म्यानसिनी सिटीमै थप पाँच वर्ष

लन्डन, २७ असार । यस सिजन म्यानचेस्टर सिटी (म्यानसिटी) लाई इंगलिस प्रिमियर लिग (इपिएल) उपाधि दिलाएका प्रशिक्षक रोबर्टो म्यानसिनीले सो क्लबसँगको सम्झौता नवीकरण गर्दै आफ्नो कार्यकाल पाँच वर्ष लम्ब्याएका छन् । म्यानसिटीले जनाएअनुसार इटालियन म्यानसिनी दुई पक्षबीचको सम्झौता पाँच वर्षले नवीकरण गर्न सहमत भएका छन् ।
‘म्यानचेस्टर सिटी आज यो खबर सुनाउँदा आनन्दित महसुस गरिरहेको छ कि म्यानसिनीसँगको सम्झौता नवीकरण भएको छ,’ म्यानचेस्टर सिटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘पछिल्ला चार दशककै सबैभन्दा सफल सिजनका रूपमा रहेको यस सिजनमा प्राप्त सफलताले यो नवीकरण सम्भव भएको हो ।’ अब म्यानसिनी म्यानसिटीमा कम्तीमा सन् २०१७ को समरसम्म रहनेछन् ।
लिगको अन्तिम खेलमा क्विन्सपार्क रेन्जर्स (क्युपिआर) विरुद्ध प्राप्त नाटकीय जितले म्यानसिटी ४४ वर्षपछि घरेलु लिग उपाधि जित्न सफल भएको थियो । इपिएल च्याम्पियन बन्ने क्रममा म्यानसिटीले साविक विजेता म्यानचेस्टर युनाइटेडलाई गोलअन्तरमा पछि पारेको थियो ।
क्लबको खराब प्रदर्शनपछि सन् २००९ मा बर्खास्त भएका मार्क हयुग्सको स्थान इन्टर मिलानका पूर्वप्रशिक्षकसमेत रहेका म्यानसिनीले लिएका थिए । म्यानसिनीको पहिलो पूरा सिजनमा म्यानसिटीले एफए कप जित्दै ३५ वर्षयताको उपाधिविहीन यात्रा टुंग्याएको थियो । त्यसैगरी इपिएलको तेस्रो स्थानमा राखेर उनले म्यानचेस्टर सिटीलाई युरोपियन च्याम्पियन्स लिगमा पनि छनोट गराएका थिए । ‘म्यानसिटीमा रहेर थप पाँच वर्ष आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्ने अवसर पाएकोमा म खुसी छु,’ म्यानसिटीको आधिकारिक वेबसाइटमा म्यानसिनीले भनेका छन्, ‘अहिलेको उपलब्धिलाई निरन्तरता दिनु मेरा लागि अवसर र चुनौती हो ।’ ४७ वर्षीय यी पूर्वइटालियन फरवार्डले म्यानसिटीका मालिकदेखि स्टाफसम्म मज्जाको भएको र यसैकारण म्यानसिटी ‘फ्यान्टास्टिक’ क्लब भएको बताएका छन् । एजेन्सी

प्रतिक्रिया