्षको जिम्मेवारी लिएका थिए । यसको केही समयपछि नै निर्वाचन गर्दै उनले अध्यक्षको पदलाई निरन्तरता दिएका हुन् ।
प्रतिक्रिया