सन् १९९० को दशकमा नेपालीहरू रमाइलो, र त्यसमा पनि खासगरी शारीरिक तन्दुरुस्तीका लागि मात्र बास्केटबल खेल्थे । कम परिचित र काठमाडौं केन्द्रित खेलका रूपमा रहेको बास्केटबल खेल्न यहाका युवाहरूका लागि केही सरकारी कलेजहरू केन्द्र बन्थे । ठमेलका विपिन कपाली पनि बेलुकाबेलुका आफ्नै टोलमा रहेको अमृत साइन्स क्याम्पस(अस्कल) स्थित कोर्टमा जाने गर्थे । सामाखुसीका अनिल महर्जन पनि सोही ठाउँमा आउने गर्थे । पब्लिक युथ क्याम्पस पढे पनि विपिन र अनिललाई अस्कल आफ्नै जस्तो लाग्थ्यो, टोलमै भएको र सबै चिन्ने भएकाले ।
सन् १९९६ को कुरा हो, नेपाल बास्केटबल संघले पहिलो राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भयो र त्यसमा पब्लिक युथ क्याम्पस पनि सहभागी हुने भयो । कीर्तिपुरमा भएको उक्त प्रतियोगितामा कीर्तिपुरले उपाधि जित्यो जुन टिम रवीन्द्र महर्जनको प्रभावमा थियो । दुई वर्षदेखि खेल्न छाडेका विपेन्द्र महर्जन पनि ग्यालेक्सीबाट उक्त प्रतियोगितामा सहभागी भए । असनका विपेन्द्र त्रिचन्द्रमा बेलुका बास्केटबल खेल्न आउँथे ।
हरेक शनिबार विपिन र अनिल बास्केटबल खेल्न त्रिचन्द्र आउँदा उनीहरूसँग विपेन्द्रको भेटघाट हुने गथ्र्यो । राष्ट्रिय च्याम्पियनसिपमा पनि यी खेलाडीबीच भेटघाट भएको थियो । त्यसैले गर्दा यो साप्ताहिक भेटले उनीहरूलाई क्रमश: नजिक्याउँदै लग्यो । दिनहुँ भेटघाट हुन थाल्यो र सँगसँगै बास्केटबल खेल्ने क्रम अगाडि बढ्यो ।
लिटिल एन्जल्स स्कुलका परीक्षित प्रधानले बास्केटबल निष्क्रिय बनिरहेका बेला सन् १९९९ तिर आकर्षक पुरस्कार राशिको एलए कप आयोजना गर्ने निर्णय गरे । यसका लागि विपिन, विपेन्द्र र अनिल एकै ठाउँमा जम्मा भएर खेल्ने तयारी भयो । उनीहरूलाई ठमेलकै स्थानीय भगवान् बाल स्पोर्ट्स क्लबले खेलाउने भयो । यत्तिकैमा अमेरिकामा रहेका र राम्रो बास्केटबल खेल्ने कर्मा गुरुङ पनि घर फर्किए र सानैदेखि चिनेका विपिनको नजिक हुँदै भगवान् बाल स्पोटर््स क्लबमा सामेल भए । विपेन्द्र र कर्माको उपस्थितिले विपिन र अनिल उत्साही थिए र अन्तत: यो टिमले एलए कप जित्यो र जित्यो– ३० हजार नगद पनि ।
‘आइरिस पब’ रेस्टुराँका फिरोज प्रधानले यसक्रममा उक्त टोलीलाई ठूलो सहयोग गरे । यसपछि भने यो टोली दिनहुँजसो अमृत साइन्स क्याम्पसमा आएर खेल्न थाल्यो, जहाँ थिए स्ववियु सभापति लामा टेन्डी शेर्पा (नेपाल बास्केटबल संघका वर्तमान अध्यक्ष) । यत्तिकैमा दोस्रो राष्ट्रिय च्याम्पियनसिप पनि हुने भयो, सन् २००१ मा ।
दिनहुँ आएर खेल्ने भएकाले विपिनको टोलीलाई अस्कलबाटै खेल्न आग्रह भयो । अस्कलमै पढ्ने ओमचन्द्र घले पनि उनीहरूसँगै खेल्ने गर्थे । पछि दोस्रो राष्ट्रिय च्याम्पियनसिपमा विपिनको टोली अस्कल नामबाट सहभागी भयो, जुन प्रतियोगिता अस्कलले नै जित्यो । तर, दुर्भाग्य सो प्रतियोगिता दौरान विपिन लिगामेन्टको समस्यामा परे, जसले उनको खेल जीवन नै संकटमा पार्यो । त्यसपछि भने उनी खेल्न छाडे र करिब आफू समानका खेलाडी रहेको आफ्नो टिमलाई सिकाउन थाले । हुन त त्यतिबेला प्रशिक्षणको व्यवस्था नै थिएन र आपैँmले सिक्ने गर्थे खेलाडी पनि । यद्यपि, टिमको सिनियर भएकाले उनैले सो जिम्मेवारी सम्हाले र अनुभवका आधारमा काम गर्न सुरु गरे ।
समिप थापालगायत टिमका केही सदस्य एस इन्स्टिच्युटमा पढ्ने गर्थे । उनीहरूकै पहलमा विपिनको टोली एसतर्फ लाग्यो । अस्कलभन्दा केही फरक थिएन एस पनि, डाइट र जर्सी उसले पनि दिन्थ्यो । एसमा आए पनि उनीहरूले अस्कलमै दिनहुँ अभ्यास गर्थे । अन्तत: एसकै नाममा उनीहरूले सन् २००३ मा आयोजित तेस्रो राष्ट्रिय च्याम्पियनसिप पनि जिते ।
त्यसपछि उनीहरूलाई भर्खरै स्थापना भएको ह्वाइट हाउसले बोलायो । खेलकुदलाई प्रयोग गरी माथि आउन कलेज र विद्यालयले अपनाउने गरेको रणनीति त्यतिबेला भर्खरै सुरु भएको थियो । ह्वाइट हाउसका खेलकुद प्रशिक्षक विश्वराम टण्डनले ह्वाइट हाउसमा मिलाइदिन्छु भने उनीहरूलाई । तर, विपिनको टोलीले सर्त राख्यो, जर्सी, इन्ट्री फी र डाइट कलेजले बेहोर्नुपर्छ र उपाधि जितेबापत् २५ हजार पाउनुपर्छ । त्यसमा सहमति जुट्यो । सन् २००४ र २००५ मा ह्वाइट हाउसका लागि राष्ट्रिय च्याम्पियनसिप दिलायो, उक्त टोलीले । उता राष्ट्रिय बास्केटबलमा कीर्तिपुर कमजोर हुँदै गएपछि सो टोलीका राष्ट्रिय खेलाडी रवीन्द्र पनि विपिनकै टोलीमा आए । यसले टोली थप बलियो भयो । यद्यपि सन् २००६ को संस्करणमा फाइनल पुगे पनि ह्वाइटहाउस रिब्ससँग पराजित भयो । यसले ह्वाइटहाउस आत्तिएन र अर्को वर्ष पुनरागमन गर्दै राष्ट्रिय विजेता भयो ।
त्यसपछि भने ह्वाइटहाउस कलेज टुक्रियो र त्यसबाट नयाँ कलेज आयो गोल्डेनगेट । ह्वाइटहाउसमा रहेका गोल्डेनगेटका सेयर होल्डरलाई राम्रोसँग थाहा थियो, बास्केटबलले कलेजलाई चर्चामा ल्याउँछ भन्ने । त्यसै कारण ह्वाइट हाउसको बास्केटबल टोली पनि गोल्टेनगेटमा भित्रियो ।
गोल्डेनगेटबाट पनि विपिनको टोलीले राष्ट्रिय बास्केटबलमा आफ्नो प्रभाव कायम राख्यो । लगातार दुईपटक राष्ट्रिय च्याम्पियन भयो । दुई वर्षअघि फाइनलमा नासासँग पराजित भएयता गोल्डेनगेट अर्थात् विपिनको टोली लगातार दुईपटक राष्ट्रिय च्याम्पियन भइसकेको छ ।
भर्खरै मात्र फाइनलमा साउथ साइडर्सलाई हराएर विपिनको टोली नवौँपटक राष्ट्रिय विजेता भयो । अर्थात् पुरुष बास्केटबलमा १२ वटा संस्करण सम्पन्न हुँदा एउटै टिम ११ पटक फाइनल पुग्यो । र, क्लब जुनसुकै भए पनि विजेता टोलीको अनुहार भने प्राय: एउटै हुने गरेको छ ।
यसै कारण घरेलु खेलकुदमा यो टिम नै सर्वाधिक सफल खेल टिमका रूपमा हेर्ने गरिन्छ, भलै काठमाडौं केन्द्रित बास्केटबल पछिल्लो समय मात्र केही चर्चामा छ, अन्तर्राष्ट्रिय उपलब्धि नभए पनि । यसका पछि अनेक कारण छन् । नेपाली बास्केटबलकै पहिलो पुस्ताका हस्तिहरू यो टिममा रहेकाले सर्वाधिक अनुभवी छ । रवीन्द्र र विपेन्द्रले १० वर्ष राष्ट्रिय टोलीमा बिताए । सन् २००१ मा नेपालले अन्तर्राष्ट्रिय बास्केटबल यात्रा थाल्दा विपेन्द्र र रवीन्द्रकै प्रभाव करिब एक दशक राष्ट्रिय टोलीमा रह्यो । कर्माले पनि केही समय राष्ट्रिय टोलीका लागि खेलेका छन् । खासगरी यस टिमका सूत्राधार विपिन भन्छन्, ‘हामीलाई टिमको माया छ अनि मात्र क्लबको । त्यसैले हामी सफल छौँ ।’ कुनै औपचारिक प्रशिक्षण नलिएका विपिन नेपाली बास्केटबलमा सर्वाधिक सफल प्रशिक्षकका रूपमा स्थापित छन् । ‘मैले खेलाडीलाई साथीसरह व्यवहार गरेँ र उनीहरूलाई बुभेँm ।’ ४० वर्षीय विपिन सफलताको राज खोल्छन् ।
एउटा क्लब वा कलेजबाट अर्कोमा जाने क्रममा यसै टिमले नेपालमा मात्रा थोरै भए पनि व्यावासायिक बास्केटबलको सुरुआत गर्यो । खासगरी, पछिल्लो समय राजधानीका हरेक कलेजमा बास्केटबल कोर्ट हुनु र ठूला कलेजहरू ह्वाइट हाउस, प्राइम, नासा, प्रिमियरलगायतले टिम किनेर राख्नुमा यो टोलीको भूमिका कम छैन । खेलाडी तानातानको स्थितिमा पनि यो टिम एक ढिक्का भएर बसेको छ । कुनै पनि खेलाडी छुट्टिएका छैनन्, बरु राम्रा खेलाडी थपिएका छन् । ६ वर्षअघि यो टिममा भित्रिएका अहिलेका प्रभावशाली खेलाडी सुशील गुरुङ लामो समय यसमा रहनु नै यसको ज्वलन्त उदाहरण हो । ‘हामी बास्केटबललाई माया गर्छौं । यसैमा सन्तुष्टि देख्छौँ । हाम्रोमा आदरसत्कारको राम्रो संस्कृति छ ।’ टिम एक हुनु, अनुशासित रहनु र सफल हुनुको कारण प्रस्ट बनाउँदै विपेन्द्रले भने ।
केही गर्दा होस वा बाहिर कहीँ रमाइलो गर्न जाँदा यो टोली छुट्टिने सम्भावना कम रहन्छ । पहिलाजस्तै यतिबेला पनि हरेक साँझ यो टोली एकपटक भेट गर्छ र प्रशिक्षणमा उत्रन्छ । हरेकले खेलबाहेक आ–आफ्नै पेसा अँगालेका छन् । टिमका धेरै सदस्य बास्केटबल प्रशिक्षण पनि गर्छन् । तर, पनि उनीहरू थाक्दैनन् र समय निकाल्दै भेटिहाल्छन् । विपिन भन्छन्, ‘एक दिन भेटिएन भने खिन्न लाग्छ । कस्तो–कस्तो हुन्छ ।’ करिब डेढ दशकको सहकार्यपछि विपेन्द्रलाई लाग्न थालेको छ, ‘यो टिम सधैँ बलियो हुनुपर्छ जस्तो लाग्छ । यसका लागि नयाँ पुस्तालाई बलियो नबनाई छाड्नुहुन्न ।’ उनी अझै दुई/तीन वर्ष खेल्ने बताउँछन् र त्यसपछि भने टिमका लागि कुनै न कुनै रूपले सहयोग गर्ने वाचा सुनाउँछन् ।
अन्तर्राष्ट्रिय बास्केटबलमा नेपालको उपस्थिति राम्रो छैन । यस्तो स्थितिमा करिब दुई दशक खेल्नुको मोटिभ के त ? विपेन्द्र भन्छन्, ‘म सन्तुष्टिका लागि खेल्छु, बास्केटबलविना आफूलाई अपुरो ठान्छु ।’ तर, पनि उनलाई देशको बास्केटबलको स्थिति देखेर वाक्क लाग्छ रे † ‘राष्ट्रिय खेलाडीले प्रशिक्षण गर्दा आफ्नै पैसाले डाइट खानुपर्ने स्थिति छ यहाँ,’ उनले अनुभव सुनाए, ‘अर्को कुरा काठमाडौंमै केन्द्रित छ बास्केटबल ।’ यता यसै कुरामा विपिन थप्छन्, ‘प्रशिक्षकका नजरमा मैले बास्केटबल ओरालो लागिरहेको देख्दै छु, दर्शक ह्वात्त घटेका छन् । एकजनाले बास्केटबल हाकेजस्तो देखिएको छ ।’
खैर, अरू जेसुकै भए पनि पनि फिरन्ते जस्तो आफ्नो टोलीको सान ढल्न नदिने बताउँछन् विपेन्द्र र विपिन । ‘यत्रो समय बिताएर यहाँसम्म ल्याइयो अब बाँचुन्जेल हामी यस टिममा आँच आउन दिन्नौँ । त्यसका लागि अहिलेजस्तै मिहेनत गर्छौं, सहकार्य गर्छौं ।’
प्रतिक्रिया