सेरेनाका लागि दिक्कलाग्दो तर महत्त्वपूर्ण समय

स्टाम्फोर्ड, २९ असार । सेरेना विलियम्सले गत साता विम्बल्डन जितेर आफ्नो दुईवर्षे ग्रान्डस्लाम उपाधिविहीन यात्रालाई टुंग्याइन् । यसक्रममा उनले निकै संघर्ष गर्नुपर्‍यो । साँच्ची भन्ने हो भने यस सफलतापछि त उनी राहत महसुस गर्दै सहज भएर बस्नुपर्ने हो तर सेरेना यतिबेला भन्न थालेकी छन्, ‘खेलजीवनकै सबैभन्दा दिक्कलाग्दो समय यतिबेला म बिताइरहेकी छु ।’ उनले लगातारको कार्यक्रमका कारण आफूले सुत्नसम्म पर्याप्त समय नपाएको बताएकी छन् ।
विम्बल्डन जितेको तीनदिन पनि बित्न नपाउँदै यी अमेरिकी विश्वस्टारले आसन्न लन्डन ओलम्पिक खेलकुदलाई केन्द्रित गर्दै प्रतियोगिता खेल्ने क्रमलाई जारी राखेकी छन् । उनी मंगलबार विम्बल्डन सञ्चालन भएको कोर्टदेखि करिब ५ हजार माइल टाढा रहेको स्टामफोर्डमा टेनिस खेल्न प्रस्थान गरिन् । ‘मलाई थाहा छैन, यतिबेला म कहाँ छु ?’ रमाइलो पारामा तर वास्तविकता महसुुस गराउने प्रयास गर्दै सेरेनाले भनिन् । एकल स्पर्धामा १४ वटा ग्रान्डस्लाम उपाधिविजेता सेरेनाले सोमबार लन्डन छाडिन् र स्टाम्फोर्ड पुग्नुअघि फ्लाइटमा कम्तीमा पाँचवटा फिल्म हेरिन् । आफ्नो सबैभन्दा प्रिय फिल्म ‘द हंगर गेम्स’ पनि त्यसक्रममा हेर्न भ्याएकी सेरेनाले यसैकारण धेरै समय सुत्न पाइनन् र केही घन्टा आराम गरी स्टाम्फोर्डमा सञ्चालन हुन लागेको बैंक अफ दि वेस्ट क्लासिकका लागि अभ्यासमा उत्रिन् ।
तीव्र व्यस्तताका बीच स्टाम्फोर्ड पुगेकी सेरेनाका लागि यो प्रतियोगिता अत्यन्तै महत्त्वपूर्ण मानिएको छ । उनी यस प्रतियोगिताको गत संस्करणकी विजेता हुन् तर यो मात्र चुरो कुरा होइन । फाइनलमा मारियन बार्तोलीलाई पराजित गरी गत वर्ष यसै प्रतियोगिताबाट उनले पुनरागमन गरेकी थिइन् । खुट्टाको शल्यक्रिया र फोक्सोमा रगत जम्ने समस्याका कारण जीवनमरणको स्थितिमा पुगेकी सेरेना भाग्यवश त्यसबाट जोगिँदै टेनिसकोर्टमा उत्रन सफल भएकी थिइन् । यसरी पुन: फर्कने क्रममा सेरेनाले पहिलो डब्लुटिए उपाधिका रूपमा गत वर्ष बैंक अफ दि वेस्ट क्लासिक जितेकी थिइन् । ‘यस प्रतियोगितामा म साँच्ची नै अरू कुरा छाडेर पनि आउन चाहन्थेँ ।’ भावनामा बहकिँदै सेरेनाले भनिन्, ‘यो यस्तो ठाउँ हो जहाँबाट मैले आफ्नो टेनिसजीवन सुरु गरेँजस्तो लाग्छ । लन्डनबाट यहाँसम्म आइपुग्नु नै मैले सफलता ठानेकी छु ।’ विम्बल्डनमा सेरेनाले एकलतर्फ मात्र होइन आफ्नै दिदी भेनससँग मिलेर महिला युगलतर्फको पनि उपाधि जितेकी थिइन् । यसै महिना सुरु हुने ओलम्पिक खेलकुदमा पनि सेरेना दिदी भेनससँगै लन्डनमा उत्रिनेछिन् । विलियम्स दिदी–बहिनीले सन् २००० र २००८ को ओलम्पिक संस्करणमा महिला युगलमा स्वर्णपदक जितेका थिए । सेरेनाले एन्डी रोडिक र जोन इस्नरमध्ये एकसँग मिलेर पुरुष युगलतर्फ पनि प्रतिस्पर्धा गर्ने कार्यक्रम छ ।
आजभन्दा एक वर्षअघि ओलम्पिक आयोजना हुन्थ्यो भने सेरेनाले यस प्रतियोगितामा सहभागिता जनाउन सक्ने अवस्था थिएन । सन् २०१० को विम्बल्डन जितेको दुई सातापछि एक पार्टीमा सहभागी हुने क्रममा सेरेनाको खुट्टा सिसाले काटेको थियो जसले उनको खेलजीवन मात्र होइन जीवन नै जोखिममा पुर्‍याएको थियो । यसले गर्दा गत वर्ष उनमा विभिन्न स्वास्थ्य समस्या देखिएको थियो । फोक्सोमा रगत जम्नेदेखि पेटमा छालाभित्र रगतका थैलीहरू रहनेसम्मका समस्या देखिएका थिए ।
यतिबेला सेरेना पहिलाभन्दा पनि राम्रो लयमा देखिएकी छन् । ‘उनले आफूलाई महान विजेताको रूपमा पुष्टि गरेकी छन् ।’ भरखरै मात्र अग्निएस्का राड्वान्स्कालाई हराएर विम्बल्डन जितेकी सेरेनाबारे रोडिकको भनाइ छ, ‘उनी कमब्याककी ग्रान्डमास्टर हुन् ।’ एजेन्सी

प्रतिक्रिया