“पिता बनेकै कारण विम्बल्डन उपाधि जितेँ”

लन्डन, २६ असार । आफू पिता भएकै कारणले गर्दा साताँैपटक पनि विम्बल्डन ग्रान्डस्लाम उपाधि जितेको स्विस टेनिस स्टार रोजर फेडेररले बताएका छन्् । तीन वर्षअघि जन्मिएका जुम्ल्याहा छोरीले आफ्नो खेलजीवनमा नयाँ र सबैभन्दा ठूलो जाँगर थपेको सर्वाधिक ग्रान्डस्लाम विजेता फेडेररको विश्वास छ ।
आइतबार राति भएको फाइनलमा घरेलु खेलाडी एन्डी मर्रेलाई ४–६, ७–५, ६–३ र ६–४ ले हराएर स्विट्जरल्यान्डका फेडेरर साताँैपटक विम्बल्डन च्याम्पियन भएका थिए । यो जितसँगै उनी महान अमेरिकी खेलाडी पिट साम्प्रासको नाममा रहेको सर्वाधिक विम्बल्डन च्याम्पियनको बराबरी गर्न पनि सफल भए ।
विम्बल्डनमा प्राप्त सफलताले उनी विश्व वरीयताक्रमको नम्बर–१ मा यसै साता पुग्ने निश्चित भएको छ । यसले गर्दा उनी साम्प्रासको नाममा २ सय ८६ साता विश्व नम्बर–१ रहेको सर्वाधिक लामो समयको कीर्तिमान तोड्न पनि थप दुई सातापछि सक्षम हुनेछन्् । विश्व नम्बर–१ खेलाडी बनेर फेडेरर २८५औँ साताका रूपमा यसै साता विश्व नम्बर–१ हुनेछन् । व्यक्तिगत १६औँ ग्रान्डस्लामको रूपमा सन् २०१० को अस्ट्रेलियन ओपन जितेर साम्प्रासको नाममा रहेको सर्वाधिक ग्रान्डस्लामविजेताको कीर्तिमान तोडेका फेडेररले त्यसयता ग्रान्डस्लाम जित्न सकेका थिएनन् ।
फेडेररले विम्बल्डनमा यो सफलता प्राप्त हुनुमा ‘आफ्ना जुम्ल्याहा छोरी मिला रोज र चार्लिन रिभालाई हेर्ने इच्छा’ ले प्रेरक भूमिका खेलेको बताएका छन् । यसै महिनाको अन्त्यबाट तीन वर्ष लाग्ने यी जुम्ल्याहाले आइतबार बाबुको खेल हेरेका थिए । ‘धेरै मानिसलाई थाहा नहोला, मेरा जुम्ल्याहा छोरी छन् भन्ने,’ फेडेररले जितपछि भने, ‘तर यी कुराको ठूलो प्रभाव छ मेरो जीवनमा ।’ आफ्नो खेलमा सबैभन्दा धेरै प्रभाव पारेको विषय नै आफ्नो सन्तान भएको बताए । ‘अहिले मेरो खेलजीवनमा सन्तानबाहेक प्रभाव पार्ने अन्य विषय छैन,’ फेडेररले भने, ‘सबै कुरालाई मिलाएर लैजानु साँच्ची नै चुनौती हो । आजको जितले मेरो सपना पूरा भएजस्तो लागिरहेको छ । परिवारसामु यो सफलता हात पार्नु साँच्चै नै ठूलो कुरा हो ।’
नोभाक जोकोभिक र राफेल नाडालको युगका रूपमा परिभाषित वर्तमान टेनिसमा फेडेररले प्राप्त गरेको यस सफलताले अझै उनको ‘शान’ उत्तिकै रहेको छनक दिएको छ । हुन पनि पछिल्ला दुई वर्षमा ग्रान्डस्लाम टेनिसमा अगाडि बढ्नबाट फेडेररलाई यिनै जोकोभिक र नाडालले रोक्दै आएका छन् ।
पुरुष टेनिसमा अहिले प्रभाव जमाइरहेका खेलाडीमध्ये ३० वर्षीय फेडेरर, जोकोभिक र मर्रेभन्दा पाँच वर्ष र नाडालभन्दा चार वर्ष जेठा छन् । नाडालले गत फ्रेन्च ओपन जितेर त्यो प्रतियोगिता सर्वाधिक (७ पटक) जित्ने कीर्तिमान बनाएका थिए । विम्बल्डन जित्ने क्रममा सेमिफाइनलमा जोकोभिकलाई हराएका फेडेररले आफ्नो युग नसकिएको र भविष्यमा अझै धेरै उपलब्धि हासिल गर्न सक्ने संकेत गरे ।
यसअघि नाडाल र जोकोभिकबीच लगातार चार ग्रान्डस्लामको फाइनलमा भेट भए पनि स्वर्णिम युगका एक हिस्सा फेडेरर पनि हुन् । पछिल्ला ३० ग्रान्डस्लाममध्ये २९ वटा नाडाल, जोकोभिक र फेडेररले जितेका छन् । ‘मलाई लाग्छ, यो मेरो निकै रामं्रो समय हो । जुन उमेरमा अहिले म छु र जुन उपलब्धि हासिल गरिरहेको छु यसप्रति म असाध्यै खुसी छु । एक समय मेरो सानदार यात्रा थियो । तर मलाई लाग्छ त्यो अझै बाँकी छ,’ फेडेररले भने, ‘२० वा २५ वर्षभन्दा अहिले निकै फरक छ । म मेरो जीवनको निकै स्थिर अवस्थामा छु । म कुनै कुरा परिवर्तन गर्न चाहन्न ।’
ग्रान्डस्लाम जित्न नसक्नु अस्थायी विषय भएको उनको प्रतिक्रिया छ । ‘आन्द्रे आगासीले पनि ३२ वर्षको उमेरमा अस्ट्रेलियन ओपन जितेका थिए । त्यसैले कुनै एक समय म तल परे तापनि मैले आगासीले जसरी सफलता भेट्छु भन्ने मलाई विश्वास थियो,’ फेडेररले प्रष्ट पारे, ‘मैले यस वर्ष ९० प्रतिशत खेल जितेँ । तर यो क्रम हरेक वर्ष रहन्छ भन्ने छैन । त्यसैले उतारचढाव आइरहँदा कहिले पनि आत्तिनुहुन्न ।’ पछिल्ला केही वर्ष ग्रान्डस्लाम नजिते पनि आफू हरेक प्रतियोगितामा उपाधिको दाबेदार भएको भन्दै उनले यसबीचमा आफूप्रति भएका आलोचनाबारे कत्ति पनि गम्भीर नभएको बताए । एजेन्सी

प्रतिक्रिया