राष्ट्रिय टोलीलाई निवास वैद्यद्वारा ट्रयाकसुट प्रदान

काठमाडौं, २६ असार । नेपाल सोतोकान कराते डो महासंघका अध्यक्ष निवासगोपाल वैद्यले राष्ट्रिय कराते टोलीलाई प्रोत्साहनस्वरूप सोमबार ट्रयाकसुट प्रदान गरेका छन् । टोलीका २१ खेलाडीसहित २५ सदस्यीय टोलीलाई वैद्यले व्यक्तिगत कुल ५० हजार रुपियाँबराबरको ट्रयाकसुट प्रदान गरे । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले एक कार्यक्रमबीच ती ट्रयाकसुट हस्तान्तरण गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै लामाले विगतमा करातेमा रहेको अराजकता र मनपरीतन्त्रलाई वर्तमान नेतृत्वले सुधार गर्दै लगेको धारणा व्यक्त गरे । उनले यसवर्ष खेलाडीलाई प्रशिक्षणका लागि करातेको छुट्टै एकेडेमी र लुम्बिनीमा विश्व कराते च्याम्पियनसिप आयोजना गर्न बजेट छुट्टयाइएको जानकारी गराउँदै कस्तो सुविधा दिएर खेलाडीको स्तरवृद्धि गर्न सकिन्छ त्यस कार्यमा राखेप लागिपरेको पनि बताए ।
नेपाल सितोरियो कराते डो संघका संरक्षकसमेत रहेका लामाले खेलाडीलाई सहयोग गरेकोमा सिहान वैद्यप्रति आभार व्यक्त गरे । त्यसैगरी, नेपाल कराते डो महासंघ एवं नेपाल सितोरियो कराते डो संघका अध्यक्ष दावा गुरुङले यस्तो सहयोगले खेलामा ऊर्जा थप्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया