प्रहरी ब्यारेकबाटै हरायो एसएलआर

काठमाडौं, २९ असार । जिल्ला प्रहरी कार्यालय पर्साबाट बुधबार राति एकथान अत्याधुनिक हतियार हराएको छ ।

जिल्ला प्रहरी कार्यालय परिसरबाटै म्यागजिनसहितको एसएलआर राइफल हराएको हो । डयुटीका लागि प्रहरी कार्यालयबाट बुधबार साँझ प्रहरी जवान डम्बरबहादुर माझीले बुझेको म्यागजिनसहितको राइफल हराएपछि प्रहरीले यो घटनालाई लुकाउन खोजेको छ । बुधबार साँझ ६ बजे राइफल बुझेर डयुटीमा खटिएका माझी राति १२ बजे डयुटी सकेर प्रहरी कार्यालयमै फर्किएका थिए । डयुटी सकेर प्रहरी कार्यालय परिसरमै रहेको ब्यारेकमा माझी हतियारसहित सुतेका थिए । बिहीबार बिहान माझी उठ्दा हतियार गायब भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
माझीलाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा लिएको छ । राइफल हराएका माझी बुधबार बेलुकी डयुटी खटिएको ठाउँ प्रहरीले खुलाएको छैन । ‘राइफल खोजीका लागि माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको छ,’ एसपी पीताम्बर अधिकारीले भने, ‘अनुसन्धानपछि पक्कै पत्ता लाग्नेछ ।’
माझीले एसएलआर राइफल हतियारका कारोबारीलाई बेचेको हुन सक्ने आशंका गरिएको छ । ‘हतियार गायब हुनुमा प्रहरीभित्रकै मान्छेको संलग्नता छ,’ एसपी अधिकारीले भने, ‘बेचेको हो या डयुटीमा जाँदा छाडेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।’
उनले शंकास्पद अरू प्रहरीमाथि पनि आन्तरिक रूपमा अनुसन्धान र छानबिन भइरहेको बताए । एसएलआर राइफल हराएका प्रहरी जवान माझी रामेछापका बासिन्दा हुन् । यसअघि २० दिनपहिले पनि जिल्ला प्रहरी कार्यालयबाटै एसएलआर राइफलको ४५ राउन्ड गोली हराएको थियो । गोली हराएको आरोपमा प्रहरी जवान वीरचन्द्र यादव प्रहरी हिरासतमै छन् ।
उसो त एसपी अधिकारी रौतहटको प्रहरी प्रमुख रहँदा पनि जिल्ला प्रहरी कार्यालयबाटै एक थान एसएलआर राइफल हराएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटबाट २४ भदौ ०६७ मा एसएलआर राइफल हराएको हो । हतियार हराएपछि प्रहरी जवान रामकृष्ण चौधरी र प्रभु राय यादवलाई नियन्त्रणमा लिइएको थियो । हतियार बुझेका प्रहरी जवान चौधरी गौर कारागारमा सजाय भोगिरहेका छन् भने यादव धरौटीमा रिहा भएका थिए ।
रौतहटबाट हतियार हराएपछि एसपी अधिकारी सुडान काण्डमा पनि मुछिएका थिए र निलम्बनमा परेकाले हराएको हतियार खोज्न असफल भएका थिए । हतियार हराएको विषयमा खोजबिन र घटनाको छानबिनका लागि त्यतिखेर सरकारी वकिलको अध्यक्षतामा छानबिन समिति पनि गठन गरिएको थियो ।
प्रहरी कार्यालयभित्रबाटै २४ भदौ ०६७ मा हराएको हतियार जिल्ला प्रहरी कार्यालय रौतहटमै कार्यरत प्रहरी जवान छोटेलाल ठाकुरले एक लाख २० हजार रुपियाँमा बारामै बिक्री गरेको रहस्य केही दिनअघि मात्रै खुलेको थियो । पर्सा जिल्ला प्रहरी कार्यालय प्रमुखको रूपमा अधिकारी आएपछि रौतहटबाट हराएको हतियारको पत्ता लगाउन उनले प्रयास गरेका थिए ।
सुराकीका आधारमा एसपी अधिकारीले हतियार बेच्ने ठाकुरलाई रौतहटबाट पर्सा झिकाएपछि ठाकुरले एसएलआर राइफल आफूले चोरी गरेको स्विकारेका थिए । उनले चोरेको हतियार झन्डै दुई वर्षसम्म आफ्नै घरमा राखेको र २६ जेठ ०६९ मा बाराका एक व्यक्तिलाई एक लाख २० हजार रुपियाँमा बेचेको बताएका थिए ।
हतियार चोर्ने प्रहरी जवान ठाकुरलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको भए पनि ठाकुर एक साताअघि पर्सा प्रहरीकै हिरासतबाट फरार भएका छन् । सौर्यसँगको कुराकानीमा एसपी अधिकारीले आफू रौतहटमा प्रमुख हुँदा हतियार हराएको स्विकारे पनि ठाकुरका बारेमा केही थाहा नभएको बताए । उनले भने, ‘मैले रौतहटबाट कसैलाई झिकाएको छैन, म पर्सामा छँदा प्रहरी हिरासतबाट कोही फरार भएको पनि छैन ।’

प्रतिक्रिया