काठमाडौंमा टाइफाइडको उच्च जोखिम

काठमाडौं, २९ असार । काठमाडौं उपत्यका विश्वमै टाइफाइडको उच्च जोखिमयुक्त सहर रहेको भन्दै विज्ञहरूले सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । फोहोर पानी र खाद्यपदार्थबाट सजिलै फैलने टाइफाइडका लागि काठमाडौंको वातावरण सबैभन्दा उपयुक्त भएकाले सरकारले त्यसविरुद्ध कार्यक्रम बनाउनुपर्ने उनीहरूको भनाइ छ ।
‘काठमाडौं उपत्यका विश्वकै टाइफाइडको उच्च जोखिम रहेका ठाउँमध्ये एक हो,’ स्वास्थ्य सेवा विभागअन्तर्गतको बालस्वास्थ्य महाशाखाका निर्देशक डा. श्यामराज उप्रेतीले भने, ‘ग्रामीण क्षेत्रका बासिन्दा अवसरको खोजीमा सहर पस्ने गरेकाले बढ्दो जनघनत्व, शुद्ध खानेपानी अभावलगायतका कारण काठमाडांैमा टाइफाइडको जोखिम बढिरहेको छ ।’
राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा महाशाखाका निर्देशक डा. उप्रेतीले काठमाडौंकेन्द्रित खोप कार्यक्रम सञ्चालन गर्नु अत्यावश्यक रहेको बताए । गत वर्ष काठमाडौंमा गरिएको एक सर्वेक्षणमा १ हजार ६ सय जनामा टाइफाइडको जीवाणु देखापरेको जानकारी उनले दिए ।
डा. सरला मल्लका अनुसार पानीजन्य रोगका रूपमा चिनिने टाइफाइडको बढी प्रभाव १५ वर्षभन्दा कमका बालबालिकामा देखिने गरेको छ । ज्वरो विभिन्न किसिमले आउन सक्ने भए पनि नेपालमा भने अधिकांश ज्वरोले टाइफाइड नै निम्त्याउने गरेको डा. मल्लले बताइन् ।
‘गत वर्ष गरिएको एक सर्वेक्षणले ज्वरो आएका बिरामीको मात्रै रगत परीक्षण गर्दा १५ वर्षभन्दा कम उमेरका ४७ प्रतिशतमा टाइफाइडको जीवाणु भेटिएको थियो भने १५ देखि ३० वर्ष उमेर समूहका ३९ प्रतिशतमा टाइफाइड पाइएको थियो,’ उनले भनिन् ।
मित्र समाजले गत वर्ष ललितपुर र भक्तपुरका गरी क्रमश: ७७ हजार र ६६ हजार विद्यालय तहका बालबालिकालाई अभियानकै रूपमा सञ्चालन गरेको टाइफाइडविरुद्धको खोप कार्यक्रम प्रभावकारी भएको जानकारी कार्यक्रममा दिइएको थियो । गत वर्ष सेप्टेम्बरदेखि डिसेम्बरसम्म ललितपुर उपमहानगरपालिका र गाविसका विद्यालयमा तथा डिसेम्बर र जनवरीमा भक्तपुरमा टाइफाइडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिएको थियो ।
विद्यालयकेन्द्रित खोप कार्यक्रममा दुवै जिल्लाका झन्डै शतप्रतिशत विद्यालयले सहभागिता जनाएकाले कार्यक्रम प्रभावकारी बनेको बालस्वास्थ्य महाशाखाले जनाएको छ । ललितपुरमा दुई चरणमा सञ्चालन गरिएको कार्यक्रममा ७७ हजार ७ सय ६५ जना विद्यार्थीलाई खोप दिइएको थियो । ललितपुरमा कार्यक्रम सफल देखिएपछि भक्तपुरका ३ सय ४२ स्कुलका झन्डै ६६ हजार विद्यार्थीलाई खोप कार्यक्रममा सहभागी गराइएको टाइफाइड खोप कार्यक्रमका व्यवस्थापक सञ्जय ढकालले जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनले एक लाखमा परीक्षण गर्दा एक सयजनाभन्दा बढी व्यक्तिमा देखियो भने त्यसलाई उच्च जोखिम भन्ने गरेको छ । एक लाखमा १० जनाभन्दा कम भयो भने त्यो पूर्णरूपमा सुरक्षित मानिन्छ ।

प्रतिक्रिया