दुई सन्तानकी आमाबाट ओलम्पिक पदकको आस

मणिपुर, २७ असार । महिला मुक्केबाज म्याक मेरी कोमले जिममा गरेको अभ्यास देखेपछि फिजियो र भारतीय बक्सिङका अधिकारीहरू उनले ओलम्पिकमा राम्रो प्रदर्शन गर्ने आशा गर्न थालेका छन् । भारतको विकट गाउँको किसान परिवारमा जन्मिएकी कोम कठिन परिश्रमकै कारण पाँचपटक विश्वच्याम्पियन भइसकेकी छन् । दुई सन्तानकी आमा रहेकी कोम नै आसन्न ओलम्पिकमा सबैभन्दा आशा गर्नलायक भारतीय खेलाडी हुन् । म्यांगटे चुंङगीङाम मेरी कोम पूरा नाम भएकी यी स्टार २९ वर्षअघि मणिपुरमा जन्मिएकी थिइन् । चार सन्तानमध्येकी जेठी कोमले अभिभावक सामान्य किसान परिवारकै भएका कारण अत्यन्त कडा मिहिनेत गर्नुपरेको थियो ।
ज्याकी च्याङ, ब्रुस ली र अन्य मार्सलआर्टसम्बन्धी फिल्मबाट पावरगेममा आकर्षित यी स्टारले बक्सिङ स्टार भएपछि नै आफूलाई गरिबीबाट मुक्त गराएकी हुन् । ‘मैले पढाइ नै छाडेर खेलमा ध्यान दिएँ । म एथलेटिक्सका पनि सबै खेल खेल्न सक्छु । ज्याभलिन, डिस्कस र दौड पनि मलाई सामान्य लाग्छ,’ कोमले भनिन् । सन् २००० मा मणिपुरमा बक्सिङको प्रान्तीय च्याम्पियनसिपमा महिला स्पर्धा पनि समावेश हुने सुनेपछि त्यसतर्फ आकर्षित भएकी उनले चार महिनामा सफलता पाएकी थिइन् ।
आफू बक्सिङमा लागेको कुरा अभिभावकले थाहा नपाऊन् भन्ने ध्येय भए पनि पहिलोपटक नै पदक पाएपछि उनी समाचारको पात्र बनेकी थिइन् । यसैकारण यो कुरा परिवारका सामु लुक्न पनि सकेन । उनका बाबु त्यो समय छोरी घाइते हुने हो कि भन्ने चिन्तामा थिए । कोमले मुस्किलले बाबुको चित्त बुझाएकी थिइन् । खेल प्रतिबद्धताकै कारण उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान पाउनुका साथै परिवारलाई पनि गरिबीबाट मुक्त गराएकी थिइन् ।
उनी आफैले बक्सिङ एकेडेमी स्थापना गरिन् भने विवाहपछि दुई सन्तानकी आमा पनि भएकी छन् । मणिपुरको गाउँमै रहेका उनका श्रीमान्ले बच्चा हेर्ने काम गर्नेछन् । उत्कृष्ट खेलाडी हुनुका बाबजुद उनले प्रायोजक पाउन लामो समय संघर्ष गर्नुपरेको थियो । ‘मेरो अनुहार पनि भारतीयभैँm नभएको भएर हुन सक्छ,’ उनले भनिन् । उनको घर मणिपुर म्यान्मारको सिमानासँग जोडिएको छ भने अनुहार चाइनिज या दक्षिणपूर्वीहरूको भैँm देखिन्छ ।
२७ लाख मात्र जनसंख्या रहेको मणिपुर ‘सेभेन सिस्टर’ मध्ये एकको रूपमा रहेको छ । जुन, भारतको सिमाना छेवैमा रहेको छ भने अन्य पाँच देशसँग सिमाना जोडिएको छ । शस्त्रधारीसमूहको आक्रमणबाट ससुरा गुमाएकी कोमले मणिपुरमै खोलिएको एकडेमीमा स्थानीय गरिब र विपन्न वर्गलाई प्राथमिकता दिएपछि अत्यन्त लोकप्रिय बनेकी छन् । ‘धेरै युवा मकहाँ आउँछन् र प्रशिक्षण दिन भन्छन् । नाइँ भन्न नै सक्दिन । यीमध्ये धेरैजना गरिब रहेका छन्,’ उनले भनिन् ।
चीनमा भएको महिला बक्सिङ विश्वच्याम्पियनपछि कोम ओलम्पिकमा पहिलोपटक समावेश महिला बक्सिङमा सहभागी हँुदै छिन् । उनले प्रतिस्पर्धा गर्ने ४८ देखि ५१ किलो तौलसमूह लन्डन ओलम्पिकमा समावेश तीन तौलसमूहमध्ये सबैभन्दा कम तौलसमूह हो । उनले आफूभन्दा बढी तौल भएका पुरुषहरूसँग स्पाइरिङ गरिरहेकी छन् । चीनमा भएको एसियन च्याम्पियनसिपमा ५१ किलो तौलसमूहमा पहिलो स्थान पाए पनि उनी पछिल्लो विश्व च्याम्पियनसिपको क्वार्टरफाइनलमा आश्चर्यजनक ढंगले बेलायती खेलाडीसँग पराजित भएकी थिइन् । उनी मुस्किलले ओलम्पिकमा छनोट भएकी हुन् । उनका प्रशिक्षक चाल्र्स एटकिन्सन लन्डन ओलम्पिकमा उनकी शिष्य पराजित गर्ने कठिन खेलाडी भएको बताउँछन् । लन्डन ओलम्पिककै लागि उनले पुरुषहरूले जस्तो ‘ड्राइभ’ को तयारी गरेकी छन् । एजेन्सी

प्रतिक्रिया